तीन सातामा २ हजार ७४७ पर्यटक हुम्लामा « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

तीन सातामा २ हजार ७४७ पर्यटक हुम्लामा



हुम्ला । गत वैशाख ३० गतेदेखि जेठ महिनाको २३ गतेसम्म नेपालगन्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तथा अन्य देशका दुई हजार ७४७ पर्यटक हुम्ला भित्रिएका छन् । वैशाख महिनामा ५५ महिला र ५९ पुरुष पर्यटक जिल्ला पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए ।

हुम्लाको हिल्सानाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख ३० गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताए । वैशाखमा सुनासान देखिएको सिमकोट विमानस्थलमा जेठ पहिलो सातादेखि विदेशी पर्यटकको आगमन बढेको उनले बताए ।

जेठमा मात्रै मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकको सङ्ख्या एक्कासी बढेको छ । यस महिनामा एक हजार २९२ महिला र एक हजार ३४० पुरुष गरी दुई हजार ६३२ विदेशी पर्यटक मानसरोवर कैलाश दर्शनका लागि पुगेका थिए । नाका सञ्चालनमा आएपछि मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमकोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको छ । चीनले हिल्सा नाकालाई हुम्लावासीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकको सङ्ख्या वृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दीपेन्द्र भण्डारीले बताए ।


प्रतिक्रिया दिनुहोस्