नेपालको वैदेशिक व्यापारः विश्वका १३० देशसँग घाटै–घाटा, अमेरिका अब नाफाको बजार « Arthapath.com
२५ फाल्गुन २०७९, बिहीबार

नेपालको वैदेशिक व्यापारः विश्वका १३० देशसँग घाटै–घाटा, अमेरिका अब नाफाको बजार



काठमाडौं । आयातमुखी अर्थतन्त्रमा मुलुकको निर्वाह धानिँदै आएको नेपालले वैदेशीक व्यापारमा सधैँ नोक्सान नै नोक्सान भोग्दै आइरहेको छ । नेपालको व्यापार सम्बन्ध रहेका विश्वभरका डेढसयभन्दा बढी देशसँग यहाँको उत्पादन सामग्रीको निर्यात् व्यापार त हुन्छ तर, त्यो भन्दा सयौंगुणा उपभोग्य वस्तुहरु विदेशबाट आयात गर्नुपर्ने आफ्नै बाध्यता विगत कालदेखि नै आजसम्म जारी छ ।

जसका कारण नेपालले निर्यात्बाट हुने आम्दानीभन्दा आयातमा सयौँगुणा खर्चिनुपर्दा व्यापारघाटा त्यहि दरमा वर्षेनी उकालो लागेको लाग्यै छ । वैदेशीक व्यापारमा आम्दानीभन्दा अरबौँ रुपैयाँ एक महिना दिनमै घाटाका रुपमा गुमाउनु नेपालको नियति नै बनिरहेको तथ्यबाहेक हामीसँग अरु केही छैन ।

तर, यसरी सधैँ घाटा नै घाटाको भिमकाय पहाडमुनी थिचिँदै सिथिल अर्थतन्त्रको पीडादायी जीवन बाँचिरहेको नेपालले यसबाट मुक्ति पाउनसक्ने उदाहरणिय एक खुशीको खबर पनि हाम्रासामु देखिन थालेको छ । नेपालको नियमित व्यापार साझेदारका देशहरुमध्ये सबैजसोमा नोक्सान मात्रै हात लागिरहेको भएपनि अमेरिकाको व्यापारमा भने विगतमा भइरहने घाटाबाट फड्को मार्दै नाफा पाउन थालेको छ ।

केहि महिनायता नेपाल–अमेरिकाबीचको वैदेशिक व्यापारमा नेपाल नाफामा फर्किएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा अमेरिकासँगको व्यापारमा नेपाल नाफामा रहेको हो । विगत लामो समयदेखि अमेरिकासँगको व्यापारमा नेपालले घाटा व्यहोर्दै आइरहेको थियो ।

आर्थिक वर्ष २०७८–७९ मा नेपाललाई अमेरिकासँगको व्यापारमा ३२ अर्ब ५ करोड ८४ लाख रुपैयाँ घाटा भएको थियो । सो वर्ष नेपालबाट जम्मा १७ अर्ब ९९ करोड २० लाख रुपैयाँको निर्यात भएको थियो भने अमेरिकाबाट ५० अर्ब ५ करोड रुपैयाँको आयात भएको थियो । चालु आर्थिक वर्ष सुरुका २ महिना अमेरिकासँगको व्यापारमा घाटा ब्यहोरे पनि त्यसपछि निरन्तर नाफा भइरहेको हो ।

अमेरिकाबाट नाफा कमाएका व्यापारका वस्तुहरुमा कार्पेट, गलैँचा, ऊनी र छुर्पी नै अहिलेको मुख्य आम्दानीका श्रोत बनेका छन् । यसबाहेक पास्ता, सुगन्धित तेल (अत्तर) हस्तकलाका सामग्री, हातेकागज, पस्मिना, कटनका कपडा, पस्मिनाबाट निर्मित सल र मफलर, सुनचाँदीका गरगहना लगायत थुप्रै नेपाली उत्पादनहरु अमेरिकामा निर्यात हुँदै आएको छ । केही वर्षदेखि नेपालको अर्थतन्त्र पुनः उत्थान गर्ने लक्ष्यसहित अमेरिकाले ७७ वटा वस्तुमा भन्सार छुट सुविधा दिएपनि त्यसको फाइदा नेपालले यसअघि गएका सात वर्षसम्म पनि हात पार्न सकिरहेको थिएन । तर, घाटाको व्यापारबाट नाफाको बाटो समात्न सफल नेपालले यो अवसरलाई गुम्न दिन नहुनेतर्फ राज्यले सशक्त बनाइराख्न सचेत बन्नुपर्ने व्यावसायीहरुको सुझाव छ ।

