विद्युत बिक्री आम्दानीमा गिरावट आएपछि अरुण कावेलीको नाफामा संकुचन, इपिएस पनि घट्यो
काठमाडौं । अरुण कावेली पावरले १४ करोड बढी नाफा कमाएको छ । कम्पनीले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
कम्पनीले चालु आवको ९ महिनामा १४ करोड ३५ लाख ७२ हजार रुपैयाँ नाफा गरेको छ । तर, गत आवको चैत मसान्तसम्मको तुलनामा भने कम्पनीका नाफा ३५.३५ प्रतिशतले घटेको हो । गत आवको समिक्षा अवधिमा कम्पनीले २२ करोड २० लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानीमा सुधार नभएपछि नाफा घटेको हो । समिक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५६ करोड ५० लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ । यद्यपि, यो गत आवको सोही अवधिको तुलनामा भने ४.३४ प्रतिशतले कमी हो । कम्पनीको अन्य आम्दानी भने ७४ लाख बढी देखिएको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा ३५ करोड ४२ लाख ३९ हजार रुपैयाँ देखिएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६४ पैसाले घटेर १० रुपैयाँ ३२ पैसा कायम भएको छ । नेटवर्थभने ११९ रुपैयाँ ९ पैसा कायम भएको छ ।













