पैदल हिँडेका मजदुरलाई खाना खाजा खुवाउँदै घर पठाउँदै « Arthapath.com
७ बैशाख २०७७, आईतवार

पैदल हिँडेका मजदुरलाई खाना खाजा खुवाउँदै घर पठाउँदै



धादिङ । कोभिड–१९ को महामारीबाट बचाउन गरिएको लामो बन्दाबन्दी ९लकडाउन० पछि घर हिँडेका मजदुरलाई धादिङका स्थानीय सरकार र सामाजिक कार्यकर्ताले खाना र खाजा खुवाएर घरतर्फ पठाउन थालेका छन् ।

धादिङका विभिन्न स्थानलगायत काठमाडाँै, ललितपुर, भक्तपुरबाट आफ्नो घर देशका विभिन्न स्थानमा जानका लागि हिँडेका मजदुर समस्यामा परेको देखेपछि राजमार्गमा कार्यालय रहेका स्थानीय तहको सरकार र सामाजिक अभियानकर्मीको सक्रियतामा उनीहरूलाई सहयोग गरिएको हो ।

धादिङ प्रवेशपछि नौबिसेमा स्थानीय सामाजिक कार्यकर्ताको सक्रियतामा बटुवा र खटिने सुरक्षाकर्मीलाई फलफूल खुवाइएको छ । मधुकुमार श्रेष्ठको सक्रियतामा फलफूल वितरण गरिएको हो । बन्दाबन्दीका कारण काम गर्न नपाएपछि मजदुरी गर्नेहरु खाने समस्या परेका कारण लामो दूरी हिँडेरै घरतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि धादिङको थाक्रे गाउँपालिकाले स्थानीय युवाको सक्रियतामा महादेवबेँसीमा ५०० मजदुरलाई खाजा र पानी खुवाइएको छ । गजुरी गाउँपालिकाले आदमघाटमा १५० मजदुरलाई खाना खुवाएको छ । पैदलयात्री ३०० मजदुरलाई खाना, खाजा खुवाएको आदमघाटबाट विष्णु श्रेष्ठले जानाकारी दिनुभयो ।

गजुरी बजारमा पनि गजुरी गाउँपालिकाले एक साताअघिदेखि पैदलयात्री मजदुरलाई खाजाको व्यवस्था गर्दै आएको थियो । यसबाट करिब ४०० मानिसले खाजा खाएको गाउँपालिकाका उपाध्यक्ष सीता ढुङ्गानाले जानकारी दिनुभयो ।

चरौँदीमा स्थानीय युवाको सक्रियतामा पैदल हिँडेका मजदुरलाई खाजा र पानीको व्यवस्था गरिएको छ । करिब ३०० मानिसलाई खाजा खुवाइएको हो । धादिङ प्रवेश गरेपछि जुन क्षेत्रमा मजदुरलाई स्थानीय सरकारहरुले फेला पार्छ त्यही स्थानीय सरकारले खाना खाजा खुवाउने र कुनै न कुनै सवारी साधनमा चढाएर पठाउन थालेका कारण राजमार्ग क्षेत्रमा मानिस हिँडेको नदेखिएको चरौँदीबजार निवासी राममणि थपलियाले राससलाई जानकारी दिनुभयो ।

यसैगरी धादिङको सिमाना जोडिएको चितवनको इच्छाकामना गाउँपालिकाले बटुवालाई खाना खाजा खुवाएर प्रहरीको सहयोगमा मजदुरलाई गाडी चढाएर घरतर्फ पठाएको छ । प्रधानमन्त्रीको निर्देशनपछि सडकमा पैदलयात्री नभएको र कोही यो अवस्थामा भोकै बस्नु नपर्ने भन्दै स्थानीय सरकार सक्रिय भएका हुन् ।रासस


प्रतिक्रिया दिनुहोस्