पुष्प मेला सुरु, निर्यात प्रवर्द्धनमा जोड - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पुष्प मेला सुरु, निर्यात प्रवर्द्धनमा जोड



काठमाडौं । स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय भन्ने नाराका साथ बिहीबारदेखि ललितपुरमा २३ औं पुष्प मेला(फ्लोरा एक्स्पो) सुरु भएको छ । मेलाको उद्घाटन गर्दै वागमति प्रदेशकी कृषि तथा पशुपक्षी विकासमन्त्री इन्द्र माया गुरुङले पुष्प व्यवसायको प्रवद्र्धनका लागि वागमति प्रदेश आवश्यक सहयोग गर्न तयार रहेको बताए । कृषि विभागका महानिर्देशक डा रेवतीरमण पौडेलले पुष्प व्यवसायको प्रवद्र्धनका लागि फयानलाई विभागले विगतदेखि नै साथ दिँदै आएको भन्दै साथ र सहयोग जारी रहने बताए । उनले पुष्प क्षेत्रको अध्यायन अनुसन्धानमा जोड दिँदै निर्यात तर्फ केन्द्रित हुनुपर्ने बताए ।

बनस्पती विभागका उपसचिव शिशिर पन्थीले विगतमा पूर्ण परनिर्भर नेपाल पछिल्लो समय आत्मर्निभरोन्मुख अवस्थामा रहेको भन्दै विभागले स्वदेशी फूलको अध्ययन अनुसन्धान गर्दै आएको बताए । पन्थीका अनुसार विभागले नेपालमा पाँच हजार पाँचसय विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिको पहिचान गरिसकेको छ । त्यस्ता फूल फुल्ने रैथाने वनस्पतिको पनि व्यवसायिक उत्पादनका लागि विभागले काम गरिरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सकुन्तलाल हिराचनले पुष्प व्यवसायको प्रवद्र्धनका लागि फयानलाई आर्थिक तथा नीतिगत सहजीकरण गर्न महासंघ तयार रहेको बताए । फयानका अध्यक्ष मीनबहादुर तामाङले पुष्प क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका फयानको पहलमा पुष्प प्रवद्र्धन नीति निर्माण भएपनि पछिल्लो समय नीति कार्यान्वयनमा सरकार उदासिन देखिएको गुनासो गरे । तथापी उक्त नीतिलाई समयअनुकुल परिमार्जनका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग छलफल भइरहेको उहाँले जानकारी दिए । अध्यक्ष तामाङले कोरोना अति प्रभावित पुष्प व्यवसायलाई पुनर्जीवन दिन राहत प्याकेज घोषणा गर्न सरकारसँग मागसमेत गरे ।

पुष्प विकास केन्द्र, बागमती प्रदेश सरकार, कृषि तथा पशुपछी बिकास मन्त्रालय र कृषि विभागसमेतको सहयोगमा आयोजित चारदिने मेलामा अफिसियल स्टल चार, प्रतियोगितात्मक प्रदर्शनी स्टल दुइ र व्यवसायिक स्टल ४५ सहित कुल ५१ स्टल रहेको फयानका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक शिवबहादुर खड्काले जानकारी दिए ।

जावलाखेल खेल मैदानमा आयोजित मेलामा मौसमी फूल, आलकारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहेका छन् ।

उत्कृष्ट आठ विधा पुरस्कृत
फयानले विभिन्न आठ विधामा उत्कष्ट नर्सरीलाई नगद पुरस्कार तथा पदक प्रदान गरेको छ । पुरस्कृत हुनेमा उत्कृष्ट मौसमी फूलतर्फ बालुवाटार काठमाडौंको मिलन नर्सरी, उत्कृष्ट आलंकारिक विरुवातर्फ चण्डोल काठमाडौको अल ट्रपिकल प्लान्ट हाउस, उत्कृष्ट फुल्ने विरुवातर्फ सानेपा ललितपुरको सिर्जना फलावर नर्सरी, उत्कृष्ट स्टलतर्फ संखमुल काठमाडौको न्यु सन फ्लावर नर्सरी, उत्कृष्ट पुष्प सजावटतर्फ त्रिपुरेश्वर काठमाडौंको न्यू फ्लोरिष्ट, उत्कृष्ट कट्फलावर(रोज)तर्फ भक्तपुरको एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेवल फार्म रहेका छन् ।

त्यस्तै उत्कृष्ट कट्फलावर(कार्नेसन)तर्फ काठमाडौको द एभरेष्ट फ्लावर, उत्कष्ट कट्फ्वालर(जरवेरा) तर्फ भक्तपुरको एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेवल फार्म रहेको छन् । विराटनगरको हिमालय नर्सरीलाई कदरपत्र प्रदान गरिएको छ । साथै फयानले पुष्प विकास केन्द्र गोदावरी, कृषि विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयल वागमति प्रदेश, काष्ठमण्डप टेन्ट हाउस र एक्जिविसन लाइट हाउसलाई सम्मान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्