मूल्यबृद्धिको मारबाट जोगाउन नेपाललाई भारतको भर, अरु देशमा कति छ महँगी ? « Arthapath.com
१ कार्तिक २०८०, बुधबार

मूल्यबृद्धिको मारबाट जोगाउन नेपाललाई भारतको भर, अरु देशमा कति छ महँगी ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले गत भदौ मसान्तसम्म नेपालमा औसत मूल्य बृद्धिको दर (मुद्रास्फीति) ८.१९ प्रतिशत रहेको उल्लेख गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यतिरबाटै खाद्य तथा पेय पदार्थको भाउमा भएको उच्च बृद्धिले नेपालीको भान्सा थेगिनसक्नु हुन थालेको छ ।

दशैंको मुखमा जिराको भाउ झण्डै तीन दोब्बर भएपछि मरमसलाको औसत बजार मूल्य नै यो साल ४५.४६ प्रतिशतले बढेको छ । चिनी तथा चिनीजन्य वस्तुको मूल्य बृद्धि पनि झण्डै १८ प्रतिशत पुगेको छ । तरकारीको भाउ साढे १४ प्रतिशत महँगिएको छ ।

खाद्य पदार्थको भाउ १३.३८ प्रतिशत र दुध तथा अण्डाको भाउ औसतमै १२.६० प्रतिशत बढेको छ । घ्यु तेलको भाउ पनि यो साल थप १३ प्रतिशतभन्दा धेरै बढेको छ । रेस्टुरेन्ट तथा होटेलमा खाएको मूल्य पनि ११ प्रतिशत हाराहारी बढेको छ ।

फिल्महलहरु र अन्य मनोरञ्जन क्षेत्रले औसतमै साढे १५ प्रतिशतभन्दा धेरै मूल्य बढाएका छन् । पठनपाठन गर्न स्कुललाई तिर्नुपर्ने खर्च नै झण्डै १० प्रतिशत बढेको छ । घरायसी वस्तुहरुको भाउ ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसरी भएको मूल्य बृद्धिमा थुप्रै कारण छन् । अन्तरराष्ट्रिय युद्ध र महँगीले पेट्रोलियम पदार्थमा अत्यधिक बढी पैसा खर्च गर्नुपर्ने अवस्था आउनु एक महत्वपूर्ण कारण हो । त्यसमाथि भारतले चामल र चिनी निर्यातमा लगाएको प्रतिबन्धले पनि बजारलाई प्रभावित पारेको छ । प्रतिबन्धभन्दा धेरै असर त नेपाली व्यवसायीले तिनै प्रतिबन्धलाई देखाएर गर्ने मूल्य बृद्धिले पारेको छ ।

शिक्षा, स्वास्थ्य र आन्तरिक उत्पादन तथा होटेल रेस्टुरेन्टहरुले मूल्य बढाउँदा पनि समग्रतामा महँगी उच्च देखिएको हो । तर यसमा फेरि पनि भारतकै कारणले नेपाली अर्थतन्त्रलाई एकल अंकको महँगीमा रहन सघाइरहेको छ ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार यदी नेपालले भारतीय रुपये (भारु)सँग स्थिर विनिमय कायम नराखेको थियो भने अहिलेसम्म नेपाली अर्थतन्त्र टाट पल्टिसक्ने जोखिम हुन्थ्यो । किन की, नेपाल संसारकै सबैभन्दा परनिर्भर राष्ट्रहरुमध्ये एक हो ।

तेस्रो देशबाट आउने पेट्रोलियम पदार्थ (जुन हाम्रो सबैभन्दा ठूलो आयात हुने वस्तु पनि हो) समेत गर्दा भारतबाट नेपालले झण्डै कुल आयातको दुई तिहाई सामान भित्र्याउँछ । यतिठूलो आयात ब्यापार भएको मुलुकसँग स्थिर विनिमय कायम हुनुले नेपाली बजारलाई अचाक्लि महँगीबाट जोगाएको छ ।

त्योभन्दा ठूलो कुरा चाहीँ १७७० किलोमिटर लामो नेपाल भारत सीमा दुबै तर्फका नागरिकलाई खुला गरिनु हो । यसले भारतले प्रतिबन्ध लगाएका कतिपय वस्तु पनि चोरी पैठारीबाट नेपाली बजारमा भित्रिरहेको छ ।

यसले देशलाई राजस्व हानी भए पनि आम नागरिकले बजारमा सामान पाइरहेका छन् । अनौपचारि र अबैध अर्थतन्त्रको विस्तारमा केही हदसम्म सघाइरहेको यस्तो छायाँ अर्थतन्त्रले नेपालीको भान्सा नै सुक्ने र अति महँगीमा पुग्ने बाटोबाट जोगाइरहेको छ ।

अहिले पनि भारतमा मुद्रास्फीति दर ५ प्रतिशत हाराहारी छ भने नेपालमा ८ प्रतिशत नाघेको छ । सन् २०१६ मा भारतको केन्द्रिय बैंकले मुद्रास्फीति दरलाई ४ देखि ६ प्रतिशतको बीचमा राख्ने निर्णय गर्नु अघि नेपालमा वार्षिक रुपमा महँगी ९ देखि ११ प्रतिशतसम्म बढ्ने गरेको थियो । तर भारतीय नीतिगत बदलावले नेपालले विगत ६ वर्षमा लगातार लाभ लिए पनि अहिले आएर केही दबाब बढेको छ ।

तर अहिले पनि हामीले बाँकी विश्वका थुप्रै मुलुकको महँगी दर हेरियो भने अत्यास लाग्दो अवस्था छ । यस्तो अवस्था नेपालमा आउने हो भने शहरी गरिबहरु चरम भोकमरीको सिकार बन्ने पक्का छ । तर भारतको भर यति बलियो छ की, स्वयम् भारतीय अर्थतन्त्र नै त्यसैगरी खराब हालतमा नपुग्दासम्म नेपाली अर्थतन्त्रमा महँगीले साँच्चैको विकराल समस्या खडा गर्दैन ।

केही मुलुकहरुको महँगीको दर यस्तो छ:

यसमध्ये लेबनान, सिरिया, सुरिनेम, सियरा लियोन, बुरुण्डी, मालावी सहितका केही देशको तथ्यांक साउनको र अरु केही देशको तथ्यांक असारका छन् ।


प्रतिक्रिया दिनुहोस्