पूर्वका उद्योगीसँग अर्थमन्त्रीले भने, ‘हाम्रो उदेश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्ने होइन’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पूर्वका उद्योगी, व्यवसायीसँग भेट गर्नुभएको गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक बर्ष ०७९–८० को बजेटले वायर, घिउतेल र स्यानीटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राखेका थिए ।
त्यसक्रममा अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकरण बिस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए । ‘बजेटमार्फत हाम्रो उदेश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन’ उहाँले भन्नुभयो, ‘हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।’
आम महिलाबर्गलाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको पाए समाधान निकाल्न तयार रहेको पनि उनले जानकारी दिए । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उनले बताए ।
बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको उनले प्रष्ट पारे । ‘बजेट तपाईहरु (व्यवसायी) का लागि गरेको हो । देशका लागि गरेको हो’ अर्थमन्त्री शर्माले भने, ‘हामीले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेको हो ।’
छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नबिन रिजालले वायर, घिउतेल तथा स्यानीटरी उद्योगमा बजेटले पारेको प्रभावका बिषयमा छोटो प्रस्तुती दिनुभएको थियो । उनले सरकारी नीति आउँदा आत्मसाथ गर्ने बातावरण बनाइदिन आग्रह गरे । ‘हामी (व्यवसायी) लाई पनि पोलिसीले साथ दिनुस् । हामीले पनि बजेट आउँदा मुक्तकण्ठले प्रशंसाा गर्ने स्थिति आओस्’ उनले भने ।













