युवा पलायनको डरलाग्दो ग्राफ: ९ वर्षमा सवा करोड नेपाली बाहिरिँदा साढे १९ लाख उतै हराए!
काठमाडौँ । नेपालबाट वैदेशिक रोजगारी, अध्ययन, भ्रमण तथा अन्य प्रयोजनका लागि विदेशिने नेपालीहरूको संख्या पछिल्ला वर्षहरूमा अत्यधिक बढेको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्क अनुसार सन् २०१७ देखि २०२५ सम्मको ९ वर्षको अवधिमा कुल १ करोड २५ लाख ८८ हजार १३ नेपाली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य अन्तर्राष्ट्रिय विमानस्थल हुन्दै विदेश उडेका हुन् ।
यस अवधिमा विदेशबाट स्वदेश फर्किने नेपालीहरूको संख्या १ करोड ६ लाख ४४ हजार ९४५ रहेको छ। यसरी हेर्दा ९ वर्षको अवधिमा विदेशिएका मध्ये १९ लाख ४३ हजार ६८ जना नेपाली स्वदेश फर्किएका छैनन् अर्थात् उनीहरू स्थायी-अस्थायी रूपमा विदेशमै बसेका छन्।
वर्षगत रूपमा हेर्दा कोरोना महामारीको समय (सन् २०२० र २०२१) मा बाहेक हरेक वर्ष नेपाल फर्कने भन्दा विदेशिने नेपालीको संख्या सधैँ उच्च देखिन्छ। सन् २०१७ मा ११ लाख ९७ हजार २९५ नेपाली विदेशिएकोमा ११ लाख ६३ हजार ९०७ जना स्वदेश फर्किएका थिए, जसले गर्दा ३३ हजारभन्दा बढी नेपाली बाहिरै रोकिए।
सन् २०१८ मा १२ लाख ६९ हजार ७२५ जना विदेशिँदा १२ लाख ६२ हजार ५९५ जना भित्रिए। तर, सन् २०१९ मा आइपुग्दा यो ग्राफ ह्वात्तै बढ्यो, जहाँ १३ लाख ८३ हजार ४२२ नेपाली बाहिरिँदा १२ लाख ६० हजार २८९ जना मात्र स्वदेश फर्किए । सन् २०१८ मा एकै वर्ष १ लाख २३ हजारभन्दा बढी नेपाली विदेशमै राेकिए ।
विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा भने देशको अध्यागमन व्यवस्थामा फरक दृश्य देखियो। महामारी र लकडाउनका कारण अन्तर्राष्ट्रिय उडानहरू बन्द हुँदा सन् २०२० मा ३ लाख ८७ हजार ९१४ र सन् २०२१ मा १ लाख ९१ हजार ८२२ नेपाली मात्र विदेश प्रस्थान गरे।
सो समयमा विदेशमा रोजगारी गुमाएर वा असुरक्षित भएर स्वदेश फर्कनेको संख्या बढी हुँदा सन् २०२० मा ४ लाख ९१ हजार ४४८ र सन् २०२१ मा २ लाख २२ हजार ५५९ नेपाली नागरिक नेपाल भित्रिएका थिए। यो दुई वर्षको अवधिमा विदेशिनेभन्दा नेपाल फर्कने नेपालीहरूको संख्या झण्डै १ लाख ३४ हजारले बढी थियो।
महामारीको अन्त्यसँगै सन् २०२२ बाट नेपालीहरू विदेशिने क्रमले पुनः तीव्र गति लियो, जसले पुराना सबै रेकर्डहरू तोडिदियो। सन् २०२२ मा १४ लाख २९ हजार ५४६ नेपाली विदेशिँदा १० लाख ३६ हजार ८८७ जना मात्रै फर्किए। २०२२ मा एकै वर्ष झण्डै ३ लाख ९२ हजार नेपाली बाहिरै रोकिए।
यो लहर सन् २०२३ मा अझ बढेर १६ लाख ३ हजार ८३३ प्रस्थान र १२ लाख ६३ हजार ४६९ आगमनमा पुग्यो, जसको अन्तर ३ लाख ४० हजारभन्दा बढी थियो। सन् २०२४ मा पनि १७ लाख १४ हजार ५१५ नेपाली बाहिरिँदा १४ लाख ५ हजार ७८९ जना मात्रै स्वदेश फर्किएको तथ्याङ्क छ।
गत वर्ष अर्थात् सन् २०२५ को तथ्याङ्कले नेपालबाट जनशक्ति बाहिरिने क्रम झनै डरलाग्दो बनेको छ। उक्त वर्ष इतिहासकै सबैभन्दा बढी अर्थात् १७ लाख २८ हजार ७८८ नेपाली नागरिकले विदेशका लागि उडान भरेका छन्।
सोही वर्ष १५ लाख ८ हजार २५८ जना नेपाली स्वदेश फर्किए पनि २ लाख २० हजारभन्दा बढी नेपाली भने बाहिरै रोकिएका छन्।
कोरोनापछिका यी चार वर्षमा मात्रै संचित रूपमा १२ लाखभन्दा बढी नेपालीहरू देश बाहिरै रोकिनुले युवाहरूको स्वदेशप्रतिको निराशालाई प्रष्ट पारेकाे छ। यो तथ्याङ्कले नेपालको आन्तरिक श्रम बजार र रोजगारीको कमजोर अवस्थालाई झल्काएकाे छ।
यो कुल तथ्याङ्क भएकाले यसमा वैदेशिक रोजगारी र स्थायी बसाइँसराइमा जानेहरू मात्र छैनन्, यसभित्र घुमफिर (पर्यटन) का लागि बाहिरिने नेपालीहरू पनि समेटिएका छन्। भ्रमण भिसा (भिजिट भिसा) मा निश्चित समयका लागि घुम्न वा आफन्त भेट्न विदेश जाने ठूलो संख्या केही हप्ता वा महिनामा स्वदेश फर्कने गरेको भए पनि, अध्ययन र रोजगारीका लागि जाने युवाहरू भने उतै पलायन हुने प्रवृत्ति बढ्दो छ।
नेपालमा योग्यता र क्षमता अनुसारको रोजगारी नपाउनु, न्यून पारिश्रमिक हुनु र व्यावसायिक वातावरण नहुँदा युवा जनशक्ति देशमा बस्न चाहेको देखिँदैन। विशेषगरी सन् २०२२ पछि (कोरोना महामारीपछि) विदेशिने र उतै रोकिने नेपालीको जमात ठूलो देखिन्छ।
















