रुसमा संक्रमित हुने दुई लाख नाघ्यो, अमेरिकामा ७९ हजारभन्दा बढीको मृत्यु

काठमाडौं । रुसमा कोभिड–१९ बाट संक्रमित हुने दुई लाखभन्दा बढी पुगेको छ । रुसी अधिकारीहरुले आइतबार मात्रै ११ हजार १२ जना नयाँ संक्रमित थपिएको जनाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार रुसमा कोभिड–१९ को संक्रमण दुई लाख नौ हजार ६८८ मा पुष्टि भएको छ । रुसमा पछिल्लो २४ घण्टामा कोभिड–१९ को संक्रमणले ८८ जनाको मृत्यु दत्र्ता गरिएको छ । मृतकको संख्या एक हजार ९१५ पुगेको छ । विश्वभरि दुई लाख ८२ हजार ७०९ जनाको मृत्यु दत्र्ता गरिएको छ । बढ्दो संक्रमण दरले फ्रान्स र जर्मनीलाई उछिनेर रुस पाँचौं सबैभन्दा बढी संक्रमित हुने राष्ट्र बनेको छ ।
विश्वब्यापी संक्रमितको तथ्याङ्क अद्यावधिक गर्दै आएको अमेरिकाको जोन हप्कीन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्म संक्रमित हुनेको संख्या ४१ लाख एक हजार ६९९ पुगेको छ । अमेरिकामा मात्रै १३ लाख २९ हजार २६० जना संक्रमित छन् । स्पेनमा दुई लाख २४ हजार ३५० जनामा संक्रमणको पुष्टि भएको छ । बेलायतमा संक्रमित हुने दुई लाख २० हजार ४४९ छन् । इटालीमा दुई लाख १९ हजार ७० जना संक्रमित छन् । फ्रान्समा एक लाख ७७ हजार र जर्मनीमा एक लाख ७१ हजारभन्दा बढीमा संक्रमणको पुष्टि भएको छ ।
ब्राजिलमा संक्रमण दर बढ्ने रोकिएको छैन् । विश्वविद्यालयका अनुसार ब्राजिलमा एक लाख ६२ हजार ६९९ जनामा संक्रमणको पुष्टि भएको छ । टर्कीमा एक लाख ३८ हजार र इरानमा एक लाख सात हजार ६०३ जना संक्रमित छन् । चीनपछि क्यानाडामा ७० हजार र पेरु तथा भारतमा संक्रमित हुने ६७ हजारभन्दा बढी छन् ।
भारतमा पछिल्लो २४ घण्टामा चार हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा कोभिड–१९ को संक्रमणले हालसम्म ७९ हजार ५२६ जनाले ज्यान गुमाएका छन् । बेलायतमा मृतकको संख्या ३१ हजार ९३० पुगेको छ । इटालीमा ३० हजार ५६० र स्पेनमा २६ हजार ६२१ जनाको मृत्यु भएको छ । फ्रान्समा मृतकको संख्या २६ हजार ३८३ र ब्राजिलमा ११ हजार १२३ छन् ।