कतारबाट किन विमान उपहार लिँदैछन् अमेरिकी राष्ट्रपति ट्रम्प ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

कतारबाट किन विमान उपहार लिँदैछन् अमेरिकी राष्ट्रपति ट्रम्प ?



अमेरिकी इतिहासकै महँगो उपहार । 

न्यूर्योक । जतिसुकै धनी, दुनियाँको नजरमा सक्षम भए पनि लोभ–लालचाको सीमा नहुने रहेछ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जिडिपीको हिसाबले विश्वमा बिसौँ नम्बरमा समेत नपर्ने कतारबाट एउटा बोइंग ७४७ विमान उपहार बडो गर्वसाथ स्वीकार गर्दै छन् । यो अमेरिकी इतिहासकै महँगो उपहार हो, जुन कार्य नैतिकता विपरीत हुने भन्दै संसद्को दुवै सदनमा आवाज उठिरहेको छ । 

ट्रम्प आफैँमा अर्ब पति हुन् । यिनका अघिल्तिर–पछिल्तिर श्रमजीवी भन्दा अर्ब पतिकै भीड हुन्छ । विश्वकै एक नम्बरका अर्ब पति ईलोन मस्कले त आर्थिक सहायता चुक्ता गर्न सरकारमा नयाँ विभाग खडा गरेर नियुक्ति पाएका छन् । 

ट्रम्पसँग ‘ट्रम्प फोर्स’ नामक आफ्नै विमान पनि छ । तर यिनले कतारसँग ४० करोड डलर मूल्य पर्ने अनुमान गरिएको विमान बडो गर्वसाथ स्वीकार गर्नुले लोभ–लालचाको सीमा असीमित हुँदो रहेछ भनेर पुष्टि भएको छ । 

– बोइंग कहाँ बन्छ ? अमेरिकाको वासिंगटन राज्यको रेन्टनमा । 

– संसारभरि बोइंगको बजार प्रवद्र्दनमा कसले सघाउँछ ? अमेरिकी सरकारले । 

अमेरिकामा बनेको विमान, जसलाई कतारले किनेको थियो । त्यही विमान राष्ट्रपतिले उपहार लिने कुरा नैतिकतासँग मिल्दोजुल्दो छैन । त्यही भएर विरोध भइरहेको छ । फेरि यो विमानलाई स्वीकार गरेपछि पनि सुरक्षाका कारण, अपग्रेड गर्नुपर्ने हुँदा अर्को दुई वर्ष प्रयोग गर्न मिल्दैन भनेर आवाज उठिरहेको छ । 

अहिले राष्ट्रपतिले चढ्ने एअर फोर्स–वान विमान पुरानो र इन्धन किफायती नभएको हुँदा नयाँ अर्डर गरेको केही वर्ष भैसकेको छ । तर विमान, त्यो पनि बोइंगले बनाउन छाडिसकेको ७४७ मोडलको डबल डेकर, नयाँ र अत्याधुनिक सुरक्षा र प्रविधि जडान गर्नुपर्ने कारण निर्माणमा ढिलाइ भइरहेको छ । विमान भनेको बजारमा गएर छानेर किन्न पाइने चिज होइन, वर्षौँ अघि अर्डर गर्नुपर्छ । तर ट्रम्पलाई तत्काल चाहिएको छ । राष्ट्रपति हुनासाथ गत फेब्रुअरीमा ट्रम्पले थर्काउँदै तुरुन्त बनाउन आदेश गरे । जुन कुरा सम्भव छैन ।

आफ्नै देशमा बनेको विमान, त्यो पनि अमेरिका भन्दा सानो अर्थतन्त्र भएको देशसँग उपहार !

धनी र शक्तिशाली भए पनि मानिसको लोभको असीमितता, नैतिकताको प्रश्न कतारी बोइंग ७४७ ले संसारभरि छाडेको छ । तर यता पनि ट्रम्पको देवत्व करण भइरहेको बेलामा ती कुरा कसले र किन ख्याल गर्थे र ? 

(रामचन्द्र भट्टको फेसबुकबाट साभार, तस्विरः सटरस्टक डट कम)


प्रतिक्रिया दिनुहोस्