नेशनल हाइड्रोपावर नोक्सानीमा, कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी नोक्सानीमा देखिएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९÷८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
कम्पनीले २ करोड २९ लाख ४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आवको तेस्रो त्रैमासमा भने कम्पनीको खुद नाफा ३ करोड २७ लाख २२ हजार रुपैयाँ धनात्मक रहेको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेकाले नै नोक्सानी व्यहोरेको हो ।
समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १९.४१ प्रतिशतले घटेर २ करोड ९१ लाख ४१ हजार रुपैयाँ कायम भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको यस्तो आम्दानी ३ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको अन्य आम्दनीमा पनि भारी गिरावट देखिएको छ । गत आवको चैत मसान्तसम्ममा ४ करोड ३७ लाख ९० हजार रुपैयाँ बढी रहेको कम्पनीको अन्य आम्दानी यस वर्षको समिक्षा अवधिमा भने घटेर ३ लाख ४५ हजार कायम भएको छ । कम्पनीको वित्तीय खर्च पनि वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा ५० लाख रुपैयाँ मात्रे वित्तीय खर्च गरेको कम्पनीले यसवर्षको समिक्षा अवधिमा भने १ करोड १२ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यस्ता कारण पनि खुद नाफा प्रभावित भएको हो ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ५० लाख १६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ८३ लाख रुपैयाँ मात्रै राखेको छ । तर, गत आवको समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ३ करोड ४४ लाख बढी रहेको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५९ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ एक रुपैयाँ ४१ पैसा रहेको छ ।













