बुटवल पावरको नाफा बढ्यो, विद्युत बिक्री आम्दानी घट्यो
काठमाडौं । बुटवल पावर कम्पनीले पौने २७ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरणअनुसार चालु आवको ९ महिनामा २६ करोड ८१ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा १२.८५ प्रतिशतले बढी हो । कम्पनीले गत आवको चैत मसान्तसम्ममा २३ करोड ७५ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
नाफामा सुधार देखिएता पनि कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ । गत आवको तेस्रो त्रैमासमा ५९ करोड ४८ लाख ३१ हजार बराबरको विजुली बेचको थियो । तर, यस वर्षको समिक्षा अवधिमा १ करोड १६ लाख ५३ हजार रुपैयाँले घटेर ५८ करोड ३१ लाख ७८ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको संचालन नाफामा भने सुधार देखिएको छ । गत आवको तुलनामा ५.२६ प्रतिशतले बढाएर कम्पनीको संचालन नाफा २५ करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८७ पैसा र प्रतिसेयर २०५ रुपैयाँ ६५ पैसा रहेको छ ।













