कोरोना भाइरस आशंकमा राष्ट्रपति नै क्वारेन्टाइनमा « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

कोरोना भाइरस आशंकमा राष्ट्रपति नै क्वारेन्टाइनमा



काठमाडौं । विश्वभर महामारीको रुप लिइरहेको कोरोनाका कारण पोर्चुगलका राष्ट्रपति नै क्वारेन्टाइनमा बस्नु परेको छ । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सौजालाई कोरोना भाइरसको आशंकमा क्वारेन्टाइनमा राखिएको हो । उनका लागि त्यहाँको सरकारले राष्ट्रपति निवासमै क्वारेन्टाइन बनाएर राखेको हो । राष्ट्रपति सौजाले सोमबारै कोरोना भाइरसको परीक्षण गर्ने भएका छन । राष्ट्रपति मार्सेलो फेलुगिरासस्थित एक विद्यालयको सार्वजनिक कार्यक्रममा सहभागी भएपछि क्वारेन्टाइनमा जानु परेको हो ।

त्यस विद्यालयका विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि राष्ट्रपतिले पनि क्वारेन्टाइनमा बसेका हुन । आइतवारदेखि क्वारेन्टाइनमा बस्न थालेका राष्ट्रपति सौजा अबको १५ दिन त्यहीँ रहनेछन । यदि कोरोना भाइरस पोजेटिभ भेटिएमा उनले अस्पतालको आइसोलेसन वार्डमै जानुपर्ने हुन्छ । ७१ वर्षीय राष्ट्रपतिलाई कोरोनाको लक्षण भए नभएको परीक्षण भइरहेकोे सचिवालयले जनाएको छ ।

कोरोना देखिएपछि पोर्चुगलको फेलुगिरासमा सार्वजनिक सेवाहरू ठप्प भएका छन । विद्यार्थीलाई कोरोना पुष्टि भएपछि फेलुगीरास र लौसादाका सबसै विद्यालय बन्द गरिएको छ । पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले हालसम्म त्यहाँ कोरोना भाइरसका ३१ जना संक्रमित भएको पुष्टि गरेको छ । जसमध्ये १६ जना उपचारपछि ठीक भएका छन । पोर्चुगलमा कोरोनाबाट कसैको ज्यान नगए पनि छिमेकी मुलुक इटालीमा ३६६ जनाले ज्यान गुमाइसकेका छन ।


प्रतिक्रिया दिनुहोस्