बहुप्रतिभाका धनी: तुलसीनारायण डङ्गोल « Artha Path
३० श्रावण २०७६, बिहीबार

बहुप्रतिभाका धनी: तुलसीनारायण डङ्गोल



फुर्पा तामाङ
मलाई बेत्रावती बजारमा गाईजात्रा पर्व मनाउने फरक संस्कृति देखेर रमाइलो लाग्छ । नेवार, बाहुन, क्षेत्री, मगर सबै जातजातिका मानिसहरू मिलेर गाईजात्रा पर्व मनाउँछन् । जातीय, धार्मिक, सांस्कृतिक सहिष्णुता र सामाजिक सद्भाव झल्किने दृश्य त्यहाँ देख्न सकिन्छ । तर, लाखे भने नेवार जातिले मात्रै नाच्ने परम्परा रहेछ । उत्तरगया (धाम) को किनार बेत्रावतीनिवासी बहुप्रतिभाशाली व्यक्तित्व तुलसीनारायण डङ्गोलसँग यसपालिको गाईजात्रा आउनुअघि भेट भयो । उनीसँग भएको कुराकानीको सम्पादित अंश तल प्रस्तुत गरिएको छ ः


(क) परिचय ः

मेरो नाम तुलसीनारायण डङ्गोल हो । उमेर ७० । मैले १० कक्षा उत्तीर्ण गरेको छु । बाबुको नाम राममणि डङ्गोल । बाजे कृष्णबहादुर डङ्गोल । मेरा एक दाजु, २ दिदी हुनुहुन्छ । घरमा म, श्रीमती, दुई छोरा/बुहारी र एक नाति गरेर सातजना छौँ । पुख्र्यौली काठमाडौं ब्रह्मटोलका नेवार । वि.सं. १८३५/३६ सालमा तीन भाइ आएकोमा जेठो र माइलो रसुवा—नुवाकोटदेखि पश्चिमतिर लागेको र कान्छो भाई बेत्रावतीमा बसेको । हामी उहाँका सन्तान । बेत्रावतीमा डङ्गोल नेवारहरू ५० घरधुरी र जनसङ्ख्या दुई सय पुगेको छ । पुर्खाले काठमाडौंमा दुःख पाएर काम खोज्दै यहाँ आएका रे । सुगर, दम र उच्च रक्तचापले समातेको २–३ वर्ष लाग्यो । तैपनि बलियो नै छु ।


(ख) गीतकार÷

गायककार÷सङ्गीतकार ः मलाई गीत–सङ्गीतमा असाध्यैं रुचि छ । बैंसमा निकै गाएको, नाचेको छु । पुराना दिन सम्झिँदा निकै रमाइलो लागेर आउँछ । अब सम्झिने मात्रै हो । बुढ्यौली लाग्यो । यी दाँत झरिसके । कपाल सेतै फुलेको छ । उमेरले पाको हुँदै गएपछि भजनलेखन र गायन दुवै गरेको छु । मेरो पहिलो गीत अलिकति गाएर सुनाउँछु– ‘मलाई तिम्रो मायाले गर्दा बैंसालु जोवन, दिल बस्यो धुन्चेमा च्याटै…’
यो गीत मैले पञ्चायती कालमा धुन्चेमा प्रहरी कार्यक्रम हुँदा लेखेर गाएको हुँ । उसबेला गीत गाउने र सङ्गीत बजाउने मानिस बिरलै हुन्थ्यो । मेरो अन्तिम गीत पनि यस्तो छ–
‘मेटिएन तृष्णा अझै यो मनको, लागिरहन्छ झझल्को गाको जोवनको…’ ।

मैले जम्माजम्मी ४० वटा झ्याउरे भाकामा गीतहरू लेखेर सङ्गीत दिएको छु । २०२५–०२९ सालमा झ्याउरे भाकाको गीत गाउँदा यो क्षेत्रमा निकै लोकप्रिय हुँदै गएपछि विशेषगरी केटीहरूले मलाई निकै मन पराए । मलाई देख्नासाथ केटीहरू यसरी गाउँथे–‘भुइँको धुलो पानीको कुलो, झ्याउरे गीतमा दाइको छ नाम ठूलो’ ।

केटाहरू भने यो तुलसीलाई मात्र केटीहरूले मन पराउन थाले भनेर खुब डाहा गर्थे । मैले दोलखाली नेवारको गीत पनि गाएको छु (उनले गाएर सुनाए) । तामाङ भाषा पनि बोल्छु । मेरो भजनसङ्ग्रह २०७० प्रकाशित भएको छ । यसमा १०९ वटा भजन रहेका छन् । दोस्रो भजनसङ्ग्रह प्रकाशनको तयारी पनि हुँदै छ । म हारमोनियम र मादल पनि बजाउँछु ।

