पुनः लयमा फर्किँदै नेपाली पर्यटन उद्योग, अर्थतन्त्रलाई अझ सशक्त बनाउँला ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

पुनः लयमा फर्किँदै नेपाली पर्यटन उद्योग, अर्थतन्त्रलाई अझ सशक्त बनाउँला ?



काठमाडौं । विदेशी पर्यटक आगमनमा बढ्दो नै छ । अहिले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या मासिक औसत १ लाख हाराहारीमा छ ।

नेपालमा पछिल्लो एक महिनामै ८६ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागबाट प्राप्त सन् २०२५ को मे महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार गत मे मा ८६ हजार २१६ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

यद्यपि, यो गत अप्रिलको तुलनामा भने झन्डै २६ प्रतिशत कमी हो । गत अप्रिलमा पनि १ लाख १६ हजार ४९० जना पर्यटक आएका थिए । गत वर्षको मे महिनाको तुलनामा पनि ४.४४ प्रतिशत कमी हो । गत वर्ष सन् २०२४ को मे महिनामा भने ९० हजार २११ जना मात्रै विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

अहिले पर्यटक आगमनको अफसिजन भएकाले पनि नेपाल भ्रमणमा आउने विदेशीको संख्या घटेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालमा विदेशी पर्यटक आगमनको मुख्य सिजन अक्टोबर महिनादेखि मार्चसम्मलाई मानिन्छ । अन्य महिनाको तुलनामा सो अवधिमा अत्याधिक पर्यटक आउने गरेका छन् । अप्रिलदेखि सेप्टेम्बरलाई भने अफसिजन मानिन्छ । अहिले अफसिजन भएकाले नै पर्यटक आगमनमा केही कमी देखिएको बोर्डले जनाएको छ । तर, अघिल्ला वर्षहरुको तुलनाामा भने नेपाल भ्रमणमा आउने विदेशीको संख्या बाक्लिदो रहेको छ।

मे महिनामा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन् । सो महिनामा भारतबाट २८ हजार १६० जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् । यस्तै, अमेरिकाबाट ९ हजार ७४ जना नेपाल भित्रिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार चीनबाट ८ हजार ८२४, बङ्गलादेशबाट ५ हजार २८०, संयुक्त अधिराज्य बेलायतबाट ३ हजार ४७३ पर्यटक नेपाल भित्रिएका छन् । सो महिनामा दक्षिण एसियाली मुलुकबाट ३४ हजार ३५०, एसिया र अन्य मुलुकबाट १८ हजार ६९ पर्यटक नेपाल भित्रिएको आँकडा छ । यता, युरोपबाट १३ हजार ३३० र मध्यपूर्वी मुलुकबाट भने १ हजार ५१५ पर्यटक भित्रिएका छन् ।

सन् २०२५ को पहिलो पाँच महिनामा मात्रै विश्वका विभिन्न मुलुकबाट ५ लाख १ हजार २६४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन सकरात्मक मानिएको छ । बोर्डका अनुसार गत मार्चमा पनि १ लाख २१ हजार ६८७ जना पर्यटक आएका थिए । यस्तै, जनवरीमा ७९ हजार ९९१ र फेब्रुअरिमा पनि ९६ हजार ८८० जना आएका थिए ।

कोभिड महामारीपछि नेपाली पर्यटन बजार निकै प्रभावित भएको थियो । २०१९ को अन्त्यबाट विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिदा नेपालमा पर्यटन आगमन नमज्जाले प्रभावित भएको थियो । त्यति बेला नेपाल सरकारले आयोजना गरेको भ्रमण नेपाल वर्ष २०२० समेत स्थगित गरिएको थियो । तर, पछिल्लो वर्षहरुमा भने पर्यटक आगमन दर उल्लेख्य मात्रामा सुधार हुँदै आएको छ ।

महामारी साम्य भएपछि आंशिक पुनरुत्थान प्रयासहरू भइरहेका छन् । विभिन्न आन्तरिक चुनौतीहरूका बाबजुद पनि नेपाली पर्यटन क्षेत्र फेरि एकपटक लयमा फर्कँदै प्रयासमा देखिएको छ ।

गत वर्ष सन् २०२४ मा कुल ११ लाख ४७ हजार ५६७ जना र सन् २०२३ मा १० लाख १४ हाजर ८७६ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२२ मा ६ लाख १४ हजार १४८ जना, सन् २०२१ मा १ लाख ४९ हजार ८३३ जना र २०२० मा २ लाख २० हजार ८५ जना मात्रै नेपाल भ्रमणमा आएका थिए ।

सरकारले पनि पर्यटन प्रवद्र्धनमा निकै जोड दिएको छ । नेपालको प्रकृतिमा आधारित साहसिक गन्तव्यहरूको अन्तर्राष्ट्रिय चर्चा, ऐतिहासिक स्थलहरूको संरक्षण प्रयास र अन्तर्राष्ट्रिय उडान विस्तारले पनि थप टेवा पुर्याएको पर्यटन व्यवसायीहरु बताउँछन् । भिजिट नेपालका विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण पनि पछिल्लो समय पर्यटक आगमन बढ्दो क्रममा रहेको उनीहरुको भनाई छ ।

पर्यटन विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हो । पर्यटकले होटल, यातायात, हस्तकला सामग्री र साहसिक गतिविधिहरूमा खर्चिने रकमले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन योगदान गरिरहेको हुन्छ । सरकारी तवरबाट पूर्वाधार विकास, हवाई पहुँच विस्तार, डिजिटल प्रवद्र्धन र पर्यटकमैत्री नीति अवलम्बन गर्न आवश्यक छ । सरकार, निजी क्षेत्र र सेवाको गुणस्तरबीच सहकार्यबाट पर्यटन नै अर्थतन्त्रको पुनरुत्थानको ‘इञ्जिन’ बन्ने जानकारहरु बताउँछन् ।

नेपाल पर्वतीय श्रंखला, प्राचिन सांस्कृतिक सम्पदा र जैविक विविधताको अद्वितीय संयोजनले सजिएको मुलुक हो । नेपाल शान्ति, आत्मिक खोज र सांस्कृतिक अनुभव चाहने विश्वभरिका पर्यटकहरूको सूचीमा शीर्ष स्थानमा पुग्न थालेको छ । पछिल्ला केही महिनादेखि अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि झन् आकर्षक गन्तव्यको रूपमा उदाउँदै गएको छ ।


प्रतिक्रिया दिनुहोस्