अर्कोतर्फ, वैदेशीक व्यापारको मुख्य आम्दानीको श्रोतका रुपमा रहेका यसप्रकारका नेपाली उत्पादनले सधैँको निरासाबाट अब देशलाई खुशी, हौसला र आशासमेत दिएको व्यवसायीहरुको प्रतिक्रिया छ । यो परिस्थितिको उच्चतम् सदुपयोग गर्दै यस्ता नाफाजन्य स्वदेशी उत्पादनलाई वृद्धि गर्नेतर्फ सरकारले नै योजना बनाएर जानुपर्ने उनीहरुले जोड दिएका छन् । यसबाट एकातिर मुलुकले वैदेशीक व्यापारमा अरु देशसँग भोगिरहेको घाटा परिपूर्तिमा योगदान गर्नसक्ने सम्भावनाको ढोका पनि खोलिदिएको छ भने अर्कोतर्फ स्वदेशी उत्पादनमा प्रोत्साहन, बेरोजगारीको विकराल परिस्थितिमा रोजगार क्षेत्रको विस्तारदेखि अन्य कृषिजन्य लगायत घरेलु तथा औधोगिक उत्पादनमा उत्साहको लहरसमेत सिर्जना गर्न मद्दत पुग्ने नेपाली व्यवसायिक क्षेत्रको विश्वास छ ।

विगतमा अमेरिकासँग घाटा र नाफाको श्रृङ्खला, एक महिनामै करिब एकअर्ब नाफा
अमेरिकासँगको व्यापारमा चालु वर्षको साउन महिनामा भने नेपाल घाटामा थियो । उक्त महिना नेपालले ७९ करोड रुपैयाँको घाटा ब्यहोरेको थियो । यस्तै, भदौ महिनामा नेपालले अमेरिकासँगको व्यापार घाटा सुधारेर २८ करोड रुपैयाँमा ल्याइपुर्याएको थियो ।

तथ्यांकमा विगत ९ वर्षदेखि नेपालको आयात निर्यात

असोज महिनादेखि भने नेपालले नाफा आर्जन गर्न सुरु गरेको तथ्याङ्कले देखाएको छ । असोज महिनासम्म नेपालले अमेरिकासँगको व्यापार घाटा उल्ट्याउँदै ४६ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ । यो महिना नेपालबाट ५ अर्ब १६ करोड रुपैयाँको सामान निर्यात गर्दा अमेरिकाबाट ४ अर्ब ६९ करोडको आयात भएको थियो ।

यस्तै, कात्तिकमा ९२ करोड नाफा आर्जन भएको थियो । तर, मंसिर महिनासम्ममा भने नेपालको व्यापार नाफा खुम्चिएर ११ करोड ५४ लाखमा सीमित भएको छ । यस्तै, पुसमा १३ करोड र माघ महिनामा ८ करोड रुपैयाँ नाफा भएको छ ।

माघ महिनासम्ममा नेपालबाट अमेरिकातर्फ १० अर्ब ७३ करोड रुपैयाँ निर्यात भएको छ । यस्तै, अमेरिकाबाट नेपालतर्फ १० अर्ब ६४ करोड रुपैयाँको आयात भएको छ । तर, विगत लामो समयदेखि घाटामा रहेको अमेरिकासँगको व्यापार नाफामा आउँदा नेपाली निर्यातमा खुसीको सञ्चार भएको व्यवसायीहरु बताउँछन् । यद्यपि, पछिल्ला महिनामा नेपालको निर्यात खुम्चिँदै गएर आयात बढ्दो अवस्थामा रहेपछि व्यापार नाफा खुम्चिएको तथ्याङ्कले देखाउँछ ।

अमेरिकासँगको व्यापारमा कार्पेट, गलैँचा, ऊनी र छुर्पीदेखि वाद्यवादनसम्म

भन्सार विभागले उपलब्ध गराएको तथांक अनुसार नेपालबाट अमेरिकातर्फ सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा कार्पेट, गलैँचा, ऊनी र छुर्पी पर्छन् । यिनै वस्तुको निर्यात बढ्दा नेपाललाई अमेरिकासँगको व्यापारमा नाफा देखिएको छ ।

