कुन देशसँग छ सबैभन्दा धेरै पैसा ? यस्तो छ प्रमुख देशहरुको हालत, नेपाल ७२ औं स्थानमा « Arthapath.com
१२ बैशाख २०८०, मंगलवार

कुन देशसँग छ सबैभन्दा धेरै पैसा ? यस्तो छ प्रमुख देशहरुको हालत, नेपाल ७२ औं स्थानमा



काठमाडौं । अहिले संसारमा को धनि बन्ने भन्ने होडबाजी मान्छेहरुमा त चलेको छ नै, राष्ट्रहरु पनि त्यही होडमा छन् । सामरिक शक्ति हत्याउन र विश्व मञ्चमा आफ्नो ताकत देखाउन अहिले चीन र रुसजस्ता मुलुक अग्रसर देखिन्छन् । विशाल संन्य शक्ति भएका यी मुलुकहरु सन् १९९१ मा रुसी महासंघको पतनपछि अमेरिकाले एक पाखे रुपमा नेतृत्व गर्दै आएको विस्व व्यवस्थालाई चुनौती दिन थालेका छन् । यस्तो चुनौतिका लागि सबैभन्दा महत्वपूर्ण साधन हुन्छ, पैसा ।

अहिले संसारमा कुन देशसँग पैसा छ त ? यसको सामान्य मापन गर्ने आधारहरुमध्ये विभिन्न मुलुकले आफ्ना आफ्ना बजारमा पठाएको पैसा पनि एक हो । सामान्यतया कुनै पनि सरकार वा केन्द्रिय बैंकले विदेशी मुद्रा वा सुनजस्ता बहुमूल्य धातुको साटोमा स्वदेशी मुद्रा बजारमा पठाएको हुन्छ । यसलाई नेपालमा विस्तृत मुद्रा प्रदाय भन्ने गरिएको छ ।

यो शब्दले तपाइँ हामीसँग भएको वा बैंकहरुमा जम्मा रहेको नगद पैसा, हामीले बैंकमा अल्पकाल र दीर्घकालका लागि जम्मा गरेको सबै निक्षेप रकम समेतलाई जनाउँछ । यसको अर्थ, नेपालको कुल अर्थतन्त्रको वास्तविक मौद्रिक आकार कति हो भन्ने आँकडा पस्कनु हो । हाम्रो राष्ट्र बैंकले गत फागुन मसान्तसम्म नेपालमा करीब ५९ खर्ब रुपैयाँ पैसा बजारमा पठाएको भनेको छ । यसमध्ये ५४ खर्ब ५३ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा जम्मा भएको निक्षेप हो । ५ खर्ब २० अर्ब हाराहारी त नगद पैसा नै राष्ट्र बैंकबाट बाहिर छ, त्यसमध्ये डेढ खर्ब हाराहारी विभिन्न बैंक तथा वित्तीय संस्थामा थुप्रिएको छ भने बाँकी पैसा नागरिकको हातमा छ ।

यस्तै ठूला अर्थव्यवस्थाहरुमा पनि कोसँग धेरै पैसा छ भन्ने होडबाजी चल्छ । हामीमध्ये धेरैले आजको दिनमा पनि संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भनेर पढ्ने गरेको अमेरिकासँगै धेरै पैसा होला भन्ने लाग्न सक्छ । तर त्यो सत्य होइन । अहिले संसारमा सबैभन्दा धेरै मुद्रा प्रदाय भएको मुलुक चीन हो । चीनले बजारमा पठाएको पैसा यति धेरै पृथ्वीभरका सबै देश र तीनका केन्द्रिय बैंकले बजारमा पठाएको कुल पैसामध्ये ३ भागको एक भाग चीनसँगमात्रै छ ।

गएको डिसेम्बरदेखि मार्चसम्मका उपलब्ध तथ्यांकहरु केलाउँदा के देखिन्छ भने, संसारकै धनि अमेरिका र सिंगो युरोपेली संघ (जहाँ जर्मनी, फ्रान्स, इटली, स्पेनजस्ता ठूला अर्थतन्त्रहरु समावेश छन्)ले जति पैसा बजारमा पठाएको छ, त्योभन्दा धेरै पैसा चीन एक्लैले बजारमा छरेको छ । यही कारण चीन अहिले पुरै संसारभर लगानी विस्तार गरिरहेको छ । चिनियाँ युआनको यति धेरै उपलब्धता बढेका कारण अब उसले अन्तरराष्ट्रिय भुक्तानीमा डलरको साटो आफ्नो मुद्राको प्रयोग विस्तार गर्ने रणनीति पनि अघि सारेको छ ।

चीनपछि दोस्रो नम्बरमा अमेरिकाको स्थान छ । त्यसपछि युरोपेली संघसँग बढी पैसा छ । तर २७ देशको यो संगठनलाई बाहिर राखेर देश–देशबीच तुलना गर्ने हो भने चाहीँ जापान तेस्रो नम्बरमा आउँछ । त्यसपछि जर्मनी र पाँचौं ठूलो मुद्रा प्रदायको बजार बेलायतसँग छ । यस्तो आँकडा आउनुको कारण चाहीँ सबै देशको मुद्रालाई अमेरिकी डलरमा हिसाब गरेका कारण हो । फ्रान्स र दक्षिण कोरियापछि संसारको आठौं ठूलो मुद्रा प्रदाय राष्ट्रको रुपमा अर्को छिमेकी भारत आउँछ ।

यो तथ्यांकमा अनौठो पहलु पनि देखिएको छ । जस्तो की, नेपालभन्दा लगभग साढे दुई गुणा ठूलो अर्थतन्त्र भएर पनि पछिल्ल्लो समय डलरको भाउ अचाक्लि महँगिएपछि श्रीलंकाको सिंगो मुद्रा प्रदाय नेपालको भन्दा कमजोर हुन पुगेको छ । सार्क राष्ट्रहरुको सूचीमा भारतपछि बंगलादेश र पाकिस्तान आउँछन् भने चौंथो नम्बरमा नेपाल देखिन्छ । हामीलाई यहाँ उपलब्ध भएका संसारका १७३ राष्ट्रमध्ये नेपालको स्थान ७२ औं रोलक्रममा देखिएको छ ।

श्रीलंका, अफगानिस्तान, माल्दिभ्स र भुटानको स्थान नेपालभन्दा पछाडी आउँछ । हुन त लामो समयदेखि विदेशी विनिमय समस्या भोगिरहेको श्रीलंका र पाकिस्तानलाई छोड्ने हो भने सार्कमै सबैभन्दा कमजोर मुद्रा हाम्रै हो । माल्दिभ्स यस मानेमा सार्ककै सबैभन्दा सबद राष्ट्र मानिन्छ । तर भारतसँगको विनिमय अंकुशको लाभ उठाइरहन पाउँदा नेपालसँग अहिले पनि धेरै कमजोर हुनुपर्ने बाध्यता रहेन ।

संसारका प्रमुख एवम् उदीयमान अर्थतन्त्रको विस्तृत मुद्रा प्रदाय (M2)को आकार (अर्ब अमेरिकी डलरमा)


प्रतिक्रिया दिनुहोस्