८ श्रावण २०८३, शुक्रबार

झण्डै दोब्बरले घट्यो सुपरमाई हाइड्रोपावरको नाफा, कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । सुपरमाई हाइड्रोपावरको नाफा झण्डै दोब्बर घटेको छ । कम्पनीको खुद नाफा ३ करोड ३८ लाख रुपैयाँ बढीले घटेको हो ।कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको ९ महिनामा कम्पनीले ४ करोड ८३ लाख ५७ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा ४१.१९ प्रतिशतले कम हो । गत आवको समिक्षा अवधिमा भने कम्पनीले ८ करोड २२ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी घटेपछि खुद नाफामा गिरावट आएको छ । चालु आवको ९ महिनामा कम्पनीले बिद्युत बिक्रीबाट १७ करोड १४ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा ८.३५ प्रतिशतले कम हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले १८ करोड ७० लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको थियो।

मौसम प्रतिकुल भई उत्पादनमा आएको उल्लेख्य गिरावट, ब्याजदर वृद्धि र पूर्ण मर्मत सम्भारका यस वर्ष तरलता र मुनाफामा नकरात्मक असर परेको कम्पनीले जनाएको छ । कम्पनीले व्यवसायिक उत्पादन गरेको करिव ५ वर्ष हुन लागेको छ । त्यसकारण नयाँ मेशिनहरु थप गर्नुपर्ने, मौजुदा मेशिनहरु मर्मत गर्नुपर्ने र ब्याजदरमा भएको आकस्मिक वृद्धिले नाफामा थप प्रभाव पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६७ पैसा, प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५२ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ।


प्रतिक्रिया दिनुहोस्