यस अवधिमा नेपालबाट ४ अर्ब २० करोडको कार्पेट र गलैँचा निर्यात भएको छ । यस्तै, १ अर्ब २३ करोडको ऊनी तथा फेल्ट र १ अर्ब ४१ करोडको छुर्पी निर्यात भएको छ । यसबाहेक नेपालबाट पास्ता, सुगन्धित तेल (अत्तर) हस्तकलाका सामग्री, हातेकागज, पस्मिना, कटनका कपडा, पस्मिनाबाट निर्मित सल र मफलर, सुनचाँदीका गरगहना, वाद्यवादनका सामग्री र ड्रइङ (पेन्टिङ) निर्यात हुन्छ ।

२०७२ सालमा भूकम्प गएपछि नेपालको अर्थतन्त्र पुनः उत्थान गर्ने लक्ष्यसहित अमेरिकाले ७७ वटा वस्तुमा भन्सार छुट दिएको छ । तर, यी वस्तुको फाइदा नेपालले उठाउन सकेको छैन । भन्सार छुट पाएकामध्ये ११ वस्तुको निर्यात शून्य छ भने ३ वटा वस्तुको निर्यात वार्षिक १ हजार डलर पनि पुग्दैन ।

यी वस्तुको निर्यात वृद्धि भएसँगै नेपाललाई व्यापार नाफा भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । अमेरिकन चेम्बर अफ कमर्स, नेपालका अध्यक्ष किरण साःख नेपाल सरकारको बेवास्ताका कारण अमेरिकातर्फको निर्यात खुम्चिएको बताउँछन् । उनले भने, ‘सरकारले ध्यान दिएमा नेपालले अमेरिकामा प्रशस्त निकासी गर्न सक्छ । तर, सरकारको यसतर्फ ध्यान नै छैन ।’
नेपालमा निर्मित पस्मिना, कार्पेट, गलैँचा र गरगहनाको ठूलो बजार अमेरिकामा देखिन्छ । सन् २००२ मा अमेरिकाको ट्वीन टावरमा हवाई हमला हुनुअघि वार्षिक २०० मिलियन डलरसम्मको कार्पेट अमेरिकातर्फ निकासी हुन्थ्यो । तर, त्यसपछि निरन्तर नेपालको निकासी खस्कँदै गएर सन् २००५ पछि करिब शून्यमै झरेको उनी बताउँछन् ।

‘सन् २००५ पछि मल्टिफाइभर एग्रीमेन्ट सकियो । त्यसपछि विभिन्न देशलाई दिइएको विशेष कोटा सकियो,’ उनले भने, ‘अनि नेपालको निर्यात खस्किँदै गयो । भारत र चीनका उत्पादनसँग प्रतिस्पर्धा गर्न सरकारले कुनै व्यवस्था ल्याएन ।’

यस्तै, २०७२ सालमा भूकम्प गएपछि नेपालको अर्थतन्त्र पुनः उत्थान गर्ने लक्ष्यसहित अमेरिकाले ७७ वटा वस्तुमा भन्सार छुट दिएको छ । तर, यी वस्तुको फाइदा नेपालले उठाउन सकेको छैन । भन्सार छुट पाएकामध्ये ११ वस्तुको निर्यात शून्य छ भने ३ वटा वस्तुको निर्यात वार्षिक १ हजार डलर पनि पुग्दैन ।

अमेरिकाले सुरुमा ६६ वटा वस्तुमा भन्सार छुट दिएको थियो भने ११ वटा वस्तुको सूची पछि थपियो । यस्तै, १२ वटा वस्तुको निर्यातबाट १० हजार डलरभन्दा बढी आर्जन भएको छ भने १४ वस्तुको निर्यात ५० हजार डलरभन्दा न्यून मात्रामा छ । र, २६ वस्तुको निर्यातमात्रै ५० हजार डलरभन्दा धेरैको हुन्छ । तर, नेपालले यी वस्तुको निर्यात गरेर अमेरिकाबाट पर्याप्त फाइदा लिन सकेन ।

