१३ श्रावण २०८३, बुधबार

सेनिटरी प्याड, औषधि, इन्डक्सन चुल्होलगायत उद्योगको कच्चा पदार्थमा लाग्ने महसुल र अन्त: शुल्क घट्यो



काठमाडौं । सरकारले औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्त: शुल्क घटाएको छ।

मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन यस्तो व्यवस्था गरिएको उनले बताए ।

सरकारले स्वदेशी उद्योगको संरक्षण गर्न केही तयारी वस्तुको पैठारी महसुल र अन्त: शुल्कमा वृद्धि गरेको छ । उद्योगको कच्चा पदार्थको पैठारीमा सहुलियत लिन विभिन्न निकायको सिफारिश आवश्यक पर्ने व्यवस्थामा सुधार गरी उद्योगीलाई नै जिम्मेवार बनाइने पुनले बताए ।

सरकारले दैनिक एक हजार लिटर भन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फर्म तथा उद्योगले पैठारी गर्ने स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाएर १ प्रतिशत मात्र कायम गरेको छ।