स्वर्णिम होटलको व्यापार दोब्बर : ९ महिनामै १७ करोड आम्दानी, पायो ‘डबल बी प्लस’ रेटिङ

काठमाडौं । स्वर्णिम होटल लिमिटेडले व्यापारमा उल्लेखनीय सुधार गरेको छ । कम्पनीले आफ्नो पुँजी संरचना र सञ्चालनमा उल्लेखनीय सुधार गरेपछि व्यापार बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा १७ करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । जबकि, गत आर्थिक वर्षमा ८ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले सञ्चालन विस्तारसँगै आफ्ना नाफा र आर्थिक स्थिति सुधार्दै आएको छ ।
स्वर्णिम होटलले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लगायत नयाँ संस्थागत लगानीकर्ताबाट प्राप्त इक्विटी लगानीपछि आफ्नो पुँजी संरचना मजबुत बनाएको छ । होटलमा नरेशलाल श्रेष्ठको ३८ प्रतिशत सेयर स्वामित्व रहेको छ।
कम्पनीको चुक्ता पुँजी ५३ करोडबाट बढेर यो वर्ष ७९ करोड रुपैयाँ पुर्याएको छ । आगामी वर्षको अन्त्यसम्म एक अर्ब ५२ करोड रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ । कम्पनीले दीर्घकालीन ऋणलाई क्रमशः घटाएर वित्तीय सन्तुलनमा सुधार गर्ने योजना बनाएको छ ।

काठमाडौंको नक्सालस्थित १०० कोठे स्वर्णिम होटलले सन् २०२३ डिसेम्बरदेखि पूर्ण व्यवसायिक सञ्चालन सुरु गरेको हो । यो अवधिमा होटलको औसत अकुपेन्सी ६६ प्रतिशत पुगेको छ । होटलले अन्तर्राष्ट्रिय चर्चित ‘होलिडे इन एक्सप्रेस’ ब्रान्ड अन्तर्गत इन्टरकन्टिनेन्टल होटल्स ग्रुपसँग व्यवस्थापन सम्झौता गरी विश्वव्यापी बजारमा आफ्नो पहिचान बलियो बनाएको हो ।
होटल व्यवस्थापनमा १८ वर्षको अनुभव भएका महाप्रबन्धक कार्थी भीकेको नेतृत्व छ भने संस्थाको सञ्चालक समितिमा उद्योगका अनुभवी व्यक्तिहरू रहेका छन् । यसले सञ्चालनमा दक्षता र दीगो विकासको आधार तयार गरेको छ ।
तर, कम्पनीले प्रारम्भिक वित्तीय वर्षमा नाफा कमाएको छैन । उच्च वित्तीय खर्चका कारण शुद्ध नाफा अझै नकारात्मक छ । साथै, आतिथ्य उद्योगको चक्रीयता, मौसमी प्रभाव, र तीव्र प्रतिस्पर्धा कम्पनीका चुनौतीका रूपमा रहेका छन् । नयाँ प्रवद्र्धक र व्यवस्थापन टोलीले बजार विस्तार, सञ्चालन स्थिरता, र क्ष्एइ सफलतापूर्वक सम्पन्न गर्ने योजनामा जोड दिएका छन् ।
स्वर्णिम होटलले आगामी दिनमा आइपिओ जारी गरी त्यसबाट प्राप्त रकम होटलमा पुनःलगानी गर्दै व्यवसायलाई थप सुदृढ बनाउन तयारी गरिरहेको छ । यसले कम्पनीको दीर्घकालीन वित्तीय स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
स्वर्णिम होटललाई इन्फोमेरिक्स नेपालले ‘डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङप्राप्त होटललाई वित्तीय दायित्वहरू समयमा पूरा गर्न मध्यम जोखिमको श्रेणीमा राखिन्छ । होटललले ९७ करोड १० लाख रुपैयाँ बराबरको दीर्घकालिन कर्जाका लागि रेटिङ गराएको छ ।