इटलीमा ९५ वर्षीयाको कोरोना भाइरसमाथि विजय « Arthapath.com
११ चैत्र २०७६, मंगलवार

इटलीमा ९५ वर्षीयाको कोरोना भाइरसमाथि विजय



काठमाडौ । कोरोना भाइरसको संक्रमण विस्तारबाट पछिल्लो समय सबैभन्दा बढी आक्रान्त बनेको युरोपेली मुलुक इटालीमा ९५ वर्षीया वृद्धाले कोरोना भाइरसको संक्रमणमाथि विजय हासिल गरेकी छिन् ।

संक्रमणका कारण मृत्यु हुनेहरूमा अशक्त र वृद्धवृद्धाहरू बढी रहेको समाचार सार्वजनिक भइरहेका बेला इटालीकी ९५ वर्षीया अल्मा क्लारा कोर्सेनीले कोरोना भाइरसको संक्रमणमाथि विजय हासिल गरेकी हुन् ।

बेलायती समाचार पत्रिका इन्डिपेन्डेन्टको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार कोरोना संक्रमित भएपछि कोर्सेनीलाई ५ मार्च (२२ फागुन)मा स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । तर, उनी पूर्णतः निको भएर घर फर्केकी छिन् ।

उनको उपचारमा संलग्न चिकित्सकले भनेका छन् कि कोरोना भाइरसका कारण अस्पताल भर्ना भए पनि ती वृद्धाका लागि ‘एन्टिभाइरल’ उपचार गर्नुपरेन । बरु, अस्पताल भर्ना भएपछि उनको शरीरले कोरोना भाइरसविरुद्ध प्रभावकारी प्रतिक्रिया देखाउन थाल्यो ।

९५ वर्षीया वृद्धासँग स्थानीय पत्रिका गजेटा डे मोडेनाले संक्षिप्त कुराकानी गरेको थियो । त्यसक्रममा उनले आफू पूर्ण रूपमा निको भएको र आफूलाई भेट्न आउनेहरू असल मानिसहरू भएको पत्रिकाको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

सो अनलाइनले अस्पतालमा उपचाररत रहँदा निको भएपछि चिकित्सक टोलीसँग खुसियाली मनाउँदै गरेको तस्बिर पनि प्रकाशित गरेको छ, जहाँ उनी मुस्कुराइरहेको देखिन्छिन् । पत्रिकाले भनेको छ, ‘कोर्सेनी अस्पतालका स्टाफहरूका लागि गौरवको विषय बनेकी छिन् ।’

कोरोना भाइरसको संक्रमण वृद्धवृद्धा र केटाकेटीका लागि सबैभन्दा बढी दुरुह मानिएका वेला सय वर्ष नाघेका एक चिनियाँ नागरिक पनि कोरोना भाइरसमाथि विजय हासिल गरी अघिल्लो हप्ता घर फिर्ता भइसकेका छन् । 

वुहानका एक सय तीन वर्षीय झाङ ग्वाङफेन कोरोना भाइरसमाथि विजय हासिल गर्दै अघिल्लो हप्ता घर फर्केका हुन् । कोरोना संक्रमण भएपछि उनलाई १ मार्च (१८ फागुन)मा वुहानको लियान अस्पतालमा भर्ना गरिएको थियो । नया पत्रीका


प्रतिक्रिया दिनुहोस्