अब घरजग्गा कारोबारमा आशातीत प्रगति होला ? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

अब घरजग्गा कारोबारमा आशातीत प्रगति होला ?



काठमाडौं । घरजग्गा कारोबार विस्तारै बढ्न थालेको छ । अपेक्षित रुपमा बढ्न नसकेता पनि विस्तारै सुधार हुँदै आएको तथ्याङ्कले देखाउँछ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा देशभर ४ लाख २९ हजार ९५५ वटा घरजग्गाको लिखत पारित भएको छ । जुन, गत आर्थिक वर्षको बैशाख मसान्तसम्मको तुलनामा भने १८.१९ प्रतिशत बढी हो । गत आवको १० महिनामा पनि ३ लाख ६३ हजार ७६८ वटा घरजग्गा खरिदबिक्री भएको थियो । मासिक आँकडाअनुसार भने कारोबार दबाबमै देखिएको छ । यद्यपि, पछिल्ला केही महिनाहरुमा मासिक ५० हजार हाराहारीमा घरजग्गा किनबेच हुँदै आएको छ ।

विभागका अनुसार बैशाखमा मात्रै ४९ हजार ७८२ हजार वटा घरजग्गा किनबेच भएको छ । यस्तै, चैतमामा ५० हजार २५२ वटा, फागुनमा ५० हजार ९९८ र माघ महिनामा ५० हजार ९२१ वटा घरजग्गा किनबेच भएका थिए । त्यसअघिका महिनाहरु भने ५० हजार भन्दा कम घरजग्गा किनबेच भएको विभागको तथ्याङ्कमा उल्लेख छ । गत पुसमा पनि देशभर ४५ हजार २७५ वटा, मंसिरमा ४१ हजार ८५१, कात्तिकमा २६ हजार ४६, असोजमा ३९ हजार ८८१, भदौमा ३५ हजार ६८६ र साउनमा ३९ हजार २६३ वटा घरजग्गा खरिदबिक्री भएको थियो ।

दबाबमा राजश्व संकलन

अपेक्षित रुपमा घरजग्गा किनबेच बढ्न नसक्दा राजश्व संकलनमा भने दबाबमा देखिएको छ । गत आवको साउनदेखि बैशाखसम्ममा देशभर भएको घरजग्गा किनबेचबाट राज्यले ३३ अर्ब १२ करोड ७३ लाख ६४ हजार रुपैयाँ राजश्व प्राप्त गरेको थियो । तर, यो वर्षको सोही अवधिमा भने सामान्य (०.२१ प्रतिशत) घटेको छ । चालु आवको १० महिनामा पनि ३३ अर्ब ५ करोड ७४ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ । विभागको आँकडाअनुसार औसतमा मासिक ३ अर्ब ३० करोड रुपैयाँ घरजग्गा कारोबारबाट राजश्व उठ्ने गरेको देखिन्छ ।

गत बैशाख महिनामा मात्रै सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ संकलन गरेको थियो । यस्तै, गत चैतमा ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार, फागुनमा ३ अर्ब ५९ करोड २६ लाख, माघमा ३ अर्ब ३७ कराड ५७ लाख रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ । यता, पुसमा ३ अर्ब २० करोड ५ लाख, मंसिरमा २ अर्ब ८६ करोड ५० लाख, कात्तिकमा २ अर्ब १६ करोड ३८ लाख, असोजमा ४ अर्ब ८ करोड ६६ लाख र भदौमा २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ राजश्व संकलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

अब बढ्ला त कारोबार ?

आगामी दिनमा भने घरजग्गा कारोबार बढ्ने व्यवसायीहरु बताउँछन् । हाल अपेक्षित रुपमा बढ्न नसकेता पनि अर्थतन्त्रमा देखिएका केही सुधार र केही नीतिगत लचकताले पनि कारोबारमा सुधार आउने उनीहरु बताउँछन् ।

सरकारले पनि घरजग्गा कारोबार बढाउने नीति अघि सारेको छ । करिब २ वर्षदेखि शिथिल रहेको घरजग्गा कारोबार बढाउनका लागि केही नीतिगत लचकता पनि अपनाएको हो । सरकारले कित्ताकाट लगायतको नीति खुकुलो पारिसकेको छ । नियामक निकायहरूले लिएको नीतिगत लचकताले पनि कारोबार बढाउन योगदान हुने घरजग्गा व्ययवसायीहरु बताउँछन् ।

हालै मात्र नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार बढाउनका लागि नीतिगत सहजीकरण गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा मार्फत घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सजकीकरण गरेको हो । कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाटम बढाएर ७० प्रतिशत कायम गरिने भएको छ । यसले पनि आगामी दिनमा कारोबार बढाउन टेवा पुर्याउने अपेक्षा छ ।

हाल अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु पनि सकरात्मक रुपमा दरिलो बन्दै गएको छ । यसले थप व्यवसायिक वातावरण निर्माण हुने भएकाले पनि आगामी दिन कारोबार बढ्ने उनीहरु बताउँछन् ।

यता, बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम रकम पनि बढ्दो क्रममा नै छ, ब्याजदर पनि घट्दो छ । बैंकहरुले पनि सस्तो ब्याजदरमै कर्जा लगानी गर्न विभिन्न योजनाहरु नै अघि सारेका छन्, यसले आगामी दिनमा कारोबारमा सुधार आउने व्यवसायीहरू बताउँछन् । बजार लगानीका लागि तयार हुँदै गइरहेकाले पनि पनि आउने दिनमा घरजग्गा कारोबार थप बढ्ने उनीहरुको अपेक्षा छ ।


प्रतिक्रिया दिनुहोस्