५ लाखभन्दा धेरै सेना हताहत भइसकेको रूस-युक्रेन युद्धले अर्थतन्त्रलाई कति दपेटेको छ ? « Arthapath.com
७ फाल्गुन २०८०, सोमबार

५ लाखभन्दा धेरै सेना हताहत भइसकेको रूस-युक्रेन युद्धले अर्थतन्त्रलाई कति दपेटेको छ ?



काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएको यसै हप्ता २ वर्ष पुग्दै छ । युद्ध मोर्चामा कहिले अगाडी र कहिले पछाडी गर्दै चलिरहेको रुसले ज्यादै ठूलो मूल्य चुकाउनु परेको भनेर पश्चिमा सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यसैबीच भर्खरैमात्र रुसले युक्रेनको अर्को एक शहर आवदीव्कामाथि कब्जा गरेको छ । तर यो युद्धको आर्थिक र मानवीय क्षति हेर्ने हो भने अथाह देखिन्छ ।

गत शुक्रबार एक बरिष्ठ अमेरिकी अधिकारीले युक्रेन युद्धमा रुसले असाधारण मूल्य चुकाउनु परेको भनेका थिए । उनले हालसम्म करीब ३ लाख १५ हजार फौजको हताहत भएको, कम्तिमा २० वटा नौसेना जहाजहरु डुबेको र युद्ध कार्यका लागि करीब २ खर्ब ११ अर्ब अमेरिकी डलर बराबरको वित्तीय क्षति भोग्नुपरेको दाबी गरेका थिए ।

रुसले करीब १० अर्ब अमेरिकी डलर बराबरको सैन्य सामग्री विक्री गर्ने सम्झौताहरु खारेज वा स्थगित गरेका कारण यसलाई पनि क्षतिमै गणना गर्नुपर्ने पश्चिमा सञ्चारमाध्यमले लेखेका छन् । अमेरिकी अधिकारीहरुका अनुसार सन् २०२६ सम्मको आर्थिक बृद्धिको पूर्वानुमानमा करीब १.३ ट्रिलियन (१३ खर्ब) अमेरिकी डलर नोक्सान हुने देखिएको छ ।

दुई वर्षअघि यो युद्ध सुरु भएपछि करीब ३ खर्ब अमेरिकी डलर बराबरको रुसी सम्पत्ति जफत गरिएको छ । युक्रेनले उक्त सम्पत्ती आफ्नो युद्धग्रस्त क्षेत्रको पुनःनिर्माणका लागि खर्च गर्नुपर्ने प्रस्ताव राखेको थियो । यस कामका लागि करीब ५ खर्ब डलर आवस्यक पर्ने अनुमान गरिएको प्रतिवेदन सार्वजनिक भएको छ ।

युद्धका दौरान आफ्नो पूर्वाधारमा करीब १ खर्ब ५२ अर्ब डलर बराबरको क्षति भएको भने पनि यसको पुनर्निमाणका लागि आगामी १० वर्षमा ४ खर्ब ८६ अर्ब डलरभन्दा बढी पैसा लाग्ने उक्त प्रतिवेदनमा भनिएको छ ।

युक्रेनको सैन्य मुख्यालले भने २०२४ को पहिलो दिनसम्ममात्रै ३ लाख ६० हजार रुसी सेना मारिएको वा गम्भीर घाइते भएको आँकडा प्रस्तुत गरेको थियो । त्यसको तीन सातापछि सोही निकायले रुसका ३ लाख ७५ हजार २७० जना सैनिक हताहत भएको भनेको थियो । तर यी आँकडाहरुको स्वतन्त्र पुष्टि हुन सकेका छैनन् ।

करीब चार महिना अघि नै न्यूयोर्क टाइम्सले एक समाचारमा उक्त युद्धमा हताहतिको संख्या ५ लाख पुगिसकेको उल्लेख गरेको थियो । समाचारमा जनाइए अनुसार रुसतर्फ १ लाख २० हजार सैनिक मारिएको र १ लाख ७० हजार देखि १ लाख ८० हजारको संख्यामा घाइते भएका थिए ।

युक्रेनतर्फ हताहतीको संख्या केही कम भएको भनिएको थियो । त्यसबेला करीब ७० हजार युक्रेनी सेना मारिएको र १ लाखदेखि १ लाख २० हजारको संख्यामा सैनिकहरु घाइते भएको समाचारमा उल्लेख छ ।

उता युक्रेनलाई सबैभन्दा ठूलो साथ अमेरिका र पश्चिमा देशहरुको छ । उत्तर एटलान्टिक सैन्य संगठन (नेटो)का अनुसार रुसी आक्रमण पश्चात् अमेरिकाले हालसम्म ७५ अर्ब डलर बराबरको सहायता युक्रेनलाई दिइसकेको छ । नेटोका अन्य सदस्य देशहरुले थप १ खर्ब डलर भन्दा बढी सहायता दिएका छन् ।

तर अहिले अमेरिकाको सहायता बजेट सकिएपछि थप ६० अर्ब डलर बराबरको सहायता दिने प्रस्ताव प्रतिनिधि सभाबाट पारित हुन सकेको छैन । सोही कारण गत डिसेम्बरको अन्त्य अर्थात् पुस पहिलो सातायता अमेरिकाले युक्रेनलाई कुनै थप सहयोग गर्न सकेको छैन ।

युक्रेनले युद्धको पहिलो वर्ष नै कुल गार्हस्थ उत्पादन (जीडीपी)को ३० देखि ३५ प्रतिशत हिस्सा गुमाएको थियो । उसले हरेक साल ३० प्रतिशत अर्थतन्त्र गुमाइरहेको छ । यो युद्धले ती युद्धरत मुलुक र युक्रेनको सहयोगी नेटो राष्ट्रहरुमात्र होइन, श्रीलंका र नेपालजस्ता संसारका कयौं देशको अर्थतन्त्र धरमराउनमा योगदान दिएको छ ।


प्रतिक्रिया दिनुहोस्