दक्षिण कोरियामा कुकुरको मासु खान प्रतिबन्धित

काठमाडौँ । दक्षिण कोरियाका कुकुर पालक किसानले सन् २०२७ को फेब्रुअरीभित्र आफ्ना खोरमा भएका सबै कुकुर बेचिसक्नुपर्ने र आफ्नो व्यवसाय बन्द गर्नुपर्ने भएको छ ।
त्यहाँको सरकारले सन् २०२४ मा कुकुरको मासु विक्री वितरणमाथि देशव्यापी प्रतिबन्ध लगाएको थियो । गत जनवरीमा पारित भएको नयाँ कानुनले त्यहाँका कुकुर किसानहरूलाई अप्ठेरो पर्न थालेको छ ।
ती किसानले अबको करीब १८ महिनाभित्र आफ्ना खोरहरु रित्याएर पेशा बन्द नगरेमा दुई वर्षसम्मको जेल सजायँ हुनसक्छ ।
तर कतिपय कोरियालीले पुस्तौँदेखिको व्यवसायलाई चरणबद्ध ढङ्गबाट अन्त्य गर्न त्यो समय अपुग भएको बताइरहेका छन्। त्यस्ता किसानसँग अहिले पनि मासु खानकै लागि भनेर पालिएका करिब पाँच लाख कुकुरहरू रहेको बताइन्छ ।
सरकारले कुकुरको मासुमा प्रतिबन्ध लगाएसँगै त्यहाँ ६ महिनायता कुकुरको माग ह्वात्तै घटेको बताइएको छ । त्यसैले नबिकेर बसेका कुकुरहरु अब कसरी व्यवस्थापन गर्ने भन्ने कुनै योजना नभएकोप्रति किसान रुष्ट देखिएको खबरहरु आएका छन् ।
‘कुकुरको मासुमा प्रतिबन्ध लगाउने कानुन त पारित भयो, तर सरकार तथा नागरिक समूह अझै पनि बाँकी कुकुरको कसरी उद्धार गर्ने भन्ने बारे अन्योलमा छन्’ ह्युमेन वर्ल्ड फर एनिमल्स कोरिया ९ह्वाक०का अभियान व्यवस्थापक लि साङ्क्यङलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
बीबीसीका अनुसार प्रतिबन्ध घोषणा भएयता कोरियाका १५३७ कुकुर पाल्ने फार्महरूमध्ये ६२३ वटा बन्द भइसकेका छन्। सरकारले सन् २०२४ मा गरेको एक मत सर्वेक्षणमा जम्मा ८ प्रतिशतले मात्र गएको १२ महिनामा कुकुरको मासु खाएको बताए। सन् २०१५ मा त्यस्तो सङ्ख्या २७ प्रतिशत थियो।
कुकुरको मासु खाने दर कोरियाको इतिहासमा तलमाथि भइरहेको देखिन्छ तर पछिल्ला वर्षमा दक्षिण कोरियामा यो सामाजिक रूपमा वर्जित जस्तो बन्दै गइरहेको छ।