युक्रेनी खानीमाथि अमेरिका र रूसको होडबाजी, युद्ध अन्त्य गर्न कत्रो मूल्य चुकाउँदै छ युक्रेन ?

तीन वर्षमा लाखौँ मानिसको ज्यान लिइसकेको युक्रेन युद्ध अन्त्य गर्ने सम्झौताका शर्तहरु कस्ता हुन्छन् भन्ने अझैसम्म स्पष्ट छैन । तर घटनाक्रमहरुले उसलाई ‘पहिलो विश्व युद्धको जर्मनी’ जस्तै बनाउने छाँटकाँट देखिएको छ ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका रुसी समकक्षीसँग ‘छिट्टै भेट्ने’ बताएका छन् । यो भेट साउदी अरबमा हुने छ । बुधबार ९० मिनेट लामो टेलिफोन वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा पनि यसबारे लेखेका छन् भने ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर पनि यही भनेका छन् ।
युरोपेली संघको मुख्यालय रहेको ब्रसेल्समा नेटो देशका रक्षामन्त्रीहरुको बैठक चलिरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको छ । उनले युक्रेनी राष्ट्रपतिसँग पनि करीब १ घण्टा लामो टेलिफोन वार्ता गरेर युद्ध रोक्ने दिशामा माहोल तयार पारेको बताएका छन् ।
अमेरिकाले ३ खर्ब डलरभन्दा बढीको मद्दत युक्रेनलाई दिइसकेको छ । तर युरोपेली नेताहरुले ट्रम्प सत्तामा आएसँगै ‘शान्तिवार्ता अघि नै रुसका साम्ने हतियार विसाएको’ आरोप लगाएका छन् ।
तर विकसित हुँदै गएका घटनाक्रमले यो युद्धबाट रुस र अमेरिका फाइदामा हुने देखिन्छ भने युक्रेनले ज्यादा मूल्य चुकाउनु पर्ने अवस्थाको अड्कल गर्न थालिएको छ ।
अमेरिकाले क्राइमियासहितको भूभाग युक्रेनलाई फिर्ता दिलाउने विषय ‘अव्यवहारिक’ भनेको छ । अमेरिका यस्तो प्रतिबद्धता गर्न थाल्ने हो भने फेरि पनि ठूलो जनधनको क्षति हुने र पुनः ब्यापक रगत बग्ने भएकाले अब यो ‘बेकारको युद्ध’ खतम गर्ने बेला आएको ट्रम्पले बताएका छन् ।

कसरी हुन्छ युद्ध अन्त्य ?
यो युद्ध अन्त्य हुँदा के कस्ता शर्त रहन्छन् र कस्तो खालको सम्झौता हुन्छ भन्ने कुनै सुनिश्चितता अहिलेसम्म छैन । तर यस युद्धमा युक्रेनले ‘धेरै चिज’ गुमाउनु पर्ने करिव निश्चित भएको आँकलन संसारभर भइरहेको छ ।
युक्रेनले आफ्नो भूभागको पाँचमध्ये एक भाग गुमाउने छ । यसबाहेक उसले युक्रेन युद्धका दौरान अमेरिकासँग लिएको ३ खर्ब डलरको मूल्य आफ्नो प्राकृतिक तथा खनिज स्रोतहरुबाट भुक्तान गर्नु पर्ने छ ।
युक्रेनसँग भएका खनिज स्रोतहरुमध्ये करीब ४० प्रतिशत अहिलेसम्म रुसी नियन्त्रणमा पुगिसकेको आँकलन भएका छन् । बाँकी खनिज भण्डारमाथि अब अमेरिकाले आफ्नो दाबी प्रस्तुत गरेको छ ।
यसका लागि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट बुधबार महत्वपूर्ण खनिज सम्झौताको बारेमा छलफल गर्न भनेर युक्रेनी राजधानी कीभ पुगेका छन् ।
युक्रेनको महत्वपूर्ण खनिज केहो र ट्रम्प यो किन चाहन्छन् ?
रूससँगको युद्ध खतरनाक कूटनीतिक मोडमा पुगेपछि युक्रेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन जित्ने प्रयास गरिरहेको बेला बेसेन्ट भने भोलोदिमीर जेलेन्स्कीकै ‘घर’ गएका हुन् ।
ट्रम्पले रूस विरुद्धको युद्धमा अमेरिकाले गरेको आर्थिक सहयोगको बदलामा युक्रेनले आफूहरुलाई भुक्तानी गर्नुपर्ने धारणा अघि सारेका छन् । यसका लागि युक्रेनले अमेरिकालाई दुर्लभ भू–खनिज (रेयर अर्थस् मेटल)हरू आपूर्ति गरोस् भन्ने उनी चाहन्छन् ।
रेयर अर्थस् र यो केका लागि प्रयोग हुन्छ ?
