छुट्ला है २० हजार कित्तासम्म भर्न पाईने कम्पनीको आईपीओ, आज अन्तिम मौका
काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।
कम्पनीले बैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । सो आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गरि बाँडफाँट समेत गरिसकेको छ ।
कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। तर, आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर थप गरी सेयर निष्काशन गरेको हो ।
अब कम्पनीले कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको छ ।
सो सेयरमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ । यस्तै, २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुको लागि र ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।
अब कुल १२ लाख ६८ हजार ६३९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।













