१२ श्रावण २०८३, मंगलबार

घरजग्गा व्यवसायीलाई कडाइ : सीमा र शंकास्पद कारोबारबाहेक गतिविधि खुल्ने प्रतिवेदन विभागमा बुझाउनु पर्ने



काठमाडौं । अब घरजग्गा व्यवसायीले सीमा र शंकास्पद कारोबारबाहेकका समग्र गतिविधि खुल्ने प्रतिवेदन विभागमा बुझाउनु पर्ने भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको सर्कुलरअनुसार कुनै पनि प्रकार र मूल्यको घरजग्गा खरिद बिक्री गराउँदा सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिमका व्यवस्था पालना गर्न निर्देशन दिएको हो।

‘यस निर्देशन बमोजिम घरजग्गा खरिद वा विक्कीको व्यवसाय गर्ने व्यवसायीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को व्यवस्था पालना गरी सोको विवरण सम्वन्धित मालपोत कार्यालयमा र सीमा तथा शंकास्पद कारोवारको विवरण नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी ईकाईले तोकेको ढाँचा, माध्यम र समयमा उक्त इकाईमा यथासक्य छिटो बुझाउनु पर्नेछ’ विभागद्वारा जारी निर्देशनमा भनिएको छ ।

सम्बन्धित मालपोत कार्यालयले घर जग्गा खरिद वा बिक्री व्यवसायीले पेस गरेको प्रतिवेदन एकीकृत रुपमा विभागमा पेस गर्नेछ । सो को आधारमा विभागले वा विभागले तोकेको अधिकारीले समय समयमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम जोखिमका आधारमा घरजग्गा खरिद वा विकी व्यवसायीको निरिक्षण तथा सुपरीवेक्षण र अनुगमन गर्नेछ ।

निर्देशनविपरीतका गतिविधि गरेमा विभागले त्यस्ता व्यवसायीमाथि कारवाही गर्ने चेतावनी दिएको छ। विभागले यसअघि २०७१ जेठ २४ मा जारी गरेको निर्देशन भने खारेज गरेको छ। सरकारले एक करोड वा सोभन्दा बढी रकमको घरजग्गा खरिदबिक्री गर्ने गराउनेको विवरण बुझाउन व्यवसायीहरुलाई निर्देशन दिएको थियो।