अमेरिका–चीन व्यापार सम्झौता : उचालियो सेयर बजार, सुनको मूल्यमा भारी गिरावट « Arthapath.com
२९ बैशाख २०८२, सोमबार

अमेरिका–चीन व्यापार सम्झौता : उचालियो सेयर बजार, सुनको मूल्यमा भारी गिरावट



काठमाडौं । अमेरिका–चीन ट्यारिफ सम्झौता भएसँगै विश्व बजार सोमबार उत्साहित देखिएको छ । अमेरिका र चीनबीच जिनेभामा सम्पन्न उच्चस्तरीय वार्तापछि दुवै देशले पछिल्लो समय एकअर्कामाथि लगाइएका पारस्परिक ट्यारिफहरू हटाउने सहमति जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रिल २ तारिखको ट्यारिफ अभियानपछि लागू भएका सबै शुल्कहरू हटाइने भएको छ।

अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टले दुवै पक्ष ९० दिनको अवधि भित्र कुनै नयाँ व्यापार प्रतिबन्ध नलगाउने र ट्यारिफ दर ११५ प्रतिशतले घटाउन सहमत भएको बताए ।

सम्झौताको खबरसँगै वित्तीय बजारमा तुरुन्तै सकारात्मक प्रतिक्रिया देखियो। सेयर बजार उकालो लागेको छ भने सुनको मूल्य घटेको छ ।

संयुक्त राज्य अमेरिकाको सेयर बजार (वाल स्ट्रीट स्टक फ्युचर्स) एस एण्ड पी-५००२.६% ले उकालो लाग्यो । टेक–केन्द्रित नासड्याक १०० को फ्युचर्स ३.८% ले उकालो लाग्यो। चीनको हङकङ स्थित सेयर बजार ह्याङ सेङ इन्डेक्स ३% ले उकालो लाग्यो, र प्रविधि स्टकहरूमा झनै तीव्र वृद्धि देखियो — हङकङको प्रविधि स्टक सूचकांक ६% ले बढेको थियो।

युरोपेली बजारहरू पनि सम्झौताको सकारात्मक प्रभावले प्रभावित भए । जर्मनीको ड्याक्स सेयर सूचकांक १.५% ले वृद्धि हुँदै इतिहासकै उच्चतम स्तर मा पुग्यो। युरोपको साझा क्षेत्रीय सूचक स्टोक्स-६०० १.१% ले बढ्यो। इटालीको फिट्सी एमआईबी सूचकांक २% ले वृद्धि भई सन् २००७ पछि पहिलोपटक उच्चतम बिन्दुमा पुगेको हो।

लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिहरू छाड्दै जोखिमपूर्ण सेयरहरूमा आकर्षण देखाए । सो सँगै सुनको मूल्य ३ प्रतिशतले घट्यो । तेलको भाउ ३ प्रतिशतभन्दा बढीले उकालो लाग्यो ।
अमेरिकी डलर बलियो बन्यो भने जापानी येन र यूरो डलरको तुलनामा क्रमशः १.५% र १.१% ले कमजोर बने। चीनको युआन ६ महिनापछि अमेरिकी डलरको तुलनामा सबैभन्दा बलियो अवस्थामा पुगेको छ। य

अमेरिकी बजारहरू फेरि अप्रिल २ अघिकै स्तरमा फर्किएका छन्। युक्रेन र रुसबीच सम्भावित वार्ता र भारत–पाकिस्तानबीच युद्धविरामजस्ता अन्य भू-राजनीतिक सकारात्मक समाचारहरूले पनि बजारलाई सघाएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्