तीन कम्पनीले सार्वजनिक गरे तेस्रो त्रैमासिक वित्तीय रिपोर्ट, कुनको अवस्था कस्तो ? (विवरणसहित)
काठमाडौं । बैंक तथा वित्तीय कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् ।
कम्पनीहरुले चालु आवको चैत मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गर्न सुरु गरेका हुन् । हालसम्म तीन वटा बैंक तथा वित्तीय संस्थाले तेस्रो त्रैमासिक वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् ।
बुधवारसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंक, फस्ट माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चैत मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गरेका हुन् । रिपोर्टअनुसार निफा र फस्र्ट माइक्रोफाइनान्सको अधिकांश वित्तीय सुचकहरु सुधारात्मक नै देखिएको छ । कम्पनीहरुको नाफा लगायतको मुख्य सूचकहरुमा सुधार भएको पाइएको छ । तर, गत आवको तुलनामा आरएसडीसी लघुवित्तको नाफामा केही गिरावट आएको छ ।
अब हेरौं कुनको वित्तीय प्रगति कस्तो ?
नेपाल इन्फ्रास्टक्चर बैंक
नेपाल इन्फ्रास्टक्चर बैंकले नाफा वृद्धि भएको छ । सो अवधिमा बैंकले १ अर्ब १६ करोड १९८ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६७.२८ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा पनि वृद्धि भएको छ । जसले खुद नाफा बढ्न टेवा पुगेको हो ।
चालु आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशतले वृद्धि भई २ अर्ब ४४ लाख रुपैयाँ कायम भएको छ । सो अवधिमा बैंकले संचालन नाफा पनि ६७.३१ प्रतिशतले बढाएर १ अर्ब ६५ करोड ९७ लाख ६९ हजार रुपैयाँ पुर्याएको छ । बैंकको वितरण योग्य नाफा ९१ करोड ६१ लाख १४ हजार रुपैयाँ देखिएको छ।
सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी सुधार भएको देखिन्छ । गत आवको चैत मसान्तसम्ममा ४ रुपैयाँ २९ पैसा रहेको प्रतिसेयर आम्दानी यस वर्षको सोही अवधिमा भने २ रुपैयाँ ८८ पैुसाले वृद्धि भएको छ । योसंगै बैंकको यस्तो आम्दानी ७ रुपैयाँ १७ पैसा कायम भएको छ । सो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १९ पैसा रहेको छ ।
कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । सो अवधिमा बैंकको जगेडा तथा कोषको आकार पनि ४१.२९ प्रतिशतले वृद्धि भई १ अर्ब ९८ करोड ५८ लाख ३० हजार रुपैयाँ कायम भएको छ । चालु आवको चैत मसान्तसम्ममा बैंकले कुल ७९ करोड ६८ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २२ अर्ब ८ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
फर्स्ट फाइक्रोफाइनान्स लघुवित्त
फर्स्ट फाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले करिव ३ करोड रुपैयाँ नाफा बढाएको छ । सो अवधिमा कम्पनीले २ करोड ८४ लाख रुपैयाँले नाफा वृद्धि गरि १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ पुर्याएको छ ।
जुन गत आवको सोही अवधिको तुलनामा भने १७.१२ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले १६ करोड ६१ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने सामान्य वृद्धि भएको छ । कम्पनीको यस्तो आम्दानी ३.४२ प्रतिशतले बढेर ३१ करोड ७६ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, सो अवधिमा कम्पनीको संचालनमा नाफा पनि १०.६८ प्रतिशतले वृद्धि भई २७ करोड ७९ लाख ६७ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरण योग्य नाफा १६ करोड ६८ लाख रुपैयाँ देखिएको छ ।
सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दनी (इपिएस) भने झिनो घटेको छ । सो अवधिमा कम्पनीको खराब कर्जा ०.४७ प्रतिशत मात्र देखिएको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४३ करोड ३० लाख रुपैयाँ भन्दा बढी रकम राखेको छ ।
गत आवको तेस्रो त्रैमासमा २२ रुपैयाँ ९७ पैसा रहेको इपिएस यस वर्षको समिक्षा अवधिमा भने २२ रुपैयाँ ६० पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा रहेको छ ।
आरएसडीसी लघुवित्त
आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । चालु आवको तेस्रो त्रैमासमा कम्पनीले ८ करोड ६० लाख २४ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८.८१ प्रतिशतले कमी हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले ९ करोड ४३ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ । चैत मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी २९.२२ प्रतिशतले वृद्धि भई २१ करोड ४० लाख ४४ हजार रुपैयाँ पुगेको छ । चालु आवको ९ महिनामा कम्पनीको संचालनमा नाफा पनि ८.८१ प्रतिशतले घटेर १२ करोड २९ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरण योग्य नाफा ५ करोड ६३ लाख ५९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको खराब कर्जा कर्जा पनि वृद्धि भएको छ । खराब कर्जा बढ्दा इम्पेरमेन्ट चार्ज पनि वृद्धि भई कम्पनीको खुद नाफा घटेको हो । गत आवको तेस्रो त्रैमासमा ०.२३ प्रतिशत रहेको कम्पनीको खराब कर्जा यस वर्षको समिक्षा अवधिमा भने बढेर १.३७ प्रतिशत पुगेको छ । इम्पेरमेन्ट चार्ज पनि ७ करोड माथि छ ।
कम्पनीको चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ९ करोड ३३ लाख १८ हजार रुपैयाँ राखेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ४३ पैसाले घटेर १३ रुपैयाँ १९ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ६ पैसा रहेको छ ।













