शिवम् सिमेन्टको आक्रमक प्रगति, ४५ महिनामा झन्डै साढे २२ अर्बको व्यापार

काठमाडौं । नेपालको सिमेन्ट उद्योगमा अग्रणी शिवम् सिमेन्टले आफ्ना व्यापार आक्रमक रुपमा बढाउँदै लगेको छ । कम्पनीले उल्लेखनीय व्यापारिक प्रगति हासिल गरेको छ ।
पछिल्लो ९ महिनाको अवधिमा नै कम्पनीले साढे ५ अर्बको व्यापार गर्न सफल भएको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले उक्त अवधिमा कुल ५ अर्ब ३९ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशत बढी हो ।
पछिल्ला ४५ महिनामा शिवमले २२ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढीको व्यापार गरेको देखिन्छ ।
अघिल्ला तीन वर्षका वार्षिक कारोबार हेर्ने हो भने सन् २०२४ मा ७ अर्ब ७० करोड रुपैयाँ रहेको छ । यस्तै, सन् २०२३ मा ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२२ मा ९ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको थियो ।
आर्थिक, व्यवस्थापकीय र उत्पादन पक्षमा सन्तुलन कायम गर्दै आएको शिवम् सिमेन्ट नेपाली सिमेन्ट बजारमा अझ प्रतिस्पर्धी हुँदै गएको देखिन्छ । बजार पुनः सक्रिय हुँदै गर्दा कम्पनीको व्यापारिक पुनरुत्थानले पनि उद्योगको समग्र अवस्थामा सकारात्मक संकेत दिएको छ ।
कम्पनीको हालको उत्पादन क्षमता पनि प्रभावशाली छ । शिवम् सिमेन्टसँग वार्षिक ६ लाख ३० हजार मेट्रिक टन क्लिंकर र ९ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ । यसले नेपाली बजारमा ओपीसी सिमेन्टको अग्रणी आपूर्ति सुनिश्चित गरिरहेको छ । वास्तवमै ओपीसी सिमेन्टको सबैभन्दा धेरै व्यापार गर्ने कम्पनीको उपाधि समेत शिवमले नै ओगटेको छ ।
शिवम् सिमेन्टले हाल ५ वटा प्लान्टमार्फत उत्पादन गरिरहेको छ भने क्लिंकरको उत्खननदेखि सिमेन्ट निर्माणसम्मको सम्पूर्ण प्रक्रिया आफैं सञ्चालन गर्छ ।
कम्पनीको संरचना पनि बलियो देखिन्छ । शिवम् होल्डिङसँग कम्पनीको ८५ प्रतिशत स्वामित्व छ । चीनको होङ्सी ग्रुपको लगानी रहेको होङ्सी शिवम् सिमेन्टमा ३० प्रतिशत स्वामित्व रहेको छ । लक्की ग्रुप, शारदा ग्रुप र गोयल ग्रुपजस्ता ठूला समूहहरूको समेत उल्लेखनीय लगानी रहेको यो कम्पनी सन् २०१५ मा सार्वजनिक कम्पनीको रूपमा रूपान्तरण भएको हो ।
व्यापार वृद्धि र उत्पादन क्षमतासँगै कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जा व्यवस्थापनतर्फ पनि ध्यान दिएको छ । हालसम्म करिब ३ अर्ब १० करोड २८ लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराइसकेको छ । कम्पनीले आगामी योजनाहरूलाई अझ विस्तार गर्ने संकेत दिएको छ ।