नेपाल आर्थिक पत्रकार संघको अध्यक्षमा मोदनाथ ढकाल, यस्तो बन्यो नयाँ टिम
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ नेतृत्व चयन भएको छ ।
बुधवार राजधानीमा सम्पन्न १३ औं साधारण सभा तथा छैठौं महासभाले मोदनाथ ढकालको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो ।
कार्य समितिको उपाध्यक्षद्धयमा मेनुका कार्की र प्रमेश्वर अधिकारी, महासचिवमा नविन ढुंगाना, सचिव दिपक भट्ट र कोषाध्यक्षमा दिलु कार्की निर्वाचित भएका छन् ।
बुधबार भएको निर्वाचनमा प्रतिस्पर्धी भुवन आचार्यलाई ८२ मतको भारी अन्तरमा पराजित गर्दै ढकाल अध्यक्षमा पुनः निर्वाचित भएका हुन । ढकालले १०५ मत प्राप्त गर्दा आचार्यले २३ मतमात्र प्राप्त गरेका थिए ।
उपाध्यक्षमा इन्द्र बानियालाई करिब दोब्बर मतले पराजित गर्दै कार्कीले ९२ मत अधिकारीले ८२ मत प्राप्त गरेका छन । बानियाले ४९ मतमात्र प्राप्त गरेका थिए ।
महासचिव, सचिव र कोषाध्यक्ष पदमा निर्विरोध चयन भएको थियो । यस्तै, कार्य समिति सदस्यहरुमा चार जना आर्थिक पत्रकार निर्वाचित भएका छन् ।
समितिको सदस्यमा निकेश खत्री, बिजय पराजुली, सविना कार्की र राजराम न्यौपानेले निर्वाचित भएका हुन् । सदस्यपदका लागि ११ जनाको उम्मेदवारी परेको थियो ।













