ब्याजदरमा घट्दो ट्रेन्डः २.२५ प्रतिशत बिन्दुले सस्तियो कर्जाको ब्याजदर, कस्ता ऋणीलाई फाइदा ?
काठमाडौं । वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर निरन्तर घटीरहेको छ । एकै वर्ष यस्तो ब्याजदर २.२५ प्रतिशत बिन्दुले घटेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुको कर्जा औसत ब्याजदर १३.०३ प्रतिशत रहेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने घटेर १०.७८ प्रतिशतमा आइपुगेको छ ।
यसले वाणिज्य बैंकहरुबाट कर्जा लिने ऋणीलाई ब्याजदर लागत केही घटेको देखिन्छ । यता, विकास बैंकहरुको कर्जाको ब्याजदर १२.५२ प्रतिशत र वित्त कम्पनीको कर्जाको ब्याजदर १३.६१ प्रतिशत रहेको छ ।
कर्जाको ब्याजदर सस्तिएपछि ऋणीलाई कम ब्याज दर पर्न गएको छ । घटेको ब्याजदर नयाँ ऋणीको हकमा तुरुन्तै लागू हुने गर्छन । तर, पुराना ऋणीको हकमा भने बैंकहरुले विस्तारै समायोजन गर्दै जाने गरेका छन्।
पछिल्लो समय ब्याजदर घट्दो ट्रेन्डमा नै छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि घट्न थालेको हो । हाल बैंकहरुको निक्षेपको ब्याजदर पनि घटेको छ । एकै वर्षमा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर पनि १.६३ प्रतिशत बिन्दुले घटेको छ ।
फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ६.७४ प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिमा भने यस्तो ब्याजदर ८.३७ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार विकास बैंकको निक्षेपको औसत ब्याजदर ७.९३ प्रतिशत र वित्त कम्पनीको ९.१३ प्रतिशत रहेको छ ।
निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ, जसले कर्जाको ब्याजदर पनि सस्तिन थालेको हो । चालु आर्थिक वर्षको कात्तिक महिनादेखि नै बैङ्कहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । लागत घट्दा बैङ्कहरूको आधार दर (बेस रेट) पनि घट्न थालेको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधार दर पनि घटेको छ । एकै वर्षमा १.८७ प्रतिशत बिन्दुले घटेर ८.७७ प्रतिशत कायम भएको छ । यस्तै, विकास बैंकहरुको औसत आधार दर १०.७१ प्रतिशत र वित्त कम्पनीको १२.३३ प्रतिशत छ ।
बैङ्कहरूको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ । बैङ्कहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने बेस रेट घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । बैङ्कहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् ।














