१० वर्षमा २५ करोडलाई गरिबीको रेखा बाहिर निकालेको मोदीको दाबी « Arthapath.com
२५ जेष्ठ २०८१, शुक्रबार

१० वर्षमा २५ करोडलाई गरिबीको रेखा बाहिर निकालेको मोदीको दाबी



काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो १० वर्षे कार्यकालमा २५ करोड नागरिकलाई गरिबीको रेखाबाट माथि उठाएको दाबी गरेका छन् ।

शुक्रबार आफ्नो गठबन्धन ‘एनडीए’को संसदीय दलको नेता चुनिएसँगै उनले यस्तो बताएका हुन् । मोदीले आफ्नो दल भारतीय जनता पार्टी (भाजपा)को साटो बारम्बार गठबन्धनको नाम लिएर यस्तो दाबी गरेका हुन् ।

मोदीले विगतमा ४ करोड गरिबलाई नयाँ घर बनाइ दिएको र थप ३ करोड गरिबलाई घर उपहार दिने बताए । आफ्नो १० वर्षे कार्यकाललाई ‘एनडीए’को सरकारको कार्यकाल भन्द्र उनले थपे, ‘यो त ट्रेलरमात्रै हो ।’ उनले आगामी १० वर्षमा सुशासन, विकास र नागरिकको जीवनशैली परिवर्तनमा नयाँ अध्ययाय लेख्ने उदे्घोष गरे ।

‘हामी सबै मिलेर विकसित भारतको सपना साकार गरेरै छाड्छौँ’, चुनावपछि बसेको गठबन्धनको पहिलो संसदीय दल बैठकलाई सम्बोधन गर्दै उनले भने । उनले पूँजीबादी छबिलाई अझ प्रगाढ बनाउने संकेत पनि गरेका छन् ।

‘मध्येम वर्ग र उच्च वर्गको जीवनमा सरकारको दख्खल जति कम भयो, लोकतन्त्र उति मजबूत हुन्छ’ मोदीले भने । आगामी आइतबार आफ्नो तेस्रो कार्यकालको लागि प्रधानमन्त्रीको सपथ लिने तयारीमा रहेका मोदीले स्वतन्त्रताको १०० वर्ष अर्थात् सन् २०४७ सम्म ‘विकसित भारत’ बनाउने ‘संकल्प’ लिएको दोहोराएका छन् ।

मोदीले सदनमा कुनै पनि दलको जोसुकै जनप्रतिनिधी भए पनि आफ्ना लागि सबै बराबर हुने बताए । ‘यही एक भावका कारण हामी ३० सालसम्म एउटै गठबन्धनमा एकजुट हुन मद्दत मिलेको छ’, उनले थपे, ‘यहाँ आफ्नो र पराई भन्ने केही छैन । सबैलाई अंकमाल गर्ने हाम्रो संस्कारलाई जनताले विस्वास गरेका छन् ।’

मोदीले आफ्ना कार्यकर्ताको प्रशंशा पनि गरे । साथै नयाँ सरकार बनाउन अहिले उनलाई साथ दिइरहेका कतिपय राजनीतिक दललाई आफूतिर तान्न खोज्ने प्रतिपक्षी गठबन्धन ‘इण्डिया’प्रति रोस व्यक्त गरे । उनले इण्डिया गठबन्धनमा फुटको सुरुआत भइसकेको भन्दै त्यहाँ रहेका कांग्रेस बाहेकका दललाई आफ्नो गठबन्धनमा भित्र्याउन प्रयास गर्न सक्ने संकेत पनि गरेका छन् ।

कयौँ विश्लेषकहरुले मोदी र गृहमन्त्री अमीत शाहको जोडीले अल्पमतमा रहेर गठबन्धन सरकार लामो समय टिकाउन नसक्ने आँकलन गर्दै आएका छन् । यसका लागि सरकारबाट बाहिरिने होइन, अरु कयौँ स्वतन्त्र साँसद र दलहरुलाई नै भाजपामा विलय गराउने प्रयत्नमा अमीत शाह जुट्नसक्ने उनीहरुको बुझाई छ ।

यस ‘खेल’मा एनडीए भित्रैका दललाई विभाजन गर्नेदेखि प्रतिपक्षमा भएको गठबन्धनलाई तोडेर केही सांसद आफ्नो दलमा भित्र्याउने योजनामा मोदी र शाहको जोडीले काम गर्ने आँकलन गरिएको छ । त्यस प्रकारको योजनामा उनीहरु सफल भए भने मोदीको भाषा अहिलेको ‘एनडीए’बाट पुनः ‘मोदी’मै फर्किने छ ।

उनले आफ्नो रोस कांग्रेसको विरुद्धमात्रै प्रकट गर्दै आएका छन् । शुक्रबार पनि कांग्रेसले यति ठूलो ‘भ्रम फैलाएर’ समेत १०० सीट जित्न नसकेको आक्षेप लगाए । उनले भने, ‘कांग्रेसले पछिल्ला ३ वटा चुनावमा जति सीट जितेको छ, त्यसको कुल संख्याभन्दा बढी भाजपाले यो चुनावमा जितेको छ ।’


प्रतिक्रिया दिनुहोस्