आज पनि सुनुवाइ भएन गभर्नर अधिकारी विरुद्धको मुद्दा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको मुद्दामा आइतबार पनि सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतले गभर्नर अधिकारीको मुद्दामा पूर्ण सुनुवाइ स्थगित गरेको छ ।
यस अघि माघ ९ का लागि न्यायाधीश प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको इजलाशमा पेशी चढेको भए पनि मुद्दा हेर्न नभ्याएने भनेर आजका लागि सुनुवाइ सारिएको थियो ।
अदालतले यसअघि नै गभर्नर अधिकारीले सरकारबिरुद्ध हालेको अर्को रिट निवेदनलाई समेत एकसाथ सुनुवाइ गर्ने भनेर पूर्ण सुनुवाइका लागि मिति तोकेको थियो । गभर्नर अधिकारीलाई मन्त्ती परिषदले २०७८ चैत २५ मा निलम्बन गरेपछि गभर्नर अधिकारी अदालत गएका थिए ।
उक्त मुद्दामा २०७९ वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयालले अन्तिरिम आदेश दिएर सरकारलाई निलम्बन फुकुवा गर्न भनेपछि अधिकारी पुनः केन्द्रीय बैंक फर्किएका थिए । त्यसको एक सातापछि १३ वैशाखमा न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले उक्त अन्तरिम आदेशलाई निरन्तरता दियो । त्यसयता २१ महिनादेखि उक्त मुद्दाको अन्तिम सुनुवाइ भएको थिएन ।
अहिले अधिवक्ता दीपकराज जोशीसहितले गभर्नर अधिकारीको शैक्षिक योग्यता नै नपुग्ने भनेर उनको नियुक्तिलाई बदर गर्न माग गर्दै नयाँ मुद्दा अदालत पुर्याए । यससँगै गत पुस १३ मा न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले उक्त पुरानो मुद्दालाई समेत जोडेर एकसाथ सुनुवाइ गर्न आदेश दिएको थियो ।













