के एलन मस्क अमेरिकी सत्तामा जाँदै छन् ?
काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको फिर्तिसँगै अब विश्वका सबैभन्दा धनि अर्बपति एलन मस्क पनि अमेरिकी सत्तामा सहभागि हुने विषय चर्चामा आएको छ ।
अमेरिकामा संघीय सरकार होस् वा राज्य सरकारमा पूँजीपतिहरुको नियन्त्रण पहिलेदेखि नै छ । यस पल्ट ट्रम्पले जित्नुमा ज्यादै ठूलो भूमिका निर्वाह गरेको भनेर मस्कको चर्चा भइरहेको छ ।
ट्रम्पको कानमा गोलि लागेदेखि उनलाई सबैभन्दा उँचो आवाजमा समर्थन गर्ने शक्तिशाली पात्र मस्क नै रहे । उनले यो चुनावी अभियानमा खुलेरै ट्रम्पलाई समर्थनमात्रै गरेनन्, आफ्नो सुपर पीएसीका माध्यमबाट ११ करोड ८० लाख अमेरिकी डलर हाराहारी रकम खर्च गरे ।
मस्कलाई उनका टेस्ला र स्पेस एक्सजस्ता कम्पनीहरुको खर्च घटाउन र सरकारी राहत हासिल गर्न यो गज्जबको मौका हुनसक्ने पश्चिमा सञ्चारमाध्यमहरुले लेखेका छन् । श्रम कानून, वातावरणीय कानूनहरुमा लचकता ल्याएर लाभ उठाउने प्रयत्नमा मस्क रहेको पश्चिमा सञ्चारमाध्यमहरुको तर्क छ ।
मस्कले २७ अक्टोबरमा आयोजित ट्रम्प समर्थकको एक र्यालीलाई सम्बोधन गर्दै अमेरिकी संघीय बजेटको आकार २ ट्रिलियन (२० खर्ब) डलर कटौति गर्नुपर्ने भनेका थिए । गत साल अमेरिकामा ६.७५ ट्रिलियन (६७ खर्ब ५० अर्ब) डलरको संघीय बजेट ल्याइएको थियो ।
यसरी झण्डै एक तिहाई खर्च कटौति गर्ने आधार के हो र कहाँकहाँ खर्च कटौति हुनसक्छ भनेर उनले स्पष्ट पारेका छैनन् । तर यस घटनाले रिपब्लिकन उमेदवारहरुको मन जित्न भने सफल भएको छ । रिपब्लिकनहरुले मस्कलाई तथाकथित ‘लागत कटौति सचिव’ (सेक्रेटरी अफ कस्ट कटिङ) का रुपमा काम गर्न दिनुपर्ने विषयमाथि छलफल थालेका छन् ।
घरजग्गा व्यवसायमा लामो समय काम गरेपश्चात राजनीतिमा होमिएका राष्ट्रपति ट्रम्पले यस अघि नै निजी क्षेत्रका महाधनिहरुप्रति झुकाव राख्दै आएका थिए । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा यस्ता ५ जनालाई संघीय मन्त्री परिषदमा सहभागि गराएका थिए, जो आफ्नो पुरा जिन्दगी व्यवसायमा बिताएका थिए ।
यस पल्ट पनि ट्रम्पका साथ सत्तामा सहभागि हुने अर्बपतिहरुको नाम छलफलमा आइसकेको छ । यसमा एक्स (पुरानो ट्वीटर), एक्सेस–एक्स र टेस्लाका मालिक एलन मस्कको नाम शीर्ष स्थानमा छ । भारतीय मूलका अर्का प्रविधि उद्यमी विवेक रामास्वामी पनि मन्त्री बन्ने दौडमा रहेको बताइन्छ ।
अर्बपति नभए पनि ट्रम्प प्रशासनको क्याबिनेटमा स्थान पाउने दाउमा वातावरणीय वकिल रोबर्ट फ्रान्सिस केनेडी जुनियर पनि छन्, जो खोपको विरोधमा अभियान चलाउँदै आएका छन् । उनलाई अमेरिकामा ‘कन्सपिरेसी थ्योरी’ (षडयन्त्रकारी सिद्धान्त)का जानकार मानिन्छ । त्यस्तै अमेरिकी हिन्दु एवम् डेमोक्रेटिक पार्टी छाडेर रिपब्लिकन बनेकी तुल्सी गबार्ड पनि सत्ताको भर्याङ उक्लिने कोसिसमा छिन् ।
यी सबै नाममध्ये मस्क सबैभन्दा धेरै चर्चाको पात्र बनेका छन् । उनलाई अमेरिकी अर्थमन्त्री (सेक्रेटरी अफ द ट्रेजरी) जेनेट लुईस येलेनको उत्तराधिकारीको रुपमा पनि हेर्न थालिएको छ । ट्रम्प प्रशासनमा सत्तारोहण गर्ने सबैभन्दा प्रबल दाबेदार भनिएका मस्कको योग्यतामाथि भने प्रश्न उठाउन थालिएको छ ।
सार्वजनिक प्रशासनमा उनको अनुभव शून्य रहेको र निजी व्यवसायमा समेत उनी निर्विवाद एवम् सधैँ सफल नभएको भन्दै विपक्षी पार्टी र कतिपय रिपब्लिकनहरुले नै उनीप्रति सन्देह जनाएको पश्चिमा अखबारहरुले लेखेका छन् ।
राष्ट्रपति चुनावमा जीत हासिल हुनुअघि नै ट्रम्पले आफू ह्वाइटहाउस प्रवेश गरेमा एलन मस्कलाई ‘सरकारी दक्षता आयोग’ (गभर्नमेन्ट इफिसियन्सी कमिसन) चलाउन नियुक्त गर्ने बताएका थिए । उनले सम्पूर्ण संघीय सरकारको सबै वित्तीय एवम् कार्यदक्षता सम्बन्धि अडिट गर्ने र ‘कठोर सुधारका निम्ति सिफारिस गर्ने’ गरी एक कार्यदलको नेतृत्व गर्न मस्क तयार भएको खुलाएका थिए ।
तर अब परिस्थिति फेरिँदै गएको छ । ट्रम्प आफ्नो क्याबिनेटमा मस्कलाई राख्न उत्साहित देखिएको खबरहरु आएका छन् । केही दिन अघि मस्कले पनि एक्समा लेखेका थिए, ‘यदी मौका मिल्यो भने म अमेरिकाको सेवा गर्न इच्छुक छु । पैसा, पद र मर्यादा आवस्यक छैन ।’