खाद्यान्न वितरण गर्ने क्रममा झडप हुँदा ७ जनाको मृत्यु « Arthapath.com
२८ बैशाख २०७७, आईतवार

खाद्यान्न वितरण गर्ने क्रममा झडप हुँदा ७ जनाको मृत्यु



काठमाडौं । अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा शनिबार कोरोनाभाइरस प्रभावितलाई खाद्य सामग्री वितरण गर्नेक्रममा झडप हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। राजनीतिक पहुँचका आधारमा खाद्य सामग्री वितरण भएको विरोधमा भएको प्रदर्शनका क्रममा अरु १४ जना घाइते भएको घोर प्रान्तका सांसद गुल्जामान नायिबले बताए।

प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद आरिफ अबरले करिब ३०० जना प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाउनु परेको बताए। तर उनले सुरक्षाकर्मीको गोली लागेर २ जनाको ज्यान गएको र पाँच जना घाइते भएको बताए।

प्रदर्शनकारीलाई तितरबितर गर्नेक्रममा केही प्रहरी पनि घाइते भएका थिए। प्रवक्ता अबरले सहायता सामग्री मनोमानी किसिमबाट वितरण भएको अस्वीकार गरे। मृत्यु भएकामध्ये एक जना स्थानीय रेडियो स्वयंसेवक अहमद नवीद खान पनि रहेको अफगानिस्तान पत्रकार केन्द्रका कार्यकारी निर्देशक अहमद कुरैसीले बताए।रासस


प्रतिक्रिया दिनुहोस्