इलोन मस्क र विवेक रामास्वामीलाई अमेरिकी सरकारको खर्च कटौति र संरचनागत सुधार गर्ने जिम्मा « Arthapath.com
२८ कार्तिक २०८१, बुधबार

इलोन मस्क र विवेक रामास्वामीलाई अमेरिकी सरकारको खर्च कटौति र संरचनागत सुधार गर्ने जिम्मा



काठमाडौँ । अमेरिकामा भर्खरै राष्ट्रपति निर्वाचित भएका डोनल्ड ट्रम्पले विश्वका सबैभन्दा धनि व्यक्ति इलोन मस्क र रिपब्लिकन पार्टीका नेता विवेक रामास्वामीलाई सरकारको बजेट कटौती गर्ने एवम् सार्वजनिक प्रशासनको प्रभावकारितामा सुधार गर्ने गरी नयाँ निकाय खडा गर्न जिम्मा दिएका छन्।

उनीहरूलाई संयुक्त राज्य अमेरिकाको स्थापनाको २५०औँ वार्षिक समारोहअघि नै अपांसाङ्गिक नियम कानूनहरू कटौती गर्ने र सरकारी खर्च घटाउने जिम्मेवारी दिइएको छ। आगामी ४ जुलाई २०२६ मा अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ मनाउँदै छ । यसरी सन् २०२६ को जुलाईसम्मको समयसीमा पाएका उनीहरूको कार्यकाल त्यसपछि के हुन्छ भन्ने प्रष्ट छैन।

मस्कले यसअघि ट्रम्पको समर्थनमा आयोजित चुनाबी सभाहरुमै अमेरिकी सरकारको संघीय बजेटलाई झण्डै एक तिहाइ हाराहारी कटौति गर्न सकिने भन्दै आएका थिए । भारतीय मूलका अमेरिकी रामास्वामीले पनि आक्रामक रुपमा जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, ‘हामी नरम रुपमा प्रस्तुत हुने छैनौँ ।’

ट्रम्पले फक्स न्यूजका प्रस्तोता पिट हेग्सेथलाई आफ्नो प्रशासनको भावी रक्षा मन्त्रीमा मनोनयन गरेका छन्। विगतमा अमेरिकी न्याश्नल गार्डमा सेवा गरेका उनी अफगानिस्तान र इराकमा पनि खटिएका थिए। ट्रम्प प्रशासनमा उनले स्थान पाउन सक्ने अड्कलबाजी भए पनि रक्षा मन्त्री बन्छन् भन्ने अनुमान चाहीँ कमैमात्र थियो ।

ट्रम्पले अमेरिकी गुप्तचर निकाय सीआईएको प्रमुखमा जन र्‍याट्क्लिफ र चीनका कटु आलोचक रहेका फ्लोरिडाका सांसद माइक वाल्सलाई राष्ट्रिय सुरक्षा सल्लाहकार मनोनयन गरेका छन्।

उनले क्रिस्टी नोमलाई आन्तरिक सुरक्षा हेर्ने डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटी प्रमुख (गृहमन्त्री) नियुक्त गर्ने निर्णय पनि गरेका छन्।

ट्रम्पले आर्कान्सा राज्यका पूर्वगभर्नर माइक हकबीलाई इजरेलका लागि अमेरिकी राजदूत र व्यापारी स्टीभन विट्कोफलाई मध्यपूर्वका लागि विशेष दूत बनाउने निर्णय गरेका छन्। यसअघि उनले न्यूयोर्कबाट सांसद निर्वाचित एलिज स्टिफ्यानिकलाई संयुक्त राष्ट्रसङ्घमा अमेरिकी दूत छानेका थिए।

मस्क र रामास्वामी के भन्छन्

सरकारको खर्च र नियमहरू कटौती गर्न नयाँ निकाय गठन गर्न लागिएको पुष्टि गर्दै सार्वजनिक भएको ट्रम्पको विज्ञप्तिमा मस्कलाई उद्धृत गरिएको छ। विज्ञप्तीमा भनिएको छ, ‘यसले सरकारलाई घाटा पुर्‍याउन संलग्न हुने जो कोही मानिसहरुलाई प्रणालीबाट झट्का दिने छ।’

ट्रम्पले मस्क र रामास्वामीको प्रशंसा गर्दै ती दुई जनाले मिलेर ‘सेभ अमेरिका’ आन्दोलनका लागि अनिवार्य रहेको ‘सरकारी कर्मचारीतन्त्रलाई भङ्ग गर्ने, अत्यधिक नियम र अनुत्पादक खर्च कम गर्ने अनि सङ्घीय निकायहरूको पुनर्संरचना गर्ने’ बाटो खोल्ने उल्लेख गरेका छन्।

