८ श्रावण २०८३, शुक्रबार

आईपीओमा बुक बिल्डिङको टुंगो लगाउँदै बोर्ड, पुनः सेयर मुल्य निर्धारण गर्दै सर्वाेत्तम र रिलायन्स



काठमाडौं । सेयर बजार घटेपछि बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न लागेका दुई कम्पनीले सेयर मुल्य संसोधन गर्न लागेका छन् ।

नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पाइपलाइनमा रहेका सर्वाेत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले यसअघि निर्धारण भएको सेयर मुल्य पुनः बोलकबोल गरेर नयाँ शेयर मुल्य निर्धारण गर्न लागेका हुन् ।

बोर्डले केही हप्ताअघि उक्त दुई कम्पनी, नेप्से र मर्चेन्ट बैंकलाई बोलाएर बुक बिल्डीङ छिट्टैलाई टुंगोमा पुर्याउने बारे छलफल गरेको थियो । त्यसमा छलफलमा अबको दुई महिना भित्र नै यसलाई टुंगोमा पुर्याउने सहमती भएको छ । त्यस क्रममा उक्त दुई कम्पनीलाई सेयर मुल्य पुनः समायोजन गर्न भनिएको हो । उक्त दुई कम्पनीको सेयर मुल्य ८ महिना अघि नै निर्धारण भएको थियो, जुन बेला नेपाली सेयर बजार बढेको थियो । तर, नेपाली सेयर अहिले घटेको छ । सोहीअुनसार बोर्डले दुई कम्पनीलाई पुनः सेयर मुल्य निर्धारण गर्न निर्देशन दिएको थियो । त्यसपछि उक्त दुई कम्पनीले पुनः सेयर मुल्य निर्धारण गर्न शुरु गरिसकेको बोर्डका एक उच्च अधिकारीले बताए ।

पाइपलाइनमा बुक बिल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारीमा सर्वाेत्तमा प्रतिकित्ता ५०१ देखि ७५१.५० रुपैयाँसम्ममा बुक बिल्डिङ प्रणालीबाट आइपिओ जारी गर्ने अनुमति मागेको छ ।

कम्पनीले २४ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सले लिमिटेडले प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रूपैयाँसम्ममा बुक बिल्डिङ प्रणालीबाट आइपिओ जारी गर्न लागेको छ । कम्पनीले सात लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्काशन गर्न लागेको हो । यी दुवै कम्पनीको बिक्री प्रबन्धक तर्फको नेतृत्व ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ  । तर, अहिले बजार घटेकाले पुनः सेयर मुल्य निर्धारण गर्न लागिएको हो ।

यस्तै, बोर्डले नेप्सललाई बुक बिल्डीङबाट आईपीओ बिक्री गर्न टेन्डर आह्वान गर्ने तयारी गर्न भनिसकेको छ । साथै, सम्वन्धित मर्चेन्ट कम्पनीहरुले सोही टेन्डरको आधारमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्न आवश्यक समन्वयन गर्ने गरि काम गर्नुपर्ने बोर्डको निर्देशन छ ।

बुक बिल्डीङ बिधिमा आईपीओ ल्याउन लागिएको नेपालमै पहिलो पटक हो । यसमा पहिला संस्थापक सेयर लगानीकर्ताहरुले बोलकबोल मार्फत सम्वन्धित कम्पनीको निश्चित शेयर खरिद गर्नुपर्ने हुन्छ । त्यस मार्फत निर्धारण हुने मुल्यमा १० रुपैयाँसम्म थपघट गरेर आईपीओ जारी गर्न सकिन्छ ।

पहिलो सर्वाेत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा अनिमियतता भएको भन्दै यसमा ढिलाई भएको थियो । तर, अब छिट्टै यसलाई टुंगोमा पुर्याउने बोर्डको तयारी छ ।


प्रतिक्रिया दिनुहोस्