यी हुन् पृथ्वीको ८ अर्ब जनसंख्या पाल्ने कृषि भण्डार « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

यी हुन् पृथ्वीको ८ अर्ब जनसंख्या पाल्ने कृषि भण्डार



काठमाडौं । कुनै पनि मुलुकको अर्थतन्त्र बलियो बनाउन अचेल सूचना प्रविधी र वित्तीय क्षेत्रले धेरै ठूलो भूमिका खेलेको छ । तर यस्ता कुराले अर्थव्यवस्थालाई ठूलो त बनाउँछन्, मजबुत चाही बनाउन्नन् । संसारकै ठूलो अर्थव्यवस्था अमेरिका अहिले अचाक्लि महँगिको मारमा परेको छ । सिंगै युरोप जाडोमा कठ्यांग्रिएको छ ।

जतिसुकै पैसा कमाए पनि मान्छेले खाने हरेक वस्तु जमीनमा फल्छ । जीवजन्तुको मासु धेरै खानेले पनि ती जीवजन्तुलाई पाल्न र हुर्काउन जमीनकै स्रोतको दोहन गरेका हुन्छन् । त्यसै कारण कुनै राज्य वा अर्थव्यवस्था कति बलियो छ भनेर हेर्न उसले आफ्ना नागरिकलाई भरपेट खाना पुग्ने गरी कृषि उत्पादन गर्छ की गर्दैन भनेर पनि हेर्नु पर्ने हुन्छ ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले यही डिसेम्बरमा जारी गरेको एउटा प्रतिवेदनले संसारका ४५ देशलाई बाह्य क्षेत्रबाट खाद्यय सहायता आवस्यक भएको औंल्याएको छ । उक्त सूचीमा दक्षिण एसियाका पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंका पनि छन् । हाम्रो छिमेकी म्यानमार (बर्मा) पनि यो सूचीमा छ ।

एफएओका अनुसार सन् २००० देखि २०२० को अन्तरालमा संसारभर आधारभूत कृषि वस्तुको उत्पादन ५२ प्रतिशत बढेको छ । यो २० वर्षमा फलफूलको उत्पादन ५५ प्रतिशत र हरिया सागसब्जीको उत्पादन ६५ प्रतिशत बढेको छ । वनस्पती तेलको उत्पादन त २०१९ सम्ममै १२५ प्रतिशत बढेको थियो । यही २० वर्षमा मासुको उत्पादन ४५ प्रतिशत बढेर वार्षिक ३३ करोड ७० लाख टन पुगेका छ । सालाखाला संसारको कुल प्राथमिक कृषि बालि उत्पादनमा आधा हिस्सा उखु, मकै, धान र गहुँले मात्रै ओगट्छन् ।

मान्छेले खानामा प्रयोग गर्ने यस्ता वस्तुको उत्पादन र बजार सधैं सुनिश्चित हुन्छ । बढी उत्पादन गर्ने देशले आफ्ना नागरिकलाई भोको राख्नु पर्दैन । यही कारण पनि प्राथमिक कृषि उत्पादनलाई जुनसुकै राज्यको मूल रणनीतिक शक्ति मानिन्छ । अव यसमा कुन कुन देशले विश्वको आवाद जनसंख्यालाई पाल्न बढी भूमिका खेलेका छन् भनेर हेरौं ।

पृथ्वीको सबैभन्दा ठूलो कृषि उपज हो उखु । संसारको ४० प्रतिशत उखु ब्राजिल एक्लैले उत्पादन गर्छ । बाँकी २० प्रतिशत भारतले र ५ प्रतिशत चीनले उत्पादन गर्छ । दोस्रो ठूलो बाली मकैको कुरा गर्ने हो भने अमेरिका पहिलो नम्बरमा आउँछ । अमेरिका एक्लैले संसारको ३० प्रतिशत कर्म फलाउँछ । त्यसपछि चीन र ब्राजिलले बढी मकै उत्पादन गर्छन् ।

गहुँको उत्पादनमा चनि संसारकै अगाडी छ । संसारको १८ प्रतिशत गहुँ चीनले उत्पादन गर्छ । १४ प्रतिशतजति गहुँ फलाउने भारत दोस्रो ठूलो उत्पादक हो । गहुँ उत्पादनमा रुस तेस्रो ठूलो मुलुक हो । धान पनि चीनमै बढी फल्छ । पृथीको एक चौथाइभन्दा धेरै धान चीनले फलाउँछ । भारत पनि चीनकै हाराहारीको उत्पादक हो । तेस्रोमा बंगलादेशले बढी धान फालाएको एफएओको तथ्यांक छ ।

