विश्वकै सबैभन्दा ठूलो क्रिप्टो एक्सचेञ्ज बाइनान्सलाई पौने ६ खर्ब जरिवाना, सीईओको गयो पद « Arthapath.com
६ मंसिर २०८०, बुधबार

विश्वकै सबैभन्दा ठूलो क्रिप्टो एक्सचेञ्ज बाइनान्सलाई पौने ६ खर्ब जरिवाना, सीईओको गयो पद



काठमाडौं । संसारकै सबैभन्दा ठूलो क्रिप्टो एक्सचेञ्ज बाइनान्सका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत चांगपेङ झाओले बुधबार राजिनामा दिएका छन् ।

उनले अमेरिकी सम्पत्ती शुद्धिकरण विरुद्धको कानून तोडेको भनेर अदालतले दोषि ठहर गरेपछि राजिनामा दिएका हुन् । यससँगै क्रिप्टो एक्सचेञ्जले ४ अर्ब ३० करोड अमेरिकी डलर (करीब ५ खर्ब ७२ अर्ब रुपैयाँ) जरिवाना तिर्न पनि आदेश दिइएको छ ।

चाओले आगामी ३ वर्षसम्म कम्पनीमा कुनै व्यवस्थापकीय भूमिकामा काम गर्न पनि रोक लगाइएको छ । उनको स्थानमा रिचार्ड थङ कम्पनीको नयाँ सीईओ बनेका छन् । यसअघि उनी सोही कम्पनीमा क्षेत्रीय बजार हेर्ने ‘ग्लोबल हेड’ थिए ।

अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डलाई उद्र्धृत गर्दै अन्तरराष्ट्रिय सञ्चार संस्थाहरुले लेखेका छन्, ‘आफ्नो अपराधका कारण बाइनान्स संसारको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेञ्ज बनेको हो । अब उसले अमेरिकी इतिहासकै सर्बाधिक ठूलो कर्पोरेट जरिवानामध्ये एक भुक्तानी गर्ने छ ।’

अमेरिकाको राजस्व सचिव जेनेट येलेनले पनि सामाजिक सञ्जालमार्फत् बाइनान्सले जानीबुझी नै आफ्नो प्लेटफर्मबाट आतंकबादी, साइबर अपराधी र बाल अपराधीको पैसा चलाउन दिएको भनेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्