अमेरिकाबाट पिना, लामखुट्टे धुपदेखि अरबौँको भटमाससम्म आयात

नेपालले अमेरिकामा निर्यात गर्ने वस्तुहरुबाहेक त्यताबाट आयात गर्ने उपभोग्य वस्तुहरुमा तेलबाट निस्कने कच्चा पदार्थ पिना, लामखुट्टे मार्न प्रयोग गरिने भ्याक्सिनदेखि सात महिनाकै अवधिमा अरबौँको भटमाससम्म आयात हुने गरेको एक तथांकले देखाएको छ ।

मुख्यगरी कृषिजन्य र प्रविधिजन्य वस्तु अमेरिकाबाट नेपालतर्फ आयात हुने गरेको पाइएको छ । चालु वर्षको ७ महिनाको अवधिमा अमेरिकाबाट २३ करोड रुपैयाँको बदाम र २ अर्ब ४० करोड रुपैयाँको भटमास आयात भएको छ । यस्तै, ४१ करोड ५१ लाखको पिना आयात हुँदा औषधिजन्य वस्तुको आयात समेत पर्याप्तमा मात्रामा हुँदै आइरहेको छ । अमेरिकाबाट ३९ करोडको लामखुट्टे भ्याक्सिन भित्रिँदा १८ करोडको प्रशोधित काठ भित्रिएको छ ।

क्यामेरा र फोटोग्राफीमा प्रयोग हुने सेलुलोस एकेटेट आयातमा २६ करोड रुपैयाँ बाहिरिएको छ भने ३५ करोडको कच्चा सुन भित्रिएको छ । एयरक्राफ्टको इञ्जिन आयातमार्फत १२ करोड रुपैयाँ बाहिरिएको छ भने कम्प्यूटर सर्भर, हार्डडिस्क र डिस्क आयातमा ५७ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, २६ करोडको राडार भित्रिँदा १ अर्बको म्यूजिकल इन्सट्रुमेन्ट् आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

१३० देशसँग घाटाको व्यापार, ३३ देशसँग नाफा

नेपालले वैदेशिक व्यापार गर्ने अधिकांश साझेदार मुलुकसँग नेपालको व्यापार घाटा छ । हरेक वर्ष नेपालले वैदेशिक व्यापारमा ठूलो घाटा बेहोर्दै आइरहेको छ । भन्सार विभागका अनुसार ७ महिनाको अवधिमा नेपालले विश्वका १५४ वटा मुलुकसँग व्यापार गरेको छ । यीमध्ये १३१ वटा देशसँगको व्यापार नेपालको पक्षमा नभई ती साझेदार मुलुकहरूको पक्षमा देखिएको छ । अर्थात्, १३१ वटा देशसँग नेपालको व्यापार घाटामा छ ।

नेपालले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा समेत ठूलो व्यापार घाटा ब्यहोरिसकेको छ । यस अवधिमा भएको वैदेशिक व्यापारमा नेपालले ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ घाटा बेहोरेको छ । ७ महिनामा नेपालबाट ९३ अर्ब रुपैयाँको निर्यात हुँदा विदेशबाट ९ खर्ब १९ अर्ब रुपैयाँ बराबरको मात्र आयात भएको छ ।

१४५ वटा देशहरुमा हुने व्यापारमध्ये बाँकी ३३ देशसँगको व्यापारमा भने नेपालले नाफा गर्दै आइरहेको छ । तर, ती मुलुकसँगको व्यापार नाफा पनि न्यून मात्रामा छ । खासगरी, नेपालतर्फबाट निर्यातका लागि आवश्यक वस्तु पर्याप्त मात्रामा नहुँदा र निर्यात बढाउन सरकारले बनाएका योजना प्रभावकारी नबन्दा समस्या भइरहेको हो ।

