ट्रम्प प्रशासन छाेड्ने एलन मस्ककाे घाेषणा, टेस्ला र स्पेसएक्समा ध्यान केन्द्रीत गर्ने

एजेन्सी । एलन मस्कले अमेरिकी संघीय प्रशासनलाई प्रभावकारी बनाउने क्रममा हजारौँ संघीय रोजगारी कटौती भएको एक अस्थिर अभियानमा नेतृत्व गरेपछि ट्रम्प प्रशासनबाट बाहिरिने घोषणा गरेका छन्।
विश्वकै धनाड्य एलन मस्कले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्टमार्फत यस्तो घोषणा गर्दै सरकारी कार्यक्षमता विभाग सञ्चालन गर्ने अवसर दिएकोमा ट्रम्पलाई धन्यवाद व्यक्त गरे ।
ह्वाइट हाउसले बुधबार रातिदेखि एलन मस्कलाई विशेष सरकारी कर्मचारीको रूपमा ‘अफबोर्ड’ गर्ने प्रक्रिया सुरु गरेको बीबीसीले उल्लेख गरेको छ।
यो समयमा उनले हजारौँ कर्मचारी कटौति, सरकारी निकायहरुको निष्काशन गरेका थिए भने थुप्रै कानुनी विवादहरू भएको थिए। ती सबै हलचलका बाबजुद, अरबपति मस्कलाई वाशिङ्टनको अपरिचित वातावरणमा संघर्ष गर्नु परेको थियो र उनले आशा गरेभन्दा निकै कम उपलब्धि हासिल गरेका छन्।
उनले खर्च कटौतीको लक्ष्यलाई नाटकीय रूपमा घटाए, २ ट्रिलियन डलरबाट घटाएर १ ट्रिलियन र अन्ततः १५० अर्ब डलरसम्म पुर्याए र आफ्नो लक्ष्यहरूमा आएको विरोधप्रति निरन्तर निराशा व्यक्त गरे।
उनको भूमिका अस्थायी थियो र उनको बहिर्गमन अप्रत्याशित होइन। तर यो निर्णय मस्कले ट्रम्पको मुख्य कानुनी एजेन्डाको आलोचना गरेको भोलिपल्ट आएको हो। उनले एक अन्तर्वार्तामा ट्रम्प बजेट विधेयककाे आलोचना गर्दै बजेट विधेयकप्रति निराश भएको बताएका थिए। उक्त विधेयकले बहु-ट्रिलियन डलर कर कटौती र रक्षा खर्चमा वृद्धि प्रस्ताव गर्दछ।
मस्कले यसअघि पनि थुप्रै पटक आफ्नो सम्पूर्ण समय टेष्ला र रकेटकम्पनी स्पेसएक्सलाई दिने बताइसकेका छन् ।