आयात १८ र निर्यात ३३ प्रतिशतले घट्यो, व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

आयात १८ र निर्यात ३३ प्रतिशतले घट्यो, व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को चार महिनामा आयात घटेको छ । चालु आवको कात्तिक मसान्तसम्ममा आयात १८.०८ प्रतिशतले घटेको हो ।

भन्सार विभागले हालै प्रकाशित गरेको तथ्याङ्क अनुसार चार महिनामा आयात घटेर ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार रुपैयाँमा सिमित भएको छ । तर, गत वर्षको सोही अवधिमा भने ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख १३ हजार रुपैयाँ बराबरको बस्तु आयात भएको थियो ।

चालु आवको कात्तिक मसान्तसम्ममा नेपालको वस्तु निर्यातमा पनि गिरावट आएको छ । उक्त अवधिमा वस्तु निर्यात ३३.३० प्रतिशतले घटेको हो । भन्सार विभागका अनुसार गत आवको कात्तिक मसान्तसम्ममा ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । तर, यस वर्षको सोही अवधिमामा भने नेपालको वस्तु निर्यात घटेर ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपैयाँमा सिमित भएको छ ।

विभागको तथ्याङ्क अनुसार उक्त अवधिमा नेपालको वैदेशिक व्यापार घाटामा १५.८८ प्रतिशतले कमी देखिएको छ । योसंगै चालु आवको कात्तिक मसान्तसम्ममा नेपालको व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख ६५ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा भने यो घाटा ५ खर्ब ६८ अर्ब १७ करोड १८ हजार रुपैयाँ थियो ।

चालु आवको चार महिनामा नेपालको वैदेशिक व्यापारमा १९.७९ प्रतिशतले घटेको छ । योसंगै उक्त अवधिमा नेपालको वैदेशिक व्यापापार ५ खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख ९७ हजार रुपैयाँमा समित भएको छ । गत वर्षको कात्तिक मसान्तसम्ममा भने ७ खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख ८ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, उक्त अवधिमा आयात निर्यात अनुपात वृद्धि भएको छ । चालु आवको कात्तिक मसान्तसम्ममा आयात निर्यात ९.७३ पुगेको छ । तर गत वर्षको सोही अवधिमा यो अनुपात ७.९२ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्