वैशाख २० देखि ओजस थिएटरमा नाटक ‘मृत्यु कुण्ड’ प्रदर्शन सुरु
काठमाडौं । ओजस थिएटरको उत्पादन नाटक ‘मृत्यु कुण्ड’ वैशाख २० गते बुधबारदेखि प्रदर्शन सुरु भएको छ । वैशाख २० काठमाण्डौं रातोपुलस्थित ओजस थिएटरमा ‘मृत्यु कुण्ड’ को प्रिमियर शो सम्पन्न भएको छ । रविन दोङको लेखन तथा निर्देशन रहेको नाटक प्रमोद बाबुले निर्माण गरेका हुन् ।
देशभित्रै केहि गर्नुपर्छ भन्ने सोच बोकेका युवाहरु नै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक परिस्थितीलाई नाटकले उजागर गर्न खोजेको निर्देशक दोङले बताउनुभयो । एउटा नेपाली युवाले देशमै केहि बनेर र गरेर देखाउँछु भन्ने आफ्ना सारा तिलाञ्जली दिएर वैदेशिक रोजगारीमा जानुपर्ने परिस्थिती रहेको तीतो यथार्थलाई नाटकमा देखाउन खोजिएको छ ।
नाटकमा विशाल महर्जन, अजय बान्तवा राई, सबिना तामाङ, विवेक घिमिरे, राजु खतिवडा, शिशिर भट्टराई, शालु रौनियार, उदिप शिवाकोटी र सानुमाया तामाङको अभिनय छ । त्यसैगरी निस्वम थापा मगर, बिटी महर, गोबिन्द टिआर, हेमन्त लामिछाने, बसन्त पोखरेल, विरेन्द्रसिंह कुसुवाह, ओसन कार्की, एचबि मगर, एलिसा न्यौपाने, शेखर ओजस र श्याम कार्कीले पनि नाटकमा अभिनय गरेका छन् ।
जेठ १५ गतेसम्म चल्ने नाटक बिहिबार बाहेक हरेक दिन साँझ ५ः१५ बजेदेखि मञ्चन हुनेछ भने बुधबार र शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ । ३ सय रुपैयाँ टिकट शुल्क तोकिएकोमा विद्यार्थीले भने २ सय ५० रुपैयाँ तिरेर हेर्न पाउनेछन् । गत भदौ महिनामा मञ्चन भएको नाटक ‘असुर’ को सफलतासँगै ओजसले नाटक ‘मृत्यु कुण्ड’ को मञ्चन गरेको हो ।