नाफामा रहेका देशहरु

नाफा कमाउने देशहरुमध्ये त्यसमध्ये, मध्य÷दक्षिण एसियाली मुलुक अफगानिस्तान, अल्जेरिया, अंगोला, अस्ट्रिया, अजरबैजान, बोलिभिया र बोस्निया एण्ड हर्जगोभिना छन् । यस्तै, चाड, कंगो, क्रोएशिया, डेनमार्क, ग्वाडेलोप र आइसल्याण्डसँगको व्यापार समेत नाफामा छ । किर्गिस्तान, लाट्भिया, माल्दिभ्स, माली, माल्टा, मौरिसियस, मोनाको, मोरोक्को, न्यून क्यालोडोनिया, नर्वे, रोमानिया, रवान्डा, सेन्ट लुसिया, ट्रिनिडाड एण्ड टोबागो, अमेरिका, उरुग्वे, जाम्बिया र जिम्बाबेसँग पनि नेपालको व्यापार नाफामा छ । व्यापार घाटा रहेका मुुलुकको सूची लामो भएकाले व्यापार नाफा रहेका देशको सूचीमात्रै समेटिएको हो ।

सरकारले निर्यात प्रवर्द्धन गर्ने लक्ष्यसहित धेरै योजना बनाएको छ । तीमध्ये नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) समेत सञ्चालनमा ल्याइएको छ । तर, यो रणनीतिमा समेटिएका वस्तुको निर्यात बढ्नुको साटो घटिरहेको छ । नेपालले निर्यात वृद्धिका लागि बनाएका योजनाहरू प्रभावकारी रूपले लागू हुन नसक्दा र आयात नियन्त्रण गर्ने ठोस योजना नहुँदा निरन्तर आयात बढ्ने र निर्यात घट्नेक्रम चलिरहेको छ ।

व्यापारविद् रविशंकर सैजु नेपालबाट विदेशतर्फ बेच्ने वस्तु नै नहुँदा निरन्तर व्यापार घाटा चुलिइरहेको बताउँछन् । ‘नेपालमा उत्पादनमूलक उद्योग नहुँदा र भएका उद्योगलाई आवश्यक कच्चा पदार्थ नहुँदा निर्यात बढ्न सकेको छैन,’ सैजु भन्छन्, ‘निर्यात नै नभएपछि व्यापार घाटा घट्दैन ।’ खासगरी, नेपाल सरकारले निर्यात वृद्धि गर्ने र स्वदेशी उत्पादनमूलक उद्योगहरूको प्रवर्द्धनमा जोड दिएकै छैन । यही कारण पनि निर्यात बढ्न नसकेको सैजुको भनाइ छ ।

नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम पोखरेल सरकारको ध्यान निर्यातमुखी अर्थतन्त्रमा नहुँदा सबैजसो देशसँग व्यापार घाटा बेहोर्नुपरेको बताउँछन् । ‘हामी आयातमुखी अर्थतन्त्रमा निर्भर छौँ । आयात घट्नासाथ कर्मचारीलाई तलब खुवाउने रकमसमेत हुँदैन,’ पोखरेल भन्छन्, ‘तर, निर्यात बढाउने विषयमा सरकारको ध्यान नै छैन ।’

यस्तै, स्वदेशमा सञ्चालित उत्पादनमूलक उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थको सहज उपलब्धता नहुनु लगायतका विषयले समेत निर्यात प्रभावित बनाउँछ । निर्यात नै नभई आयात मात्र भएपछि व्यापार घाटा बढ्छ । नेपालको कुल व्यापारको करिब ७० प्रतिशतभन्दा धेरै हिस्सा भारत र चीनको व्यापारले ओगट्छ । यी मुलुकबाट बर्सेनि उच्च मात्रामा आयात हुन्छ र निर्यात न्यून हुन्छ । ‘सुक्खा बन्दरगाहसम्म आइपुगेको रेल पनि यताबाट जाँदा खाली हुन्छ,’ पोखरेल भन्छन् ।

भारतसँग सबैभन्दा घाटा
नेपालले व्यापार घाटा बेहोरेका मुलुकमध्ये भारतसँगै सबैभन्दा धेरै घाटा हुन्छ । ७ महिनाको अवधिमा भारतसँगको व्यापार घाटा ५ खर्ब ४ अर्ब ७४ करोड रुपैयाँ बराबर छ । जबकि, नेपालको कुल व्यापार घाटा नै ९ खर्ब १९ अर्ब रुपैयाँ छ ।

सो आधारमा कूल व्यापार घाटाको करिब ६० प्रतिशत हिस्सा नै भारतले ओगट्दै आएको छ । यसपछि, चीनसँग १ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ व्यापार घाटा छ । यो नेपालले बेहोर्दै आएको दोस्रो धेरै घाटा हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्