स्पेनमा चार नेपालीमा कोरोना, एकजनाको अवस्था गम्भीर « Artha Path
१४ चैत्र २०७६, शुक्रबार

स्पेनमा चार नेपालीमा कोरोना, एकजनाको अवस्था गम्भीर



बार्सिलोना । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् ।

संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ । स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताइन् । अनलाइनखबरसँग कुरा गर्दै राजदूत शेर्पाले भनिन्, ‘बार्सिलोनामा बस्दै आएका केही नेपालीहरुलाई कोभिड–१९ संक्रमण भेटिएको सूचना आएको छ । तर संक्रमितहरुको सम्पूर्ण डिटेल दूतावासबाट खोज्ने प्रयास भइरहेको छ ।’

उनले संक्रमित ब्यक्तिहरु र परिवारलाई दूतावासको सम्पर्कमा आउन अनुरोध समेत गरिन् । उपाचार लगायत भइपरी आउने प्रक्रियामा दूतावासबाट पूर्ण सहयोग रहने राजदूत शेर्पाले बताइन् ।

तर संक्रमित र उनका परिवारले घटनालाई बाहिर नल्याउन नेपाली समुदायका अगुवाहरुलाई अनुरोध गरेका छन् । स्रोतका अनुसार पहिलो संक्रमितको एक हप्ता पहिले नै पोजेटिभ देखिएको थियो । अन्य तीन जनाको भने हालै रिपोर्ट आएको हो । तर यो घटना अझै पनि नेपाली समुदायमा गुपचुप नै छ ।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्रप्रसाद शर्माले परिवारहरुको अनुरोधमा नै घटना सार्बजनिक नभएको बताए ।


प्रतिक्रिया दिनुहोस्