(ग) नाच सिकाउने गुरु ः

मैले नाच पनि सिकाएँ । नेपाली भाषामा धुन्चेमा गीत गाउनु, लेख्नु, नाच्न सिकाउनु सजिलो थिएन । वाद्यवादन पनि बजाउनुपथ्र्यो । मैले वि.सं. ०४० देखि ०४४ सालसम्म धुन्चेमा बसेर राजा वीरेन्द्रको जन्मोत्सव मनाउन विद्यार्थीलाई नाच्न सिकाएको छु । काठमाडौंबाट राजारानी, प्रधानमन्त्री, मन्त्रीहरू रसुवा सवारी हुँदा नाचगान देखाउनुप¥यो भने नाच्न, गाउन र सङ्गीत बजाउन मलाई निम्तो आउँथ्यो ।

(घ) जागिरे जीवन ः

मैले पहिलो जागिर वि.सं. ०३१–३२ सालमा जिल्ला प्रशासन कार्यालयमा सहलेखापाल भएर गरेको छु । ०३२–०३९ सम्म सार्वजनिक निर्माण शाखामा सहलेखापाल । ०४०–४१ सम्म वर्गीय सङ्गठन कार्यालयमा नायबसुब्बा । ०४० सालमा जागिरबाट राजीनामा दिएर राजनीति क्षेत्रमा प्रवेश । ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य पदको उम्मेदवार । ०४४ सालमा रसुवा जिल्ला किसान सङ्गठनको सभापति । सुरुको मासिक तलब १ सय ५० र अन्तिम तलब ८ सय २० ।


(ङ) राजनीतिबारे टिप्पणी ः

राणाशासन ढल्नु एक वर्षअघि जन्मेको । पञ्चायत, बहुदल, लोकतन्त्र र सङ्घीय गणतन्त्र देखेको, भोगेको अनुभवको तुलना गर्दा उनलाई सङ्घीय गणतन्त्र राम्रो लाग्यो । अहिले स्थानीय सरकारले आफ्नो योजना आफैँले बजेटसहित बनाउने रहेछ । केन्द्रको मुख ताक्नुपर्दैन । उहिले रसुवा जिल्लाभरिको कुल बजेट २५ लाख हुन्थ्यो । अहिले वडाको बजेट योभन्दा बढी छ । विकास नै राजनीति भन्थे, हो रहेछ । व्यवस्था पञ्चायत पनि नराम्रो होइन । व्यवस्था हाँक्ने चालक राम्रो हुनुपर्छ ।
(च) सामाजिक परिवर्तनबारे टिप्पणी ः

पहिलेको समाज अलि अप्ठ्यारो थियो । पाको उमेरलाई कान्छो उमेरकाले ठाडो कुरा गर्न हुन्नथ्यो । बोली, वचन र ढङ्ग सबै पु¥याउनुपर्दथ्यो । अहिलेको समाज धेरै विकसित छ । समानतामा आधारित हुँदै गएको छ । मलाई यस्तो समाज मन पर्छ । मानिसले मानिसलाई सम्मान र आदर गर्न सिक्नुपर्छ ।
(छ) मन पर्ने ठाउँ ः

मलाई रसुवाको सबै गाउँठाउँ मन पर्छ । तैपनि गोसाइँकुण्ड धेरै मन पर्छ । त्यहाँ पुगेपछिको आनन्द छुट्टै छ । शब्दमा व्यक्त गर्न सक्दिनँ । तर, मलाई असाध्यं रमाइलो र आनन्द अनुभूति भएको छ ।
(ज) सम्झिरहने साथीहरू ः

धेरै साथीहरू भए । कृष्ण बैरागी (मास्टर), होमप्रसाद प्रधानाङ्ग (मास्टर), मधुसुधनप्रसाद गोर्खाली (सिडियो), पशुपति प्रधान (गाउँ पञ्चायत सचिव) र राजनीति गर्नेमा दावा फिन्जो तामाङ (सानो भार्खु) लाई सम्झिन्छु ।
(झ) उत्तरगयाधामबारे टिप्पणी ः

उत्तरगया (धाम)क्षेत्र विनाश हुनबाट जोगिएकोमा अहिले धेरै खुसी छु । हामी यो क्षेत्रका धेरै स्थानीयवासी दुःखी थियौँ । अब डिजाइन परिवर्तन भएको बुझिएको छ । यो राम्रो कुरा हो । विकास होस्, तर धार्मिक, आध्यात्मिक र सांस्कृतिक क्षेत्रहरू विनाश हुने गरी कुनै पनि विकास संरचनाहरू नबनाइयोस् ।
(ञ) तपाईं डङ्गोल कि डङोल ? ः

खासमा असली त डङोल हो । अपभ्रंश भएर डङ्गोल भएको हो । हिजोआज सबैले डङ्गोल लेख्छन् । पुराना सबै परिवर्तन गर्दै छन्, हुँदै गएका छन् । उहिले तपाईंहरूको पनि तमाङ लेखिन्थ्यो नि । अहिले सबैले तामाङ लेख्न थालेको देख्छु । यो ठाउँको पुरानो नाम बेत्राती हो । बेत्रा+मती=बेत्रामती हो । बेत्रामतीको अपभ्रंश बेत्रावती हुन गयो ।

अधिवक्ता ठूलो भार्खु, रसुवा


प्रतिक्रिया दिनुहोस्