भारतमा १ करोड घरलाई निःशुल्क विजुली, मोदीको मन्त्री परिषदले पास गर्यो प्रस्ताव « Arthapath.com
१७ फाल्गुन २०८०, बिहीबार

भारतमा १ करोड घरलाई निःशुल्क विजुली, मोदीको मन्त्री परिषदले पास गर्यो प्रस्ताव



काठमाडौं । भारतको मन्त्री परीषदले देशभर १ करोड घरलाई मासिक ३०० युनिट विजुली सित्तैमा दिने र वार्षिक १५ हजार रुपैयाँ कमाइ गर्नसक्ने गरी ‘पीएम सूर्यघर मुफ्त बिजली योजना’ स्वीकृत गरेको छ । विहीबारको मन्त्री परिषदले यस्तो निर्णय गरेको भनेर केन्द्रीय मन्त्री अनुराग ठाकुर र अश्विनी वैष्णवलाई उद्धृतगर्दै दैनिक भास्करले लेखेको छ ।

समाचार अनुसार घरको छानामा सोलार प्यानल लगाउने हरेक परिवारले आफ्नो घरमा उत्पादित विजुली सरकारलाई बेचर वर्षमा १५ हजार आम्दानी गर्नसक्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही फागुन १ मा उक्त योजनाको घोषणा गरेका थिए ।

यस योजना अन्तरगर्त हरेक परिवारले २ वा ३ किलोवाट क्षमताको सोलार प्लाण्ट घरमा जडान गर्नु छन् । २ किलोवाटको प्लान्ट जडान गर्ने परिवारलाई सरकारले लागतको ६० प्रतिशत रकम सिधै बैंक खातामा जम्मा गरिदिने छ ।

यदी कसैले ३ किलोवाटको प्लान्ट लगाउन चाह्यो भने अतिरिक्त १ किलोवाटका लागि लागतको ४० प्रतिशत अनुदान पाउने छन् । अहिले ३ किलोवाटको प्लान्ट लगाउन भारु. १ लाख ४५ हजार लाग्छ । यसमा ७८ हजार रुपये सरकारले अनुदान दिन्छ । बाँकी ६७ हजार रुपैयाँ पनि बैंकबाट सस्तो ब्याजमा ऋण लिन सक्ने व्यवस्था सरकारले गरिदिएको छ ।

यस्तो कर्जामा बैंक रिपो रेटमा ०.५ प्रतिशतभन्दा बढी ब्याज लिन पाइने छैन । अहिले भारतीय रिजर्भ बैंकको रिपो रेट ६.५ प्रतिशत छ । यस अनुसार बैंकले ७ प्रतिशत ब्याजमा यस्तो ऋण दिने छ ।

यो योजनाका लागि सरकारले एक ‘नेशनल पोर्टल’ सार्वजनिक गरेको छ । त्यस पोर्टलमार्फत् फारम भरेर नागरिकले यो योजना अन्तरगत घरमा सोलार जोड्न सक्छन् । यस्तो सोलार जोडिसकेपछि त्यस क्षेत्रमा ग्रीडमार्फत् विद्युत् वितरण गर्ने कम्पनीले ‘नेट मिटरिङ’ जडान गरिदिने छ ।

सोही नेट मिटरिङको हिसाबमा ग्राहकले किन्नेभन्दा बेच्ने विजुली बढी हुने र त्यसबापत उल्टै विद्युत् वितरण गर्ने कम्पनी (नेपालमा विद्युत् प्राधिकरणजस्तै)बाट पैसा पाइने भारत सरकारको दाबी छ ।

यसमा १ किलोवाटको सोलार प्लाण्टबाट एक दिनमा ३–४ युनिट विजुली उत्पादन हुन्छ । यदी ३ किलोवाटको प्लाण्ट लगाएको छ भने दैनिक १२ युनिटसम्म विजुली उत्पादन हुनसक्छ । यो भनेको महिनामा ३६० युनिट हो ।

ग्राहकले यो विजुलीको उपयोग गर्न सक्ने छन् । उपभोग गरेर बचेको विजुली नेट मिटरिङमार्फत् विक्री हुन्छ र यसबापत पैसा पनि पाइन्छ । भारतमा अहिले प्रतिघर मासिक विद्युत् माग बढीमा २५० युनिट छ । तर कुनै घरले उपभोग बढाएर ३०० युनिट पुर्यायो भने पनि उसले मासिक ६० युनिटसम्म बिजुली बेच्नसक्ने संभावना रहेको सरकारी भनाइ छ ।

यद्यपि, यस्तो अवस्था मौसम अत्यन्त सफा भएको र वर्षैभरी राम्रोसँग घाम लागेको बेलामा मात्रै सम्भव हुन्छ । तर मोटो हिसाबमा महिनाको ६० युनिट विजुली बेच्यो भने पनि वर्षमा ७२० युनिट विजुली विक्री हुन्छ । यसबाट कम्तिमा १५ हजार रुपये आम्दानी हुने सरकारी तर्क छ ।


प्रतिक्रिया दिनुहोस्