“सम्भवतः यो हाम्रो समयको ‘म्यान्हटन प्रोजेक्ट’ हुने छ,” आफ्नो विज्ञप्तिमा ट्रम्पले दोस्रो विश्वयुद्धका दौरान प्रथम अणुबम बनाउने अमेरिकी परियोजना स्मरण गर्दै भनेका छन् ।

अहिले नै यो नयाँ निकायले कस्तो स्वरूप ग्रहण गर्छ स्पष्ट भइसकेको छैन तर यो सरकारको औपचारिक संरचनाभन्दा बाहिर हुने देखिन्छ।

“डिपार्टमन्ट अफ गभर्न्मन्ट इफिशिन्सीले सरकारबाहिर रहेर सुझाव र मार्गनिर्देशन दिने छ,” उनले भनेका छन्। यसले सरकारले कहिल्यै नदेखेको उद्यमशील अवधारणालाई स्थापना गर्ने उनको भनाइ छ।

विवरणहरुका अनुसार मस्कले ट्रम्पको निर्वाचन अभियानमा २० करोड अमेरिकी डलर चन्दा दिएका थिए। उनी ट्रम्पको चुनावी अभियानका एक मुख्य सहयोगी थिए।रामास्वामी भने रिपब्लिकन प्राइमरीमा ट्रम्पसँग पराजित भएका थिए। तर त्यसपछि उनले ट्रम्पलाई समर्थन गरे।

भारतीय मूलका यी अर्बपतिले अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबीआई खारेज गर्नेसहित कतिपय क्रान्तिकारी ‍परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन्।

मनोनयनमा मस्कको प्रभाव

मस्कले ट्रम्पका अजेन्डा अघि बढाउन आफूले लगानी गर्ने र आगामी कङ्ग्रेस निर्वाचनमा रिपब्लिकन उम्मेदवारहरूलाई सहयोग गर्ने वाचा गर्दै आएका छन्।

मस्क र ट्रम्प सधैँ साझेदार थिएनन्। सन् २०२२ मा मस्कले ट्रम्पप्रति कटाक्ष गर्दै उनले ‘जीवनको नयाँ अध्याय थाल्नुपर्ने’ बताएका थिए। ट्रम्पले भने आफ्नो पहिलो कार्यकालमा अनुदानका लागि ‘घुँडा टेकेर याचना गर्न’ मस्क तयार रहेको दाबी गरेका थिए।

तर पछिल्लो राष्ट्रपति निर्वाचन र यसको परिणामसम्म आइपुग्दा उनै मस्क राष्ट्रपति निर्वाचित ट्रम्पको निकटतम सहयोगीमध्ये एक बन्न पुगेका छन्।

गत जुलाईमा आयोजित एक आमसभामा हत्या गर्ने उद्देश्यले ट्रम्पमाथि गोली प्रहार भएको थियो। त्यसमा उनी जोगिए। उक्त घटनालगत्तै मस्कले ट्रम्पलाई समर्थन गरेका थिए र कम्तीमा १० करोड डलर चन्दा दिएका थिए ।

उनले रिपब्लिकन पार्टीका र्‍यालीहरूमा भाग लिएका थिए र मतदानको अन्तिम समय नजिकिँदा प्रतिस्पर्धात्मक ठानिएका राज्यहरूमा प्रत्येक दिन एक मतदातालाई १० लाख डलर दिने कार्यक्रम ल्याए। मतदातालाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोप लगाउँदै उक्त कदमलाई अदालतमा चुनौती दिइएको थियो।

मस्कले सन् २०२२ मा ट्विटर खरिद गरेपछि ट्रम्पलाई उक्त सञ्जालमा पुनः स्वागत गरेका थिए। मतदान सकिएको रात मस्क पनि ट्रम्प र उनको परिवारसँगै थिए। निर्वाचनमा जित हासिल गरेपछि ट्रम्पले केही मिनेट मस्कको प्रशंसा गर्ने क्रममा उनलाई ‘नयाँ नायक’ र ‘निकै प्रतिभाशाली’ भनेका थिए। तर ट्रम्प र मस्कबीच सबै कुरामा सहमति भने छैन ।

बीबीसी नेपाली र अन्य एजेन्सीको सहयोगमा ।


प्रतिक्रिया दिनुहोस्