साढे ६ महिनामा सुनको भाउ तोलाकै १४ हजार सस्तियो, अन्तरराष्ट्रिय बजारमा नेपालभन्दा दोब्बर सस्तो, डलरको भाउले उपभोक्तालाई भार « Arthapath.com
१५ आश्विन २०७९, शनिबार

साढे ६ महिनामा सुनको भाउ तोलाकै १४ हजार सस्तियो, अन्तरराष्ट्रिय बजारमा नेपालभन्दा दोब्बर सस्तो, डलरको भाउले उपभोक्तालाई भार



काठमाडौं । गएको २५ फागुनमा नेपाली बजारमा सुनको भाउ कीर्तिमानी उचाइमा पुगेको थियो । त्यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा २४ क्यारेट सुनको भाउ तोलाकै १ लाख ५ हजार ५०० रुपैयाँ तोकेको थियो । त्यसपछि ओरालो लागेको सुनको मूल्य ५ असोजमा ९१ हजार ३ सय रुपैयाँमा ओर्लियो । यसरी लगभग ६ महिनाकै बीचमा सुनको मूल्य तालामा १४ हजार २०० रुपैयाँसम्म सस्तिएको छ ।

युक्रेनमा रुसले सैन्य हमला सुरु गरेपछि गत वर्षको माघ अन्तिम साता पनि सुनको भाउ ९३ हजारकै वरिपरिबाट उकालो लाग्न थालेको थियो । नेपाली बजारमा सुनको भाउ डेढ–दुई वर्षदेखि नै तोलाको ८९ हजारदेखि ९५ हजारको बीचमा रहँदै आएको थियो । युक्रेन युद्धले उचालेको सुनको मूल्य अहिले विश्वब्यापी आर्थिक मन्दीको जोखिम, संसारभरको महँगी र ब्याजदर बृद्धि जस्ता कारणले ओरालो लाग्न थालेको छ ।

सुनको मूल्यले दुई सातायता युक्रेन युद्ध सुरुहुनु अगाडीकै स्तरमा फर्किएको छ । तर यो पनि हाम्रो लागि बढी महँगो हो । अहिले अमेरिकी डलर असाध्यै महँगिएका कारण सुनको भाउ घट्नु पर्नेजति पनि घटेको छैन । डलरको भाउ पछिल्लो एक वर्षमा झण्डै १३ रुपैयाँ महँगिएर एक डलरको सटही दर १३१ रुपैयाँ पुगेको छ । डलर पहिलेजस्तै भाउमा हुन्थ्यो भने अहिले अन्तरराष्ट्रिय बजारमा सस्तिएको सुनको लाभ नेपालीले झनै बढी पाउँथे ।

२०७८ वैशाखदेखि अहिलेसम्म नेपालमा प्रतितोला सुनको मूल्य ।

नेपालमा ठूला चार्डपर्वको मौसम सुरु भएको छ । तिहारमा लक्ष्मी पूजाका दिन सुन किन्ने नेपालीको संख्या बढ्न थालेको छ । धेरै नेपालीको खर्च योग्य आम्दानी बढेका कारण सुनजस्ता महँगा धातुमा लगानी गर्ने प्रबृत्ती बढेको राष्ट्र बैंकका अधिकारी बताउँछन् । तिहारपछि व्रतबन्ध र विवाहको मौसम सुरु हुन्छ । यस्तो बेला गरगहनाको खपत बढी हुने भएकाले सुनको मूल्यले नेपाली उपभोक्तालाई गहिरो प्रभाव पार्छ । सुन किन्नु पर्ने मौसममा भाउ सस्तिँदा उपभोक्ता लाभान्वीत हुने छन् ।

गत साता मूल्य न्यून विन्दुमा झर्दा नेपाली बजारमा सुनको भाउ १३.४६ प्रतिशतसम्म घटिसकेको थियो । शुक्रबारको मूल्य हेर्ने हो भने पनि कीर्तिमानी स्तरपछि झण्डै १२ प्रतिशत अर्थात् तोलाकै १२ हजार ५०० रुपैयाँ सस्तोमा सुन पाइएको छ । तर अमेरिकी डलर महँगिएका कारण नेपालमा सुन पर्याप्त सस्तिन सकेन । यो ६–७ महिनाको तथ्यांक केलाउने हो भने अन्तरराष्ट्रिय बजारमा सुनको भाउ २०.६९ प्रतिशतसम्म सस्तिएको देखिन्छ ।

नेपालमा सुनको मूल्यले कीर्तिमानी उचाई चुम्दै गर्दा अन्तरराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मूल्य २०५२.६० अमेरिकी डलर थियो । यो भाउ साढे ६ महिना वित्दानवित्दै झण्डै ४२५ डलर सस्तिएर १६२७.९६ डलरमा झरेको थियो । शुक्रबार अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ १६६०.६ डलरमा बन्द भएको छ ।

पछिल्लो ३० वर्षमा अन्तरराष्ट्रिय बजारमा सुनको भाउको रफ्तार ।

अन्तरराष्ट्रिय बजारमा सुन दुई वर्षयताकै सस्तो भएको छ । दुई वर्षअघि सुनको मूल्य प्रतिऔंश २ हजार ७० डलर नाघेर कीर्तिमानी उचाइ बनाएको थियो । तर त्यसबेला नेपालमा कोभीड महामारीका कारण भन्दै सुनचाँदी व्यवसायिले पसल बन्द गरेर सुनको दैनिक मूल्य निर्धारण समेत रोकेका थिए । व्यवसायिहरुले मूलय निर्धारण बन्द गर्नुको कारण चाहीँ भिन्न थियो । कोभीडले अर्थतन्त्र तहस नहस भएको बेला सुनको भाउ ह्वात्तै उकालो लागेपछि मानिसहरु पहिले किनेको सुन बेच्न थाले ।

पसलमा विक्रेताको चाप बढ्न पुग्यो । सुन किन्ने कोही भएन, बेच्न सबै मान्छे लाइन लागेपछि पसलेहरुले ज्यादै महँगो भाउमा सुन किन्न सकेनन् । त्यसपछि कोभीडको बहानामा मूल्य निर्धारण समेत बन्द गरेका थिए । यद्यपि, अहिले युक्रेन युद्धले उचालेको भाउसँगै तुलना गर्दा पनि डलरको मूल्य यथास्थितिमा रहेर नेपालमा पनि अन्तरराष्ट्रिय बजारकै अनुपातमा सुन सस्तिन सकेको भए झण्डै २२ हजार रुपैयाँसम्म सस्तिने थियो । यो भनेको १ तोलाको भाउ ८३ हजार ७०० हाराहारी आईसक्नु पर्ने थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्