रेयर अर्थस् भनेको १७ धातुहरूको समूह हो जुन विद्युतीय सवारी साधन, सेल फोन, मिसाइल प्रणाली र अन्य इलेक्ट्रोनिक्सको लागि प्रयोग हुन्छ । यस्ता धातुहरु ‘शक्तिलाई गतिमा’ परिणत गर्ने चुम्बक बनाउन प्रयोग गरिन्छ । हालसम्म यसको कुनै व्यवहार्य विकल्प भेटिएको छैन ।
अमेरिकी भूगर्भ सर्वेक्षणले निकल र लिथियम जस्ता दुर्लभ धातुहरू सहित ५० खनिजहरूलाई महत्वपूर्ण मान्दछ । रक्षा, उच्च–प्रविधि उपकरणहरू, एयरोस्पेस र हरित ऊर्जा जस्ता उद्योगहरूको लागि पनि यी महत्वपूर्ण खनिजहरू आवश्यक छन् ।
युक्रेनमा कस्ता खनिज स्रोतहरू छन् ?

युक्रेनको तथ्याङ्क अनुसार, युरोपेली संघले महत्वपूर्ण रूपमा पहिचान गरेका ३४ खनिजहरूमध्ये २२ वटा खनिजको भण्डार युक्रेनमा छ । तिनीहरूमा औद्योगिक र निर्माण सामग्री, फलाम मिसिएका धातुहरु, बहुमूल्य एवम् फलामरहित (नन–फेरस) धातुहरू र केही दुर्लभ पृथ्वी तत्वहरू समावेश छन् ।
युक्रेनको भूगर्भ संस्थानका अनुसार, देशमा टिभी र प्रकाश व्यवस्थामा प्रयोग गरिने ल्यान्थेनम र सेरियम जस्ता रेयर अर्थस् इलेमेन्ट्स त्यहाँ पाइन्छ । वायुऊर्जाका टर्बाइन र विद्युतीय सवारीसाधन (ईभी) ब्याट्रीहरूमा प्रयोग हुने नियोडिमियम पनि त्यहाँ पाइन्छ ।
आणविक शक्तिदेखि लेजरहरूसम्म प्रयोग हुने एर्बियम र यिट्रियमको भण्डार पनि युक्रेनसँग छ । युरोफेली संघको आर्थिक सहयोगमा गरिएका अनुसन्धानले युक्रेनमा स्क्यान्डियम भण्डार रहेको पनि संकेत मिलेको छ ।
विश्व आर्थिक मञ्चले पनि युक्रेन लिथियम, बेरिलियम, म्याङ्गनीज, ग्यालियम, जिरकोनियम, ग्रेफाइट, एपेटाइट, फ्लोराइट र निकेलको प्रमुख सम्भावित आपूर्तिकर्ता भएको बताएको छ ।
द स्टेट जिओलोजिकल सर्भिसले युक्रेनसँग युरोपकै सबैभन्दा ठूलो लिथियम भण्डार रहेको बताएको छ, जुन ५ लाख मेट्रिक टन रहेको अनुमान छ , यो धातु ब्याट्री, सिसा र सेरामिक्स बनाउनका लागि महत्त्वपूर्ण छ ।
युक्रेनसँग टाइटेनियमको पनि ठूलै भण्डार छ, जुन प्रायः उत्तरपश्चिमी र मध्य क्षेत्रहरूमा पाइन्छ । जबकी, लिथियम देको केन्द्रभागका साथै पूर्व र दक्षिणपूर्वमा पाइन्छ ।
विद्युतीय सवारी साधनको ब्याट्री र आणविक रिएक्टरहरूमा मुख्य रुपमा प्रयोग हुने ग्रेफाइटको भण्डारका लागि युक्रेन ज्यादा महत्वपूर्ण छ । यो देश एक्लैले विश्वव्यापी ग्रेफाइट स्रोतहरूको २० प्रतिशत प्रतिनिधित्व गर्दछ । यसको भण्डार युक्रेनको मध्य र पश्चिम भागमा छ ।
युक्रेनमा कोइलाको पनि उल्लेखनीय भण्डारहरू छन् । यद्यपि अब यो क्षेत्रको धेरैजसो हिस्सा रूसको नियन्त्रणमा पुगिसकेको छ ।
युक्रेनले रेयर अर्थका बारेमा के भनेको छ ?
