४२० परियोजनाका लागि ५३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, वैशाखमा मात्रै १३ अर्ब ८५ करोड
काठमाडौं । १० महिनामा ४ सय वटा परियोजना मार्फत ५३ अर्ब बढी वैदेशिक लगानी प्रतिवद्धता भएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्म आइपुग्दा सो बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।
१० महिनामा ४२० परियोजना मार्फत ५३ अर्ब १ करोड ८७ लाख ७४ हजार रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता भएको छ । विभागका अनुसार सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) क्षेत्रसहित नयाँ उद्योगमा गरी सो बराबरको लगानी प्रतिबद्धता आएको हो ।
वैशाख महिनामा मात्रै १३ अर्ब ८५ करोड ९६ लाख ८९ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको छ । सो महिनामा ७३ वटा योजना मार्फत सो बराबरको लगानी प्रतिवद्धता भएको विभागले जनाएको छ । बैशाखमा एउटा ठलो उद्योग र ३७ वटा साना उद्योगका लागि लगानी प्रतिवद्धता भएको छ ।
हालसम्मम्मा भने ४ खर्ब ९३ अर्ब ५१ करोड ३१ लाख २७ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको छ । विभागका अनुसार ४ ठुला उद्योग र १३ वटा मझौला र २९० वटा साना उद्योगका लागि लगानी प्रतिवद्धता भएको हो । प्रतिवद्धता भएका उद्योगहरु संचालनमा आएपछि कुल ३ लाख २७ हजार ३३२ जनाले रोजगार पाउनेछन् ।
चैतमा मात्रै नयाँ तथा पुरानो उद्योगका लागि कुल ८ अर्ब ५६ करोड ४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
चालु आवको ९ महिनामा एसपीए, एसएसए र टीटीएका क्षेत्रका ४१ वटा उद्योगका लागि १२ अर्ब ९७ करोड ४५ लाख ६८ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । गत माघ महिनामा १ अर्ब १९ करोड २० लाख रुपैयाँ र पुसमा १ अर्ब ९८ करोड ९५ लाख ८९ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएका थिए ।
विभागका अनुसार चालु आवको पहिलो महिना अर्थात् गत साउनमा नयाँ तथा पुरानो गरी ६६ वटा उद्योगका लागि ११ अर्ब ९६ करोड ७८ लाख ३० हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यस्तै, गत भदौ महिनामा पनि ५३ वटा नयाँ तथा पुरानो उद्योगका लागि ५ अर्ब ८५ करोड ८५ लाख, असोजमा २ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ बराबरको ४७ वटा नयाँ तथा पुराना उद्योगका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । गत कात्तिकमा मात्रै १ अर्ब ८० करोड ६३ लाख ४४ हजार रुपैयाँ, मङ्सिरमा २ अर्ब ५६ करोड १९ लाख ७५ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।
१० महिनामा आएका लगानी प्रतिवद्धतामध्ये सबैभन्दा पर्यटन क्षेत्रमा ४७ प्रतिशत रहेको छ । यस्तै, सेवा क्षेत्र ३४ प्रतिशत, निर्माण क्षेमा ११ प्रतिशत, सूचना तथा प्रविधिमा ३ प्रतिशत, पूर्वाधारमा २ प्रतिशत, कृषिमा २ प्रतिशत हिस्सा छ ।














