सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य, पहिलो चरणमा यी २८ जिल्लामा लागू हुने
काठमाडौं । नयाँ आर्थिक वर्षदेखि २८ वटा जिल्लामा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने भएको छ ।
सरकारले आगामी साउन १ देखि देशका विभिन्न २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने व्यवस्था गरको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विगत ४ वर्षदेखि ७३ वटा जिल्लाका स्थानीय तहहरुमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान संचालन भइसेको छ । हाल सबै जिल्ला प्रशासन कार्यालय, ५४ वटा इलाका प्रशासन कार्यालय तथा विभिन्न जिल्लाका स्थानीय तह मार्फत विवरण संकलन समेत भइसेको छ । तर, जेठ २२ गतेको मन्त्रिपरिषदको निर्णयानुसार पहिलो चरणमा २८ वटा जिल्लामा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न लागिएको हो ।
विभागका अनुसार बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षमाथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभए पनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता पाउन अनिवार्य राष्ट्रिय परिचयत्र बनाउन तोकिएका जिल्लामा विवरण दर्ताका लागि जनशक्ति थपिएको र स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पालिका वडास्तरमा अभियान चलाउँदै आएको विभागले जनाएको छ। सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भदौ मसान्तसम्म गर्न सकिनेछ ।














