१३ श्रावण २०८३, बुधबार

उद्यमी व्यवसायीमा आशा जगाउने बजेट आएको छ : अर्थमन्त्री पुन



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत उद्यमी व्यवसायीमा आशा जगाउने प्रयत्न गरिएकाे बताएका छन् । बुधबार पोस्ट बजेट अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

बजेट सार्वजनिक हुनु अगाडि विभिन्न कारण दबाबमा भए पनि सन्तुलित प्रतिक्रिया आइरहेको उनले बताए । अर्थमन्त्री पुनले भने, ‘प्राविधिक कमजाेरी हुनसक्छ, मान्छेले काम गर्दा र मेसिनले काम गर्दा। सरकारकाे तर्फबाट गर्न सक्ने सबै प्रयत्न गरेका थियौं’ उनले भने ।

बजेटले आम जनतामा आशा जगाउने प्रयास गरिएको भन्दै उनले युवामा देशभित्र अवसर खोज्ने प्रयास गरिएको उनको भनाइ छ ।

भौगोलिक स्थिति सुहाउँदो अर्थतन्त्र बनाउने प्रयत्न यसपटक गरिएको उनको दाबी छ ।

निजी क्षेत्रलाई पनि साथमा लिने खालको बजेट आएको पनि उनले बताए । निजी क्षेत्रको सहकार्यमा नै आर्थिक वृद्धिलाई माथि लैजान स्सम्भाव हुने उनको भनाइ छ । ‘४-५-६ प्रतिशतभन्दा माथिकाे आर्थिक वृद्धि गर्न त सकिन्छ। तर याेभन्दा माथि जान निजी क्षेत्रकाे सहभागिता चाहिन्छ’ उनले भने ।

१० वर्षमा ३० खर्ब बराबरकाे निर्यात गर्न सकिने गरी सूचना प्रविधी (आईटी) लाई विकास गर्ने गरि महत्वाकांक्षी लक्ष्य अघि सारिएकाे उनले बताए ।