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गतहस्ता सामाचार संस्था रोयटर्सलाई भनेका थिए,— उनी ट्रम्पसँग सम्झौता गर्न तयार छन् । जसमा रेयर अर्थस् इलेमेन्टहरू सहित युक्रेनको महत्वपूर्ण र विशाल खनिज भण्डारको विकासका लागि अमेरिकी संलग्नता रहने छ ।
जेलेन्स्कीले गत शरद ऋतुमा ‘कीभका सहयोगीहरू’लाई प्रस्तुत गरिएको आफ्नो ‘विजय योजना’ रणनीतिसँगै उक्त प्रस्ताव पनि गरेका थिए । उनको प्रस्तावमा युक्रेनसँग भण्डारण रहेको खनिज पदार्थहरुको उत्खनन र विकासका निम्ति आफ्ना सहयोगी देशहरुसँग ‘सामूहिक सम्झौता’ गर्ने उल्लेख छ ।
खानी विश्लेषक र अर्थशास्त्रीहरूका अनुसार युक्रेनमा हाल कुनै पनि रेयर अर्थस् इलेमेन्टस् खानीहरु व्यावसायिक रूपमा सञ्चालनमा छैनन् । जबकी, ट्रम्पले व्यापार युद्ध छेडेको चीन अहिले विश्वको सबैभन्दा ठूलो दुर्लभ पृथ्वी धातु र अन्य धेरै महत्वपूर्ण खनिजहरूको उत्पादक हो ।
कस्ता युक्रेनी स्रोतहरू अझै पनि कीभको नियन्त्रणमा छन् ?
युद्धले युक्रेनलाई व्यापक क्षति पुर्याएको छ । क्राइमिया सहित जोड्ने हो भने अब युक्रेनको पाँचमध्ये एक भाग रूसको नियन्त्रणमा पुगेको छ । युद्ध अघि स्टील उद्योगलाई सशक्त बनाउने युक्रेनको विशाल कोइला भण्डारको अधिकतर हिस्सा पूर्वमा केन्द्रित थियो, जुन अब उसले गुमाइसकेको छ ।
सन् २०२४ को पूर्वार्धसम्मको तथ्याङ्क उद्धृत गर्दै युक्रेनी थिंक–ट्याङ्कहरू ‘वी बिल्ड युक्रेन’ र ‘नेशनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडीज’ले गरेको अनुमान अनुसार, युक्रेनको धातु स्रोतहरूको लगभग ४० प्रतिशत अब रूसी कब्जामा थियो ।
तर त्यसपछि पनि रूसी सेना पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रमा निरन्तर अगाडि बढिरहेको छ । जनवरीमा युक्रेनले पोक्रोेभस्क शहर बाहिरको आफ्नो एक कोइला खानी बन्द गर्यो, जुन मस्कोको सेनाले कब्जा गर्न खोजिरहेको छ ।
युद्धको समयमा रूसले कम्तिमा दुई युक्रेनी लिथियम भण्डारहरू कब्जा गरेको छ । यसमध्ये एउटा डोनेट्स्कमा र अर्को दक्षिणपूर्वको जापोरिज्झिया क्षेत्रमा छ । यद्यपि, किरोभोह्रादको मध्यक्षेत्रमा रहेका लिथियम भण्डारहरू अझै पनि कीभकै नियन्त्रणमा छ ।
जुलाई ५, २०२२ सम्म रूसले कब्जा गरेको भूभागमा भएका खनिजको परिमाण :

युक्रेनले कस्ता खानीका अवसरहरू प्रदान गर्छ ?
गत जनवरीमा युक्रेनका प्रथम उप–अर्थमन्त्री ओलेक्सी सोबोलेभले ‘सरकारले महत्वपूर्ण स्रोतको दोहनसँग सम्बन्धित परियोजनाहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र इटाली लगायत पश्चिमी सहयोगीहरूसँग सम्झौता गर्ने तयारी गरिरहेको’ बताएका थिए ।
त्यहाँको सरकारले सन् २०३३ सम्ममा यस क्षेत्रको कुल लगानी क्षमता लगभग १२ देखि १५ अर्ब डलर हुने अनुमान गरेको छ । तर अहिले ट्रम्पले अघि सारेको कदम हेर्दा उनी युक्रेनी खनिज स्रोतहरुमा यस प्रकारको ‘सामुहिक पहूँच’ होइन, अमेरिकाको ‘एकल नियन्त्रण’ चाहन्छन् ।
द स्टेट जिओलोजिकल सर्भिसले यसरी संयुक्त रूपमा लाइसेन्स दिन र विकास गर्न त्यहाँको सरकारले लगभग १०० साइट (इलाका)हरू तयार गरिरहेको बताए पनि थप विवरणहरू उपलब्ध गराएको छैन ।
युक्रेनमा उच्च दक्षता भएका र अपेक्षाकृत सस्तो श्रमशक्ति छ । विकसित पूर्वाधार पनि छ । तै पनि लगानीकर्ताहरूले लगानीमा धेरै अवरोधहरू रहेको बताउँदै आएका छन् । यसमा अकुशल र जटिल नियामकीय प्रक्रियाहरूका साथै भौगोलिक डेटामा पहुँच पाउन मुस्किल हुनु र जग्गा प्राप्ति गर्न कठिनाइ हुुनुजस्ता कारण समावेश छन् ।
त्यस्ता परियोजनाहरू विकास गर्न वर्षौं लाग्ने र ज्यादै धेरै अग्रीम लगानी आवश्यक पर्ने पनि उनीहरूले बताएका छन् ।
-एजेन्सीहरुको सहयोगमा ।