वनस्पति तेलहरुमा सबैभन्दा ठूलो बजार भएको पाम इण्डोनेसियाले फलाउँछ । विश्वब्यापी पाम उत्पादनमा इण्डोनेसिया एक्लैको योगदान ६० प्रतिशतभन्दा बढी छ । त्यसपछि मलेसिया र थाइल्याण्डले बढी उत्पादन गर्छन् । आलु पनि संसारको सबैभन्दा धेरै चीनमै फल्छ । पृथ्वीको २१ प्रतिशत जति आलु चीनले फलाउँछ । अरु १६–१७ प्रतिशत भारतले र तेस्रोमा युक्रेनले बढी आलु फलाउँछ ।

बढी भटमास फलाउने देशमा पनि चीन नै अगाडी छ । त्यसपछि अमेरिका र ब्राजिल छन् । तोरी वा तोरीजस्तै देखिने तेलहन बालिको उत्पादन गर्नेमा क्यानडा अगाडी छ । त्यसपछि चीन र भारत पनि छन् । सूर्यमुखि भने युक्रेनले बढी उत्पादन गर्छ । त्यसपछि रुस र अर्जेण्टिनाले बढी फलाउँछन् ।

मासुको कुरा गर्ने हो भने विश्व बजारमा धेरै खपत कुखुराको मासु हुन्छ । त्यसपछि सुंगुर र गाइ गोरुको मासु बढी खपत हुनेमा पर्छन् । पछिल्लो समय कुखुरा सस्तो र सहज हुने भएपछि पश्चिमा देशमा गाइगोरुको मासु छाडेर कुखुरा खाने बढेका छन् । यही कारण यसको उत्पादन चक्र पनि प्रभावित भएको छ ।

सन् २०२० को आँकडालाई हेर्ने हो भने संसारमै सबैभन्दा धेरै कुखुराको मासु उत्पादन गर्ने देश अमेरिका हो । त्यसपछि चीन र ब्राजिलले बढी मासु उत्पादन गर्छन् । संसारको ३८ प्रतिशत सुंगुरको मासु चीनले उत्पादन गर्छ । अमेरिका र जर्मनीले पनि सुँगुरको मासु बढी नै उत्पादन गर्छन् । गाइ गोरुको मासु उत्पादन गर्नेमा पनि अमेरिका नै अगाडी छ । ब्राजिल र चीनले उसलाई पच्छ्याइरहेका छन् ।

दूध उत्पादनमा भारतले विश्वको नेतृत्व गर्छ । २० वर्षअघि हाराहारीकै उत्पादक अमेरिका अहिले अलि पछि त परेको छ, तर उसको स्थान अझै दोस्रो नै छ । त्यसपछि पाकिस्तान, चीन, ब्राजिल, जर्मनी, रुस र फ्रान्स पनि बढी दूध उत्पादन गर्नेमा पछृन् । अण्डा उत्पादनमा चीनको हिस्सा एक चौथाइ हाराहारी छ । त्यसपछि अमेरिका र भारतले बढी अण्डा उत्पादन गर्छन् । इण्डोनेसिया, ब्राजिल, मेक्सिको, जापान र रुस पनि पछिपछि छन् ।

२० वर्षअघि संसारको सबैभन्दा ठूलो कपास उत्पादक चीनलाई अहिले भारतले उछिनेको छ । चीन दोस्रो र अमेरिका तेस्रो ठूलो कपास उत्पादक हुन् । प्राकृतिक रबर उत्पादनमा थाइल्याण्ड बलियो छ । इण्डोनेसिया र भियतनामले उसलाई पच्छ्याइरहेका छन् । रेसम उत्पादनमा चाहीँ चीनको दबदवा छ । संसारको झण्डै ८० प्रतिशत रेसम चीन एक्लैले उत्पादन गर्छ । भारत यसको दोस्रो ठूलो उत्पादक हो ।

अप्रशोधित सुर्ति उत्पादन गर्नेमा पनि चीन नै पहिलो छ । पछिल्ला वर्षमा भारतले पनि सूर्ति उत्पादन बढाउँदै लगेको छ । ब्राजिलसमेत जोड्ने हो भने यी तीन देशले विश्वको ६० प्रतिशतभन्दा धेरै सूर्ति फलाउँछन् । पछिल्ला वर्षमा अर्थतन्त्रको आकारमा भइरहेको बदलावलाई यी प्राथमिक उत्पादनमा हिस्सेदारी हेर्ने हो भने तादात्म्य देखिन्छ ।

प्राथमिक कृषि उत्पादनका लागि विशाल भूगोल त चाहिन्छ, तर यसतर्फ अग्रसर मुलुकहरु स्थायि रुपमा धनि बन्छन् भन्ने आर्थिक आँकडाहरुले पनि पुष्टि गर्छन् ।


प्रतिक्रिया दिनुहोस्