भूगोल इनर्जि डेभलपमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले फागुन ८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको आइपीओ आवेदन दिने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
जस मध्य अति प्रभावित क्षेत्र नौमुले द्वारी – ३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता तथा आयोजन प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानीय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता शेयर बाँडफाँट गरिने छ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ८ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ८ हजार ८११ कित्ता साधारण शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरिने छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।
उक्त आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले छिटोमा फागुन २५ गते र ढिलोमा चैत ७ गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ।
स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने बैंक तथा वित्तीय संस्थाहरुको सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गरेको हो । यस आधारमा आयोजना प्रभावित स्थानीयमा प्रतिशेयर १०० रुपैयाँ दरका ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता सेयर विक्री हुनेछ ।













