बैङ्कबाट सस्तो ब्याजमा ऋण लिएर घरजग्गा खरिदमा आकर्षण, किन बढेन रियल स्टेट कर्जा ?
काठमाडौं । कमर्सियल रियल इस्टेट कर्जा बढ्न नसके पनि व्यक्तिगत आवासीय घर कर्जा भने निरन्तर बढी रहेको छ । पछिल्लो बैङ्क तथा वित्तीय संस्थाहरूबाट ऋण लिएर व्यक्तिगत घरजग्गा खरिद गर्नेहरू बढेका हुन् ।
नेपाल राष्ट्र बैङ्कले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत साउनदेखि फागुनसम्ममा बैङ्कहरूले व्यक्तिगत आवासीय घर कर्जामा ३६ अर्ब ३५ करोड २१ लाख रुपैयाँ प्रवाह गरेका हुन् । जुन गत आवको सोही अवधिको तुलनामा यो ३.८३ गुणा बढी हो । गत आवको फागुन मसान्तसम्ममा भने कुल ९ अर्ब ४८ करोड २४ लाख रुपैयाँ मात्रै व्यक्तिगत आवासीय घर कर्जा प्रवाह गरेका थिए ।
हाल २ करोड रुपैयाँसम्मको घर कर्जालाई व्यक्तिगत आवासीय कर्जामा गणना हुँदै आएको छ । २ करोड भन्दा माथिको ठुलो घर कर्जा रियल स्टेटमा गणना हुन्छ । हाल २ करोडसम्मको घर कर्जा उल्लेख्य बढेको पाइन्छ ।
गत वर्ष तरलता अभावमा बैङ्कहरूले घर जग्गामा लगानी विस्तार हुन सकिरहेको थिएन । आर्थिक शिथिलता, चर्को ब्याजदर, उच्च महँगीका कारण घर कर्जा बढ्न सकेको थिए । करिब–करिब ठप्प जस्तै थियो। तरलता अभावले कर्जा प्रवाहमा समेत नियामकले कडाइ गरिएको थियो । तर, अहिले सहज अवस्था छ ।
पछिल्लो समय निरन्तर घटिरहेको ब्याजदरका कारण पनि व्यक्तिगत घरजग्गा खरिद गर्ने बढेका हुन् । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि घट्दै गएको हो । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ, जसले कर्जाको ब्याजदर पनि सस्तिन थालेको हो ।
राष्ट्र बैङ्कले पनि घर कर्जाको सीमा बढाइदिएको छ । यसअघि १ करोड ५० लाख रुपैयाँ रहेको व्यक्तिगत आवासीय घर कर्जाको सीमा २ करोडसम्म पुर्याएको छ । यस्ता नीतिगत लचकता र घट्दो ब्याजदर ट्रेन्डले पनि बैङ्कबाट ऋण लिएर घरजग्गा खरिद गर्ने बढेका हुन् । पछिल्लो देशभर समग्र घरजग्गा कारोबार नै बढ्दो क्रममा छ । एकै महिना अर्थात् फागुन महिनामा मात्रै देशभर ५१ हजार बढी घरजग्गा किनबेच भएको देखिन्छ ।
घरजग्गामा लगानी बढाउनकै लागि बैङ्क तथा वित्तीय संस्थाहरूले विभिन्न खालको स्किम समेत ल्याउने गरेका छन् । एकल अङ्कको ब्याजदरमै कर्जा उपलब्ध गराउन बैङ्कहरूको स्किम छ । हाल कतिपय बैङ्कहरूले निश्चित अवधिका लागि एकल अङ्कको ब्याजदर मै घर कर्जा उपलब्ध गराइरहेका छन् । बैङ्कहरूले १० प्रतिशत कम बिन्दुकै फिक्स ब्याजदरमा कर्जा प्रवाह गरिरहेका छन् । सस्तो ब्याजदरमा कर्जा लिएर घर बनाउन (खरिदबिक्री) आकर्षित भइरहेका छन् ।
तर, व्यक्तिगत आवासीय घर कर्जा बढे पनि कमर्सियल रियल इस्टेट कर्जा भने बढेको छैन । रियल स्टेट तर्फको कर्जा भने ऋणात्मक देखिएको छ । राष्ट्र बैङ्कका अनुसार चालु आवको आठ महिनाको अवधिमा यस्तो कर्जा १ अर्ब ३० करोड ३४ लाख रुपैयाँ ऋणात्मक देखिएको हो । बैङ्क तथा वित्तीय संस्थाहरूले पुरानो कर्जा असुलीमा केन्द्रित हुँदा यस्तो कर्जा ऋणात्मक भएको हो । गत आवको फागुन मसान्तसम्ममा भने यस्तो कर्जा ५ अर्ब १० करोड २७ लाख रुपैयाँ धनात्मक थियो । नयाँ कर्जा प्रवाहलाई भन्दा पुरानो कर्जा असुलीमा केन्द्रित छन्, जसले कमर्सियल घरजग्गा र ठुलो प्रोपर्टी किनबेचमा कर्जा प्रवाह सुस्त छ । तर,
कमर्सियल कम्प्लेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण कर्जा, कमर्सियल जग्गा खरिद तथा प्लटिङमा जाने कर्जा भने बढेको छ । आठ महिनाको अवधिमा जग्गा खरिद तथा प्लटिङ कर्जा ५ अर्ब ५ करोड रुपैयाँ, रेसिडेन्सियल रियल इस्टेटमा ३ अर्ब ३६ करोड, कमर्सियल कम्प्लेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण कर्जा ५९ करोड रुपैयाँ प्रवाह भएको छ ।













